काठमाडाैं- चालु आर्थिक वर्षको छ महिनामा चार लाखभन्दा बढी युवा रोजगारीको खोजीमा विदेसिएका छन् । वैदेशिक रोजगार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आव २०८२/८३ को छ महिनामा चार लाख सात हजार ६७३ जना विभिन्न मुलुकमा गएका हुन् । यो संख्या व्यक्तिगत, संस्थागत र श्रम स्वीकृति नवीकरण गरेर गएकाहरुको हो ।
अघिल्लो आव २०८१/८२ को यसै अवधिमा तीन लाख ९३ हजार ६७ जना रोजगारीमा गएका थिए । अघिल्लो वर्षको तुलनामा रोजगारीमा जानेहरु १४ हजार ६०६ जनाले बढी छन् । गएको पुस महिनामामात्रै ६८ हजार १५८ जना रोजगारीमा गएका छन् । जसमा ६० हजार ५३१ जना पुरुष र सात हनार ६२७ जना महिला छन् । उक्त महिना २३ हजार ९५१ जना संस्थागत माध्यमबाट विदेसिएका छन् । जसमा २१ हजार ७७४ जना पुरुष र दुई हजार १७७ जना महिला छन् । व्यक्तिगत श्रम स्वीकृति लिएर १० हजार ४३ जना गएकामध्ये सात हजार ८३७ जना पुरुष र दुई हजार २०६ जना महिला छन् । उक्त एक महिनामा ३४ हजार ७९२ जना पहिलोपटक रोजगारीमा गएका छन् ।
पुसमा सबैभन्दा धेरै युवा श्रम स्वीकृति नवीकरण गरेर गएका छन् । यसरी ३३ हजार ३६६ जना गएकामा ३० हजार ३२५ जना पुरुष र तीन हजार ४१ जना महिला छन् । सो महिना जिटुजीमार्फत ७४४ जना कोरिया र इजरायल गएका छन् । जसमध्ये १८८ जना इजरायल र ५५६ जनाले दक्षिण कोरियामा रोजगारीको अवसर पाएका छन् ।
उक्त महिनामा युवाहरु रोजगारीका लागि १०५ वटा मुलुक पुगेका छन् जसमध्ये नौ वटा मुलुकमा मात्र एक हजारभन्दा बढी गएका छन् । म्यानपावर व्यवसायीले १२ वटा मुलुकमा रोजगारीका लागि पठाएका छन् । इजाजत प्राप्त संस्था (म्यानपावर कम्पनी)ले खाडीबाहेक जोर्डन, मरिसस, जापान, साइप्रस र माल्दिभ्समा कामदार पठाएका छन् । व्यक्तिगत श्रम स्वीकृतिमा भने ९० वटा मुलुकमा गएका छन् जसमा परम्परागत श्रम गन्तव्यदेखि अन्य महादेशका मुलुकहरु छन् । १२ वटा मुलुकमा एक–एक जनामात्र गएको तथ्यांक छ ।
सबैभन्दा धेरै कामदार साउदीमा
गत पुसमा सबैभन्दा धेरै कामदार साउदी अरब गएका छन् । साउदीमा १४ हजार ४०९ जना जाँदा दोस्रोमा कतारमा १३ हजार ७६ जना गएका छन् । त्यसपछि संयुक्त अरब इमिरेट्स (युएई) तेस्रोमा छ । युएईमा १० हजार ५०८ जना गएका छन् । पहिलो गन्तव्य बन्दै आएको युएईको रोजगारीमा जेन-जी आन्दोलनले प्रभाव पारेको कारण जाने श्रमिकको संख्या केही घटेको छ । चौथोमा मलेसियामा नौ हजार २५१ जना र पाँचौं कुवेतमा चार हजार ८२४ जना गएका छन् ।
यस्तै सबैभन्दा बढी धनुषाबाट तीन हजार १९८, झापाबाट तीन हजार ४२, मोरङबाट दुई हजार ८४४, सिरहाबाट दुई हजार ५८३ र महोत्तरीबाट दुई हजार २८६ जना वैदेशिक रोजगारीमा गएका छन् । सबैभन्दा कम मनाङबाट १६ र मुस्ताङबाट ११ जना गएका छन् ।
विभागको तथ्यांकअनुसार पुस महिनामा १५ हजार ६१४ जना अदक्ष श्रमिक रोजगारीमा गएका छन् । यो रोजगारीमा गएकाको २२.९० प्रतिशत हो । उक्त एक महिनामा ४१ हजार ३५८ जना अर्थात् ६०.६ प्रतिशत युवा दक्षता हासिल गरेर रोजगारीमा गएका छन् । साथै, १० हजार ८६७ जना अर्धदक्ष, २५४ व्यावसायिक कामदार र ६५ जना उच्चदक्ष कामदार रोजगारीमा गएका छन् ।