- बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी र नेपालका लागि साउदीका कार्यवाहक राजदूत अब्दुलनासर बिन हुसेन अल-हार्थिबीच भेटवार्ता
- श्रम सम्झौतापत्रमा हस्ताक्षर गर्ने विषयमा कुराकानी
- श्रमिकको अधिकार र दुई देशबीचको श्रम कूटनीतिका आधारभूत विषयहरु सम्झौतामा समेटिने
काठमाडौं- सरकारले साउदी अरेबियासँग सन् २०२६ को पहिलो महिनामै श्रम सम्झौता गर्ने तयारी गरेको छ । पछिल्लो समय नेपालीहरुको दोस्रो ठूलो रोजगार गन्तव्य बनेको साउदीसँग जनवरी महिनाभित्रै सम्झौता गर्ने गरी तयारी गरेको हो ।
बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी र नेपालका लागि साउदीका कार्यवाहक राजदूत अब्दुलनासर बिन हुसेन अल-हार्थिबीचको भेटमा श्रम सम्झौताको विषयमा छलफल भएको जानकारी दिएको छ । आगामी जनवरी २६ देखि २७ मा साउदीमा ‘ग्लोबल लेबर मार्केट कन्फरेन्स, २०२६’ हुँदै छ । सोही सम्मेलनमा सहभागी हुने क्रममा साउदी सरकारसँग श्रम सम्झौतापत्रमा हस्ताक्षर गर्ने विषयमा कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ ।
पहिलो श्रम सम्झौता भएकाले श्रमिकको हक हित र दुई देशबीचको श्रम कूटनीतिका आधारभूत विषयहरु समावेश भएको मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले बताए । ‘अरु देशमा हुनेजस्तै आधारभूत सम्झौता नै हो । लिगल फ्रेमवर्कमा श्रमिकहरुलाई यसरी पठाउने भन्ने सम्झौता हुन्छ,’ घिमिरेले भने, ‘मानवअधिकार, सेफ्टी मेकानिजम, केही समस्या भए संयुक्त संयन्त्रमार्फत समाधान गर्नेलगायतका विषयमा केन्द्रित भएको छ ।’
अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) र अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम)को ऐनअनुसार श्रम सम्झौता हुने मन्त्रालयले जनाएको छ । साउदीसँग २०६५ सालमा तत्कालीन श्रममन्त्री लेखराज भट्ट र श्रमराज्यमन्त्री मोहम्मद अफ्ताव आलमले श्रम सम्झौताका लागि पहिलोपटक छलफल गरेका थिए । त्यसपछि नेपाली पक्षको मागपछि साउदीले २०६८ सालमा नेपालमा आफ्नो दूतावास खोले पनि श्रम सम्झौताका लागि चासो देखाएको अवस्था थिएन ।
२०७२ सालपछि भने साउदीले घरेलु रोजगारीमा लगाइएको प्रतिबन्ध खुलाउन सर्त राख्दै आएको छ । नेपालले उक्त सर्त नमानेपछि साउदीले श्रम सम्झौतामा चासो नदेखाएको बताइने गरिन्छ । डेढ दशकभन्दा लामो समयदेखि सम्झौताका लागि प्रस्ताव गर्दै आए पनि चासो नदेखाएको साउदी यतिबेला २०३४ को फिफा विश्वकप फुटबल आयोजना गर्ने तयारीमा छ । यसका लागि बन्दै गरेका पूर्वाधारमा ठूलो संख्यामा कामदार आवश्यक पर्नु र अन्तर्राष्ट्रियस्तरमासमेत श्रमिकको अधिकार हनन भएको भन्दै प्रश्नहरु उठिरहेको अवस्थामा सम्झौताका लागि साउदी तयार भएको बुझिएको छ । साउदीले आगामी १० वर्षसम्म ठूलो संख्यामा नेपाली कामदार लग्ने बताउँदै आएको छ ।
संयुक्त अरब इमिरेट्स (युएई)पछि धेरै नेपाली श्रमिक जाँदै आएको साउदीमा गत आर्थिक वर्ष २०८१÷८२ मा एक लाख ५२ हजार ५५७ जना व्यक्तिगत, संस्थागत र श्रम स्वीकृति लिएर गएका थिए । २०८०÷८१ मा यसरी साउदी गएकाको संख्या एक लाख ४१ हजार ५०२ छ । त्यहाँ घरेलु कामदारबाहेक चार लाखको हाराहारीमा नेपाली रहेको बताइन्छ । सरकारी विवरणअनुसार ६० प्रतिशतभन्दा बढी श्रमिक अदक्ष श्रमिकका रुपमा कार्यरत छन् । उनीहरु निर्माण, सफाइ, प्याकेजिङ, लोडिङ, डेलिभरी जस्ता काममा जाने गरेका छन् । यसबाहेक ड्राइभिङ, मेसिन अपरेटर, सेल्स तथा उत्पादन क्षेत्रमा बढी कामदार जाँदै आएका छन् ।
दुई देशबीचको श्रम सम्झौताविनै रोजगारीमा जाँदा श्रमिकहरु श्रम अधिकार हननको समस्यामा पर्दै आएका थिए । त्यहाँ श्रमिकमाथि जबरजस्ती श्रममा लगाएको, पारिश्रमिक चोरी, शारीरीक दुव्र्यवहारजस्ता घटना भएको पाइएको विभिन्न मानवअधिकारवादी संघसंस्थाले उजागर गर्दै आएका थिए । द्विपक्षीय श्रम सम्झौता नहुँदा यस्ता समस्याको समाधान पनि चुनौतीपूर्ण बनेको थियो । सम्झौतापछि भने दुवै मुलुक नियमभित्र बाँधिने हुँदा घटनामा कमी आउने जनाइएको छ ।