जापानबाट धेरै मागपत्र आइरहेका छन् । पहिले जिट्कोको लाइसेन्स नभएका कारण पठाउन पाइँदैन भनेर मार्केटिङ पनि भएको थिएन । अब सबैले काम गर्छन् ।
कुन्छादोर्जे डिम्दोङ
सचिव, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ
काठमाडौं- जापान सरकारको एक प्यानलले दुई प्रणालीअन्तर्गत विदेशी कामदार स्वीकार गर्ने कार्ययोजनाको मस्यौदा तयार पारेको छ । विज्ञहरुको प्यानलको बुधबार बसेको बैठकले औद्योगिक क्षेत्रको मस्यौदालाई अन्तिम रुप दिएको जापानी सञ्चारमाध्यमले जनाएका छन् । उक्त योजनाअनुसार मार्च २०२९ को अन्त्यसम्म अधिकतम १२ लाख ३० हजार विदेशी कामदार स्वीकार गर्न सक्ने भनिएको छ ।

जापान सरकारले ‘स्पेसिफाइड स्किल्ड वर्कर्स’ (एसएसडब्ल्यू)का लागि हालको प्रणालीअन्तर्गत विदेशी कामदारलाई स्वीकार गर्ने योजना बनाएको छ । यसका साथै अर्को वर्ष अप्रिल १ मा नयाँ प्रशिक्षण कार्यक्रम सुरु गर्ने योजना बनाएको छ । नयाँ कार्यक्रमको उद्देश्य कामदारलाई तालिम दिनु हो । जसपश्चात् उनीहरु तीन वर्षमा दक्ष कामदारको स्तर हासिल गर्न सक्ने जनाइएको छ । हालको प्रणालीअन्तर्गत औद्योगिक उत्पादन, खाद्य र पेयपदार्थ उत्पादनसहित १९ क्षेत्रमा कामदार लगिने छ । यी क्षेत्रमा आठ लाख पाँच हजार ७०० कामदार लग्ने जनाइएको छ । नयाँ तालिम कार्यक्रमअन्तर्गत थप चार लाख २६ हजार २०० जनालाई १७ वटा क्षेत्रमा लैजाने योजना छ । यी १७ क्षेत्र निश्चित दक्ष कामदार प्रणालीअन्तर्गत पर्छन् । यसमा यातायात र उड्डयन भने समावेश छैन ।
जापानले लग्ने भनेको विदेशी कामदारको संख्या घरायसी श्रमशक्तिको अनुमानित आकार र अपेक्षित उत्पादकत्व सुधारजस्ता कारकहरूलाई आधार मानेर निर्धारण गरिएको थियो । सरकारले यो योजना सत्तारूढ पार्टीहरुसँग छलफल गर्ने बताइएको छ । त्यसपछि यस महिनाभित्र मन्त्रिपरिषद्को स्वीकृति लिने योजना बनाएको छ ।
जापान केही वर्षयता नेपालीहरुको आकर्षक रोजगार गन्तव्य बन्दै गएको छ । जापानले आफ्नो वृद्ध जनसंख्याका कारण लगातार कामदार अभावको सामना गरिरहेको छ । त्यहाँको सरकारले कामदारको संख्या बढाउने भनिरहेको अवस्थामा नेपाल सरकारले जापान पठाउने विगतको झण्झटिलो जापान इन्टरनेसनल टे«नी एण्ड स्किल्ड वर्कर को-अपरेसन (जिट्को) निर्देशिका हालै खारेज गरिदिएको छ । उक्त निर्देशिका खारेजीपछि व्यवसायीहरु उत्साहित भएका छन् । अब जापान कामदार पठाउन छुट्टै इजाजतपत्र लिन नपर्ने भएको छ । व्यवसायीलाई दुःख दिइरहेको प्रवधान हटेको अवस्थामा रोजगारीमा जानेहरुको संख्या बढ्ने नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव कुन्छादोर्जे डिम्दोङले बताए ।
‘जाने कामदारको संख्या वृद्धि हुन्छ । जापानबाट धेरै मागपत्र आइरहेका छन् । पहिले जिट्कोको लाइसेन्स नभएपछि पठाउन पाइँदैन भनेर मार्केटिङ पनि भएको थिएन,’ उनले भने, ‘अब सबैले काम गर्छन् । विगतमा परीक्षा लिएर फेल गराउनेजस्ता कार्यले पनि जानेहरुको संख्या घटेको थियो ।’ जापानमा नेपालीहरु रेस्टुरेण्ट, कियरगिभर, प्याकेजिङ, हस्पिटालिटीलगायतका काममा जाँदै आएका छन् । त्यहाँका रोजगारदाताहरु नेपाली कामदारप्रति सकारात्मक रहेको डिम्दोङको भनाइ छ । श्रमिक पठाउने प्रक्रिया छिटो छरितो नहुँदा समस्या हुँदै आएको उनले बताए ।
गत आर्थिक वर्ष २०८१÷८२ मा २३ हजार ७१ युवा श्रम स्वीकृति लिएर जापान गएका थिए । जसमध्ये एक हजार ५८१ जना म्यानपावर र १७ हजार १६३ जना व्यक्तिगत माध्यमबाट गएका हुन् । त्यस्तै आव २०८०÷८१ मा १३ हजार ८६४ जना जापान गएका थिए । जसमा एक हजार २०१ जना संस्थागत र नौ हजार २९९ जना व्यक्तिगत श्रम स्वीकृतिमा गएका थिए ।