काठमाडाैं - छिमेकी मुलुक भारतमा निपाह भाइरस संक्रमण पुष्टि भएको छ । भारतको अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरू निपाह भाइरस संक्रमित भई उपचारत रहेको सार्वजनिक भएको छ ।
सम्भवतः ती स्वास्थ्यकर्मीहरू स्वास्थ्य सावधानी नअपनाई (सुरक्षा कवचको प्रयोग नगरी वा उपाय प्रयोग बिना) बिरामीको रोग निदान वा उपचार गर्ने क्रममा संक्रमित भएको हुन सक्ने अनुमान गर्न सकिन्छ । यद्यपि यो लेख लेख्दासम्म स्रोतको यकिन जानकारी सार्वजनिक भइसकेको छैन ।
नेपाल र भारतबीच खुला सिमाना छ । सीमापारि भारतमा निपाह भाइरसको संक्रमण भएको पुष्टि भएकोले सीमावारि पनि गम्भीर चासोको विषय बन्नुपर्छ । भारतमा निपाह भाइरसको संक्रमण पुष्टि भएको छ । निपाह भाइरसको प्राकृतिक स्रोत मानिने प्रजातिको चमेरो नेपालमा पनि रहेको अनुसन्धानले देखाएको छ ।
निपाह भाइरस पारामिक्सोभारादाई परिवार अन्तर्गत (हेनिपाभाइरस जिनस) पर्ने उच्च घातक भाइरस हो । मलेसियाका सुँगुरपालक किसानहरूमा सन् १९९९ मा पहिलो पटक यो भाइरस फैलिएको थियो । संक्रमितमध्ये झन्डै ४० प्रतिशतको मृत्युसमेत भएको थियो । सन् २००१ तिर छिमेकी मुलुक भारत र बंगलादेशमा यो भाइरस पुष्टि भएको थियो । तत्पश्चात यी दुवै देशमा लगभग बर्सेनिजसो यो भाइरसको कारणले मृत्युवरण गर्दै आइरहेको तथ्यांक देखिन्छ । मृत्युदर भने मलेसियाभन्दा भारत तथा बंगलादेशमा अधिक उच्च (७० देखि शतप्रतिशतसम्म) भएको देखिन्छ ।
नेपालमा पनि देखिए भारत तथा बंगलादेशभन्दा फरक नदेखिन सक्छ । समयमा नै संक्रमण पत्ता लगाउन सकेमात्र सम्भावित आउटब्रेक र मानवीय क्षतिलाई रोक्न सक्छौं । यसको लागि रोगको लक्षण, भ्रमण वा सम्पर्क इतिहास र प्रयोगशाला निदान अति आवश्यक पर्नेछ ।
लक्षणहरू
– ज्वरो आउने ।
– टाउको दुख्ने ।
– श्वासप्रश्वासमा समस्या हुने ।
– मांसपेशीका दुख्ने ।
– घाटी दुख्ने ।
– बान्ता हुने ।
– चक्कर लाग्ने ।
– चेतनामा समस्या हुने ।
संक्रमितमा इन्सेफ्लाइटिस (मस्तिष्कको सुजन)को लक्षणहरू देखिन सक्छ । २४ देखि ४८ घण्टाभित्र बिरामी अचेत (कोमा) अवस्थामा जान सक्दछ । संक्रमित व्यक्ति वा सुँगुर वा चमेरोको नजिक र सिधा सम्पर्क (डाइरेक्ट कन्ट्याक्ट) भए यो संक्रमण सर्न सक्दछ । निपाह भाइरसको संक्रमण जापानिज इन्सेफलाइटिस वा अरू संक्रमणहरूसँग पनि मिल्छ । त्यसैले बिरामीको भ्रमण इतिहास (भिजिट हिस्ट्री) लिनुपर्छ । निपाह भाइरस फैलिरहेको ठाउँ वा मुलुकमा पुगेर फर्केको हो कि होइन भनेर जानकारी लिनु अति आवश्यक हुन्छ । तर यो भाइरसको निश्चित निदान भने प्रयोगशाला परीक्षणपछि मात्र हुन्छ ।
यो भाइरस उच्च घातक छ । त्यसैले परीक्षणको लागि बायो सेफ्टीस्तर–४ को प्रयोगशाला चाहिन्छ । नेपालमा यसको उपलब्धता र जनशक्ति छ, छैन भन्ने महत्त्वपूर्ण हुन्छ । निपाह भाइरस हालसम्म नेपालमा पुष्टि भइनसके पनि जोखिम उच्च भएकोले ‘बायोसेफ्टी स्तर–४’ को प्रयोगशाला तयारीको आवश्यकता देखिन्छ । अझ निपाह भाइरसको प्राकृतिक स्रोत मानिने प्रजातिको चमेरो नेपालमा पनि रहेको अनुसन्धानहरूले देखाएको छ । त्यसैले पनि जोखिमलाई नजरअन्दाज गर्न सकिँदैन ।
यद्यपि चमेरोमा यो भाइरस भए, नभएको वैज्ञानिक परीक्षण पुष्टि गर्न भने बाँकी नै छ । भारत तथा बंगलादेशमा स्वास्थ्यकर्मीहरू स्वयम् बारम्बार संक्रमित भइरहेको तथ्यांक सार्वजनिक भइसकेको छ । यसले गर्दा नेपालका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले पनि बिरामीको जाच पड्ताल वा उपचार गर्दा विशेष सतर्कता अपनाउनु पर्ने जरुरी छ ।