काठमाडौं- मुलुकबाट वैदेशिक रोजगारीमा जाने सबैभन्दा धेरै कोशी र मधेस प्रदेशका नागरिक रहेका पाइएको छ । हालसालै सार्वजनिक भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्यांकमा यस्तो देखिएको हो । सबैभन्दा कम भने कर्णाली प्रदेशबाट रहेका छन् ।
सन् २०२२/२३ मा सात लाख ७१ हजार ३१९ जना विदेसिएकामा कोशी प्रदेशबाट एक लाख छ हजार ९४ जना थिए । सबैभन्दा कम रहेको कर्णाली प्रदेशबाट २४ हजार ९७० जनामात्र गएको तथ्यांक छ । त्यस्तै २०२३/२४ मा सात लाख ४१ हजार २९७ जना विदेसिएकामा सबैभन्दा बढी एक लाख १४३ जना मधेसबाट र सबैभन्दा कम १५ हजार ६६२ जना कर्णाली प्रदेशबाट थिए । यो संख्या व्यक्तिगत, संस्थागत र पुनः श्रम स्वीकृति लिएर जानेहरुको हो ।
लैंगिकरुपमा हेर्दा पुरुषतर्फ सबैभन्दा बढी मधेस र सबैभन्दा कम कर्णालीबाट वैदेशिक रोजगारीमा गएका छन् । सन् २०२२/२३ मा मधेसबाट एक लाख एक हजार २४५ जना र कर्णालीबाट २३ हजार ६०३ जना विदेसिएका थिए । त्यस्तै, २०२३/२४ मा मधेसबाट ९७ हजार १९६ जना र कर्णालीबाट १७ हजार ८७ जना पुरुष रोजगारीका लागि विदेसिएको तथ्यांक छ ।
महिलातर्फ सबैभन्दा बढी बागमती प्रदेशबाट रोजगारीमा गएका छन् । सन् २०२२/२३ मा १९ हजार ३४ जना र २०२३/२४ मा २१ हजार १४३ जना बागमती प्रदेशबाट महिला कामदर विदेसिएका तथ्यांकमा देखिन्छ । वैदेशिक रोजगारीमा जाने महिला सबैभन्दा कम कर्णाली प्रदेशबाट रहेका छन् । सन् २०२२/२३ मा एक हजार ३६७ र २०२३/२४ मा एक हजार ५७५ जना महिला कर्णाली प्रदेशबाट विदेसिएका छन् ।
सबैभन्दा बढी कामदार खाडी र मलेसिया जाने गरेको पाइएको छ । सन् २०२२/२३ मा मधेसबाट रोजगारीमा गएकाहरुमध्ये ६० प्रतिशतभन्दा बढीको रोजाइमा मलेसिया परेको छ । सोही वर्ष कर्णाली प्रदेशबाट पनि रोजगारीमा गएकामध्ये झण्डै ६० प्रतिशत मलेसिया नै गएका छन् । उक्त वर्ष सबैभन्दा बढी झण्डै ४५ प्रतिशत गण्डकी प्रदेशबाट खाडी मुलुकमा गएका छन् ।
सन् २०२३/२४ मा मधेसबाट रोजगारीमा झण्डै ७० प्रतिशत खाडी गएका छन् । अन्य प्रदेशबाट पनि खाडी मुलुक जानेहरु ५० प्रतिशत भन्दा बढी छन् । सो वर्ष मलेसिया जानेको संख्या भने ३० प्रतिशतभन्दा बढी देखिएको छ । उदयीमान गन्तव्यहरु दक्षिण कोरिया, क्रोएशिया, रोमानिया, साइप्रसलगायतका मुलुक जानेहरु भने हरेक प्रदेशमा १० प्रतिशतभन्दा कम छन् ।
जिल्लागत तथ्यांक हेर्दा २०२३/२४ मा रोजगारीमा गएकाहरुमध्ये सबैभन्दा बढी ४.४ प्रतिशत धनुषाका रहेका छन् । त्यस्तै झापाका ४.३, मोरङको चार र सिरहाबाट ३.७ प्रतिशत छन् । रोजगारीमा गएका महिलामध्ये सबैभन्दा बढी ७.६ प्रतिशत झापाका छन् । त्यस्तै, मोरङका ५.३, मकवानपुरका ४.६ र सिन्धुपाल्चोकको ४.३ प्रतिशत छन् ।
नेपालीहरु रोजगारीका लागि छिमेकी मुलुक भारतसमेत जाने गरेका छन् । तर, भारतका लागि श्रम स्वीकृति आवश्यक नपर्ने हुँदा त्यहाँ जानेहरुको तथ्यांक सरकारसँग हुँदैन । एक अध्ययनले भारत जानेहरु सबैभन्दा बढी सुदूरपश्चित प्रदेशबाट र सबैभन्दा कम बागमती प्रदेशबाट रहेका छन् ।
सन् २०२१ मा गरिएको अध्ययनका अनुसार पाँच लाख ५४ हजार २४४ जना रोजगारीका लागि भारत गएकोमा सुदूरपश्चिमबाट ४०.८ प्रतिशत रहेको छ । दोस्रोमा लुम्बिनी प्रदेशबाट २६.८ प्रतिशत छन् भने बागमती प्रदेशबाट ३.७ प्रतिशत छन् ।