- वर्क परमिटविना विदेशी नागरिकलाई काम लगाउने या करारमा उल्लेख भएभन्दा बढी काम लगाए त्यस्ता रोजगारदातालाई प्रतिकामदार १० हजारदेखि एक लाख थाई भाट जरिवाना गरिने
काठमाडौं- थाइल्याण्डले अवैधानिकरुपमा मुलुक प्रवेश गर्ने आप्रवासीहरुलाई कडाइ गर्न थालेको छ । गैरकानुनी बाटोबाट थाइल्याण्ड प्रवेश गर्ने क्रम बढेपछि सुरक्षा निकायलाई सीमावर्ती क्षेत्रमा कडाइ गर्न थाई सरकारले निर्देशन दिएको छ । हालसालै सरकारकी उपप्रवक्ता एयारिन फानरिटले उक्त जानकारी दिएको थाई समाचार संस्था द नेसनले जनाएको छ ।
सरकारले अवैधानिक प्रवेश रोक्न अधिकारीहरुलाई ती क्षेत्रका कम्पनीहरु र कार्यस्थलमासमेत कडाइका साथ स्थलगत निरीक्षण गर्न निर्देशन दिएको जनाइएको छ । यदि अवैध कामदार भेटिए कारबाहीमा पर्ने चेतावनी दिइएको छ । वर्क पर्मिटविना या अनुमति पाएभन्दा बाहिरको फरक क्षेत्रमा काम गर्ने विदेशी नागरिकलाई पाँच हजारदेखि ५० हजार थाइ भाट जरिवाना गर्ने भनिएको छ । यस्ता कामदारलाई उनीहरुको मुलुक फर्काइने र जरिवानाको मितिबाट दुई वर्षका लागि वर्क पर्मिटका लागि आवेदन दिन पनि प्रतिबन्ध लगाइने छ ।
वर्क परमिटविना विदेशी नागरिकलाई काम लगाउने या करारमा उल्लेख भएभन्दा बढी काम लगाए त्यस्ता रोजगारदातालाई प्रतिकामदार १० हजारदेखि एक लाख थाई भाट जरिवाना गरिने छ । सरकारको निर्देशन दोहो¥याएर उल्लंघन गर्ने रोजगारदाताले एक वर्षसम्म जेल सजाय या प्रतिकामदार ५० हजारदेखि दुई लाख थाई भाट तिर्नुपर्ने जनाइएको छ । साथै उनीहरुले तीन वर्षसम्म विदेशी कामदारलाई रोजगारीमा लगाउन पाउने छैनन् ।
सरकारले थाई कामदारको अधिकार जोगाउन र रोजगार प्रणालीलाई स्तरीय बनाउन उक्त कानुन कडाइपूर्वक कार्यान्वयन गराउने जनाएको छ । यदि विदेशी नागरिकले अवैधानिकरुपमा काम गरेको पाए केन्द्रीय रोजगार दर्ता कार्यालय, प्रान्तीय रोजगार कार्यालय, श्रम मन्त्रालयलगायतका निकायमा उजुरी दिनसमेत नागरिकलाई अपिल गरेको छ । थाइल्याण्डमा अनलाइन स्क्यामिङजस्ता गैरकानुनी काममा नेपालीहरुलाई समेत लगाइँदै आएको छ । अनलाइन डेटिङ, अनलाइन क्यासिनो, गेमिङ तथा फिसिङ, क्रिस्टो ठगीजस्ता काममा लगाइएको फेला पारेपछि त्यहाँ रहेको नेपाली दूतावासले स्वदेश फिर्ता पठाइदिँदै आएको छ । गत मंसिर १३ गते पनि यस्ता ४७ जना नेपालीहरुलाई स्वदेश फर्काएको थियो ।
गैरकानुनीरुपमा थाइल्याण्ड पुर्याएकाहरुका अनुसार साथीभाइ तथा अनलाइन साथी, पब्जीलगायत अनलाइन गेम खेल्ने साथी, सामाजिक सञ्जालको विज्ञापन आदिको माध्यमबाट उनीहरु त्यहाँ पुगेको पाइएको छ । उनीहरुलाई भाइबर, ह्वाटएप, टिकटक, टेलिग्राम, मेसेञ्जर आदिमा मेसेज आउने र विभिन्न कार्यालय, कल सेण्टर, कम्प्युटर अपरेटर, रिसेप्सनिस्टलगायतका काममा एक लाखभन्दा बढी कमाइन्छ भनेर प्रलोेभनमा पार्ने गरेको पाइन्छ ।
कम्बोडिया-थाइल्याण्ड, म्यान्मार-थाइल्याण्ड सीमा तथा लाओसमा स्क्यामिङ केन्द्रमा विभिन्न मुलुकका व्यक्ति अलपत्र पर्न थालेपछि सो क्षेत्रमा रोजगारीको प्रलोभनमा परी नजान अनुरोध गर्दै दूतावासले २०८० साउन २३ गतेदेखि यात्रा सचेतना जारी गर्न सुरु गरेको थियो । तर उक्त क्रम नरोकिएपछि थाई सरकारले कडा कदम चालेको छ । अब त्यहाँ गैरकानुनी अवस्थामा भेटिए एक जना नेपाली नागरिकले ४६ हजार १०० देखि दुई लाख ३० हजार ५०० रुपैयाँसम्म जरिवाना तिर्नपर्ने हुनसक्छ ।
नेपालीहरु वैधानिक बाटोबाट पनि थाइल्याण्ड जाँदै आएका छन् । गत आव २०८१/८२ मा ७८ जना र २०८०/८१ मा ५६ जना वैदेशिक रोजगार विभागबाट व्यक्तिगत श्रम स्वीकृति लिएर गएका थिए । तर विगत दुई वर्षको तथ्यांक हेर्दा वैधानिकभन्दा अवैधानिक बाटोबाट गएकाहरु बढी छन् । त्यहाँबाट आव २०८०/८१ मा ६८ जना, २०८१/८२ मा १५६ जना र चालु आर्थिक वर्षको हालसम्म १४१ जनालाई उद्धार गरी नेपाल पठाइएको तथ्यांक छ ।