- अघिल्लो आवको पाँच महिनाको तुलनामा यस वर्ष सोही अवधिमा रोजगारीमा जानेको संख्या ३९ हजार ३१९ जना बढ्यो
- मंसिर महिनामा ६५ हजार ७०७ जनाले रोजगारीका लागि मुलुक छाडे
- मंसिरमा संस्थागतको तुलनामा व्यक्तिगत रुपमा जाने महिला बढी
- पाँच महिनामा ४५० वटा संस्थागत र तीन हजार ९१ वटा व्यक्तिगत ठगीसम्बन्धी उजुरी
काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर महिनासम्म तीन लाखभन्दा बढी युवा वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागले उपलब्ध गराएको तथ्यांकअनुसार यस आवको पाँच महिनामा तीन लाख ४१ हजार ४६९ जना रोजगारीका लागि विभिन्न मुलुक गएका हुन् । यो संख्या व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिएर जानेहरुको हो ।
अघिल्लो आवको यसै अवधिमा तीन लाख २५ हजार ८०९ जना रोजगारीमा गएका थिए । अघिल्लो आवको पाँच महिनाको तुलनामा यस वर्ष सोही अवधिमा रोजगारीमा जानेको संख्या ३९ हजार ३१९ जनाले बढेको छ । विभागको तथ्यांक अनुसार मंसिर महिनामा मात्र ६५ हजार ७०७ जनाले रोजगारीका लागि मुलुक छाडेका छन् । जसमा ५८ हजार ८५ जना पुरुष र सात हजार ६२२ जना महिला छन् । उक्त एक महिनामा १८ हजार ३९८ जना संस्थागत माध्यमबाट गएका छन् भने व्यक्तिगतरुपमा जानेहरु १० हजार २६६ जना छन् ।
मंसिरमा संस्थागतको तुलनामा व्यक्तिगत रुपमा जाने महिला बढी देखिएका छन् । संस्थागत माध्यमबाट एक हजार ८८९ जना महिला रोजगारीमा जाँदा व्यक्तिगत श्रम स्वीकृतिमा दुई हजार ४४९ जना गएका छन् । त्यस्तै, म्यानपावरमार्फत १६ हजार ५०९ जना पुरुष रोजगारीका लागि गएका छन् । व्यक्तिगत श्रम स्वीकृतिमा सात हजार ८१७ जना गएको तथ्यांक छ । पुनः श्रम स्वीकृति लिएर जानेहरु ३६ हजार ८९ जना छन् । जसमा ३२ हजार ९५३ जना पुरुष र तीन हजार १३६ जना महिला छन् । यता जिटुजीमार्फत ८९७ जनाले इजरायल र दक्षिण कोरियामा रोजगारीको अवसर पाएका छन् । जसमध्ये ७७५ जना पुरुष र १२२ जना महिला छन् ।
संस्थागत तथा व्यक्तिगत उजुरी
यस अवधिमा म्यानपावरसँग सम्बन्धित ४५० वटा उजुरी परेका छन् । जसमा ११२ जनाको उद्धार गरिएको छ भने १५३ जनालाई क्षतिपूर्ति दिइएको छ । २४५ वटा उजुरी आपसी सहमतिमा टुंगिएको विभागले जानकारी दिएको छ । संस्थागत क्षतिपूर्ति रकम दुई करोड ६६ लाख ३२ हजार ६५० रुपैयाँ रहेको छ । मंसिर महिनामा मात्र १२३ वटा यस्ता उजुरी परेको देखिएको छ ।
व्यक्तिगत ठगीका घटना भने नियन्त्रण हुन नसकेको पाइएको छ । रोजगारीका लागि आकर्षक सेवा सुविधामा युरोप पठाइदिने प्रलोभनमा पर्दा बर्सेनि हजारौं युवा ठगिने गरेका छन् । पछिल्लो पाँच महिनामा कूल तीन हजार ९१ वटा व्यक्तिगत ठगीका उजुरी परेका छन् । जसमा विभागअन्तर्गतको प्रहरी शाखामा एक हजार ८८१ वटा उजुरी पर्दा मुद्दा तथा अनुसन्धान शाखातर्फ एक हजार २१० वटा उजुरी छन् ।
प्रहरी शाखाबाट एक हजार २४५ वटा उजुरी फस्र्योट भएको छ । उक्त शाखाले एक करोड ७२ लाख आठ हजार ६५० रुपैयाँ असुल गरेको छ । मुद्दा शाखातर्फ १६६ वटामामात्र मिलापत्र भएको छ । ६४ वटामा भने मुद्दा दायर भएको छ । उक्त शाखाबाट छ करोड ५१ लाख ९० हजार २०० रुपैयाँ क्षतिपूर्ति दिलाएको जानकारी दिइएको छ ।