काठमाडौं- सरकारले इजरायल र ओमानसँग गरिने श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।
इजरायलको केयरगिभर र कृषि क्षेत्रमा नेपाली श्रमिक पठाउने सम्झौता मन्त्रिपरिषद्बाट स्वीकृत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले जानकारी दिए । उनका अनुसार इजरायलले कृषि क्षेत्रका नेपाली विद्यार्थीहरुलाई कृषि र घरमा आधारित रोजगारी दिन भन्दै दुईवटा नयाँ सम्झौताको प्रस्ताव पठाएको थियो । मन्त्रिपरिषद्ले उक्त प्रस्ताव स्वीकृत गरेको हो । जसअनुसार विद्यार्थीहरुले सहायक श्रमिक (केयरगिभर)का रुपमा पाँच वर्षको रोजगारी पाउने छन् । अब यी दुई सम्झौतामा छिट्टै हस्ताक्षर हुने प्रवक्ता घिमिरेले बताए ।
यो श्रम सम्झौताअन्तर्गत नयाँ प्रोटोकल स्वीकृत र पुरानोको परिमार्जन हुन लागेको उनले बताए । ‘मन्त्रिपरिषद्ले इजरायल र नेपालबीच हुने श्रम सम्झौताअन्र्तगत थप दुईवटा प्रोटोकल स्वीकृत गरेको छ,’ प्रवक्ता घिमिरेले भने, ‘विगतमा दीर्घकालीन स्याहार केन्द्रमा श्रमिक पठाउनेमात्रै सम्झौता थियो । त्यो पनि परिमार्जन हुने छ । अब इजरायलका तीनवटै प्रोटोकलले पूर्णता पाएको छ ।’
घिमिरेका अनुसार तीनवटा प्रोटोकलमा एउटा वृद्धवृद्धालाई स्याहारसुसार गर्ने यसअघिकै प्रोटोकललाई थप परिमार्जन गरिएको हो । इजरायलले बच्चा, युवा तथा ६५ वर्ष ननाघेका गम्भीर अपांगता भएकाहरुको स्याहारका लागि नेपालबाट केयरगिभर लग्दै आएको छ । दोस्रो, कृषि क्षेत्रमा अध्ययनका लागि गएका विद्यार्थीलाई रोजगारी दिने र तेस्रो, घरमा नै बसेर केयरगिभरमा रोजगारी दिने हो ।
तीनवटै क्षेत्रमा जिटुजीमार्फत इजरायलले श्रमिक लग्ने मन्त्रालयले जानकारी दिएको छ । ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका विद्यार्थीहरुले कृषि क्षेत्रमै काम पाउने जनाइएको छ । उक्त कार्यक्रम एक वर्षभन्दा कम अवधिको हुन्छ । अहिलेसम्म इजरायलमा यो कार्यक्रममा धेरै विद्यार्थी जाँदै आएका छन् । सम्झौतामा हस्ताक्षर भएपछि उनीहरुले कामसमेत पाउने छन् ।
त्यस्तै, घरमा नै बसेर वृृद्धवृद्धा र शारीरिक अशक्तता भएका व्यक्तिको हेरचाहमा पनि रोजगारी दिने इजरायलले बताएको छ । यो क्षेत्रमा सन् २००७ देखि नै नेपालीहरु जाँदै आएका छन् । उनीहरु घरमै काम गरिरहेका छन् । हाल इजरायलमा पाँच हजार नेपाली कार्यरत रहेका बताइन्छ । २०८१ असार ११ गते केयरगिभरका लागि आवेदन आह्वान भएपछि चार हजार २४ जनाले अनलाइन फाराम भरेका थिए । जसमध्ये दुई हजार ११२ जना गोलाप्रथाबाट छनोट भएर इजरायल जान तयार पारिएको थियो । पहिलो लटका करिब २०० जना मेडिकलका लागि बाँकी रहेको जनाइएको छ । जेटुजीमार्फत सन् २०२० यता करिब दुई हजार जना इजरायल पुगेको वैदेशिक रोजगार विभागको तथ्यांक छ ।
सोमबारकै मन्त्रिपरिषद् बैठकले नेपाल र ओमान सरकारबीच हुने सम्झौतापत्र पनि स्वीकृत गरेको छ । खाडी राष्ट्र ओमानसँग श्रम सम्झौता नभए पनि नेपालीहरु रोजगारीका लागि जाँदै आएका छन् । त्यहाँ मासिक औसतमा आठदेखि ९०० को हाराहारीमा श्रमिक जाने गरेको तथ्यांक छ । त्यहाँ हाल करिब २५ हजार नेपाली कार्यरत रहेको बताइन्छ ।