काठमाडौं- कोरिया जान पाउनुपर्ने माग राख्दै भाषा परीक्षा पास गरेकाहरुले बिहीवार पनि आन्दोलनलाई निरन्तरता दिएका छन् । भाषा परीक्षा पास भएकामध्य कम्तिमा पनि ९० प्रतिशतको कोरिया जाने सुनिश्चितता हुनुपर्ने र रोस्टर अवधि सकिएकाको म्यादथप गरेर भएपनि लग्नुपर्ने माग राख्दै दोस्रो दिन पनि उनीरुले इपिएस शाखा घेराउ गरेका छन् ।
सन् २०२२मा परीक्षा पास भएकाहरुको रोस्टर अवधि सकिन थालेको छ । केहीको भने डिसेम्बरसम्म बाँकी छ । कसैको फाइल कम्पनीमा १० चोटिसम्म पुग्दा कसैको एक पटक पनि नपुगि दुई वर्ष सकिएको भन्दै उनीहरु आक्रोशित छन् । कोरिया जान पाइएला भन्दाभन्दै आफूहरुको वर्षौँदेखिको सपना, लामो प्रयास र प्रतिक्षा त्यसै खेर गएको पीडित युवाहरुको दाबी छ । हजारौँ युवाहरुको यति लामो समय खेर गइरहँदा पनि सरकारले बेवास्ता गरेको उनीहरुले बताएका छन् । सरकारले आश्वासन मात्र दिँदै आएको र आफूहरुलाई आश्वासन नभइ परिणाम चाहिएको उनीहरुले बताएका छन् ।
आन्दोलनरत मोरङको रङ्गेलिका राजेश लामाको कृषि तथा पशुपालतर्फको रोस्टर अवधि आउँदो फेब्रअरी १०मा सकिँदैछ । यति समयमा कुनै पनि कम्पनीमा किन फाइल पुगेन भन्ने जवाफ इपिएससँग नभएको उनले बताए । ‘म एग्रिकल्चरमा २०२२मा पास भएको हो । अहिलेसम्म एक चोटि पनि कम्पनीमा फाइल गएको छैन । रोस्टर अवधि यही फेब्रअरी १०मा सकिँदैछ,’ लामाले भने, ‘रोस्टरमा किन फाइल पुगेन भनेर इपिएससँग पनि जवाफ नै छैन । हाम्रो समस्या समाधान गर्न सरकारले के कसरी हुन्छ कोरियालाई रिझाउनपर्यो ।’
फेब्रुअरीबाट रोस्टर नै खाली हुने स्थितिमा पास गरेकाहरुमा म्यादथप गरेर लग्नुपर्ने र माग सुनुवाइ नहुन्जेलसम्म आन्दोलन जारी राख्ने युवाहरुको भनाइ छ । बुधवारबाट आन्दोलनमा उत्रिएका परिक्षार्थीहरु त्यस दिन पनि रातको नौ बजेसम्म ईपिएसमै बसेका थिए । सन् २०२५ का लागि एक लाख ६३ हजार जना परीक्षामा सहभागी भएकोमा १७ हजार ३० जनाभाषा परीक्षामा उत्तीर्ण भएका थिए । तीमध्य अधिकांशले कोरिया जान पाएका छैनन् । भाषा परीक्षा पास गरेका १२हजारभन्दा बढी रोस्टरमै रहेको बताइएको छ ।
श्रम मन्त्रीसँग वार्ता
आन्दोलित परिक्षार्थिहरुले बिहिवार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीसँग पनि वार्ता गरेका छन् । मन्त्री भण्डारीले उनीहरुका मागहरु सुनेपछि आफूहरुले गर्नसक्ने जति गर्ने आश्वासन दिएका छन् । उनीहरुले राखेका मागमाथि मन्त्रालयमा छलफल गरेर समाधानको प्रयत्नगर्ने बताएको प्रवक्ता पिताम्बर घिमिरेले बताए ।
‘उहाँहरुका मागहरु सकारात्मक छन् । कतिपय कुराहरु मित्रराष्ट्रसँग कूटनीतिक माध्यमबाट राख्नुपर्ने हुन्छ । समाधान गर्नसक्ने हामी समाधान गर्छौँ,’ घिमिरेले भने, ‘हामीले आश्वासन दिनेमात्र होइन द्विपक्षीय विषय भएकाले कूटनीतिक पहलमार्फत समाधानगर्न प्रयत्न गर्छौँ ।’
यद्यपि कति रोजगारी दिने भन्ने रोजगारदाताको विषय भएकाले परिक्षार्थीहरुले भनेजस्तो पास गरेका सबै जान पाउनुपर्छ भन्ने विषय जटिल रहेको उनले बताए । यद्यपि मन्त्रालयले पीडित युवाहरुको हितमा हुनेगरी कुराहरु राख्ने उनको भनाइ छ ।
सरकारले युवाहरुको समस्या बुझिसकेकाले सडकबाट दबाब दिन आवश्यक नरहेको र आन्दोलन रोक्नसमेत आग्रह गरेको छ । अंग्रेजी नयाँ वर्ष र अन्य सर्वजनिक बिदाका कारण केही दिनमामात्र निर्णय आउने बुझिएको छ ।