कालो चश्मा । कालो कोट, कालै टोपी अनि झुस्स परेको दारी । मौनतामा अल्झिएरहेको साढे तीन वर्ष । एकले अर्कोलाई हिलो छ्याप्ने हिले फागु हरेक दिन, हरेक महिना । व्यक्तिगत प्रतिशोधको राजनीति । काले कान्छो भन्दै थियो, ‘एक एक भ्रष्टहरुलाई थाङनामा सुताउनु छ ।’
उता चाउरिएका गाला पनि रवरले तन्काएजस्तो । उमेर चार-बीस छुने बेलामा पनि चौबिसे जोश निकालेर ‘म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्नँ’ भन्दै नारा घन्काउने हजुरबा ! हजुरबा र नाति दुवै मार्ग बिराएका । हजुरबाको दैत्य कथामा रमाउने छोरा नातिहरु । अनि नाति केटोको काल्पनिक दृश्यमा हाइहाइ गर्ने युवाहरु । तराजुमा जोख्दा सायद बराबर !
‘मुखमा राम राम, बगलीमा छुरा’ भनेजस्तै । सत्ता र शक्तिका लागि दाउपेच हानिरहने । कसैले सिंहदरबार देखिनेगरी जलाए । कसैले नदेखिनेगरी भित्रभित्रै खरानी बनाए । भुसको आगोजस्तै भित्रभित्रै सल्किरहेको आगोमा पेट्रोल खन्याएर दनदनी जलाइदिए ।
एकले अर्कोलाई प्रतिशोध साँधेर बनाउन खोजेको नीतिले न मार्ग पहिल्याउन सक्छ, न त गन्तव्यमा नै पुग्न ! बा पुस्ता वा हजुरबा पुस्ताले जोगाएको घरलाई खरानी बनाएर पक्की बनाउँछु भन्न त पाइएला तर छिमेकीले फलाम किनिदिन्छु भनेकै भरमा आगो झोसेपछि न त घर नै रहन्छ । न त छिमेकीले फलाम नै किनिदिन्छ । ऊ त केवल १० औंलाले तालीमात्र बजाउँछ ।
हाम्रा ‘बा’हरुले लेन छाडेर गलत लेनमा हिँड्दा घरका भित्ताभित्ता चर्किएका छन् । भत्किएका छन् अनि दलिनहरु मक्किएका छन् । छिमेकीले सालको काठ भन्दै सल्लाको काठ भिडाउँदा पनि नातिहरु त्यसमा नै रमाइरहेका छन् वा सालको काठ भन्दै उफ्रिरहेका छन् ।हुन त कमलको फूललाई फालेर कागजको फूलबाट सुगन्ध लिनेहरुसँग न त घरको जग नै थाहा होला न भित्ता र थाम, दलिनहरुले नै चिन्न सक्लान् ? केवल बाहिरी आवरणमा झकिझकाउमा रमाउँदा सबै खरानी भइसक्ने छ ।
अहिले बाले पनि लेन छाडिसके । लेन समाउँछु भन्नेले पनि लेन भत्काइसके । भत्किएको लेन बनाउन निकै नै कठिन हुने छ । दुवै लेन छाडेका हजुरबा र नातिहरु सञ्जालमामात्र कुर्लिरहेका छन् । फागुनमा लेन जोड्ने बहानामा । व्यक्तिगत प्रतिशोधमा रमाइरहेका छन् । तँ ठूलो कि म ठूलो ? तँ ठूलो कि म ठूलो भन्ने अहम्ताले दुवैलाई क्रमशः ओरालो लगाइरहेको छ । पछाडि लस्कर हेर्दा दुवैले आफूलाई जंगलको शेर ठानिरहेकै छन् ।
पुस्तान्तरण होला लेनहरु ! परिवर्तन होलान् हजुरबा र बाहरु । अनि कागजको फूलमा सुगन्ध खोजेर समय बर्बाद गर्न छाड्लान् छोरा नातिहरु ? सायद यी तीनै पुस्ताले त्यसो नगर्लान् । उही दम्भ, उही शैली, उही आक्रोश अनि उही प्रतिशोधले के परिवर्तन ल्याउँला र ? आफूले गरेको सबै राम्रो अरुले गरेको सबै खराब भन्ने नीतिले राजनीति सफल होला र ? मध्यरातमा मदुरो काकाका दम्पतीलाई ओछ्यानबाट नै अपहरण गर्नेले प्रजातान्त्रिक अभ्यास गरेजस्तै त होला नि होइन र ?
उता बा पनि शासक छाडेको लेन पनि शासक । जंगलमा बसेका दुवै शासकले आफूलाई सिंह सम्झेपछि कुनै बेला त्यहाँका सानातिना जनावरले पनि कुहुकुहु गर्दै नक्कली कोइलीको आवाजले बहकाउन पनि सक्छ । प्रतिशोध साँध्नेले कसरी घर बनाउला र ? घरको भित्ता नै नचिनेकाले छिमेको पक्की घर हेरर रमाउनुको के अर्थ छ र ? यदि घर नै बनाउने हो भने भत्किएको घर टाल्ने नै हो भने अंशियारले प्रतिशोध गरेर होइन मिलेर मात्र घर बनाउन सक्छ । मार्ग छाडेर हिँड्नेले त बाटो बिराउँछ बिराउँछ ।
बाटो बिराउनेमात्र होइन न त गन्तव्यमा पुग्न सक्छ, न त घर नै जोगाउन सक्छ । आफूले रोपेको कमलको फूलबाट जुन सुगन्ध प्राप्त गर्न सकिन्छ । त्यही सुगन्ध अर्काले बनाइदिएको कागजी गुलाफको फूलबाट पाउन सकिँदैन । अहिले बाऽ अनि छाडेर गएका लेनऽहरु त्यही कागजी गुलाफको फूलमा रमाउने कोसिस गरिरहेका छन् । सायद त्यसबाट सुगन्ध कुनै हालतमा पनि आउँदैन । त्यही सुगन्ध नआउने फूलमा रमाउनका लागि बाऽ हुर्काएका अनि काँखी च्यापेकाहरु पनि लेन छाडेर भित्तातिर पुगेका छन् ।
आँगनमा हुर्किएकाहरु डिलतिर हुत्तिएका छन् । घर कुरुवाहरु पनि घरको भित्ताको सुरक्षा र आँगनको डिलैको कमलको सुगन्धित फूलको बोट फाँडेर पल्लाघरतिर कागजको गुलाफको फूल मागिरहेका छन् । कसले पो छाडेन र लेन ? हजुरबाले छाडे, बाले छाडे, छोराले छाडे अनि नातिले किन सम्हाल्नुपथ्र्यो र ? नातिले पनि छाडे । नीति र विधि नै मरिसकेपछि इमान्दारिताको स्वतः मृत्युमा पुगिसकेको हुन्छ नि ! जसजसले विचार र ज्ञानलाई तिलाञ्जली दिएर पद, शक्ति र स्वार्थका लागि बाटो बिराएका छन्, लेन छाडेका छन् । पक्कै पनि ती लेनहरुमा नै उनीहरु फेरि घिसारिँदै आउने छन् ।
भदौरे झरीजस्तै बलिन्द्र आँसु भित्रभित्रै चुहाउनुपर्ने छ । पुस माघको पारिलो घाम बन्न नसक्दा त्यही पुस माघ महिनाको तुसारोले तिनका कागजले बनेका अनि त्यही कागजमा सुगन्ध खोजिरहेका गुलाफका फूलहरु ओसिने छन् । जनजनबाट पाएको माया अनि विश्वासलाई धोका दिएर कागजको गुलावको सुगन्ध खोज्न आफ्नो विचारको लेन छाड्नेहरुलाई पक्कै पनि त्यही विचार र कागजको गुलावी फूलहरुबाट नै पुग्ने सजाय पाउलान् ।
व्यक्तिगत स्वार्थका लागि माटो बेच्नेहरु विचार मार्ने अनि जन्मभूमिमा विदेशीहरुलाई परेड खेलाएर आफ्नै घर जलाउने, भित्ता भत्काउँदै आफ्नो लेन छाड्ने बाहरु हुन् कि लेनहरु हुन् । सबै लेण्डुपकै रुप हुन् । सबैलाई चेतना भया ।
केटाकेटी आए गुलेली खेलाए, मट्यांग्रा सत्यानाश !!