त्यो पर्दैन ! उसले भन्यो ।
त्यसको जवाफमा आयो- त्यसो भए के पर्छ त ?
‘मैले जे-जे भन्यो त्यही मात्र पर्छ । मैले जसोजसो भनेर भनेको छु त्यसै त्यसै गर्नू ।’ नाम भने काजी, कामजति सबै पाजी ! उसले जवाफ फर्कायो ।
हजुरबाले जोडेको बारीको लामो पाटोसँगै रहेको खहरेको भदौमा आएको बाढीले एउटै अंग नै लगेको थियो । खहरेको बाढी त हो, आउँछ, लैजान्छ । तर त्यसपछि त उही भत्किएको लामो पाटोको एक पाखोमात्र रहेको थियो । दाजुभाइ सबै मिलेर साँधसिमाना जोगाउनका लागि बाँसको घारीबाट बाँस काटेर बारीको बाटो पुरानै अवस्थामा फर्काउने प्रयास गर्ने सल्लाह गरे ।
दाजुभाइ कुलका सबै जना सल्लाह गरे । ‘ल ठीक छ, त्यसो भए अब पुरानो बाँसको भर भएन नयाँ बाँस काटेर माटो कटान रोक्नका लागि जाली बनाएर बारीलाई पुरानै अवस्थामा फर्काउँ र त्यही नयाँ घर बनाउँ ।’ भदौमा बाढीले लगेको लामो पाटो अब त नयाँ बन्ने भो । काका, ठूला बा, माइला बा, काकी, माइल्याँ सबैको कुरा सुनेर बसेका नातिनातिना भने दंग थिए । बाढीले बगाएको किताब कापीजस्ता कुराहरुलाई फेरि ल्याउन त सकिँदैन तर फेरि किनेर ल्याउन त सकिन्छ नि !
त्यसलाई नयाँ बनाउन त सकिन्छ नि अब नयाँ लामोपाटो बन्ने छ । अनि बाहरुले त्यसमा नयाँ घर बनाउनुहुने छ । छोरा नातिहरुले त्यसलाई निकै उत्साहित बनिरहेका थिए । देश छाडेर मुग्लान गएकाहरु पनि फर्कने कुरा आयो । एउटा ठूलो विनास र विपद्ले नयाँ अवसरहरु पनि दिने छ । पुराना घरहरु त भत्किन खोजे । ती घरहरुलाई कसरी हुन्छ बलियो बनाउनुपर्छ । आफैं जन्मेको घरलाई नै राम्रो बनाउनुपर्छ । आशा सबैले गर्न थाले ।
लामो पाटो भत्किएको कुरुप थियो । त्यही पाटोको दायाँ कुनामा भक्ते काकाको घर हेर्न नहुने थियो । दक्षिणतर्फ रहेको रामे काकाको घरको पनि उस्तै बिजोक ! घरको एउटा पाटो नै स्वाहा भएको । न टाल्न मिल्ने न थपथाप गर्न मिल्ने ! पूरै भत्काएर बनाउनुपर्ने अवस्थामा पुगेको थियो । तर पनि रामे काका र भक्ते काका दुवैले हार भने खाएका थिएनन् ।
भदौरे बाढीले धेरैको मन रुवाएर गयो । घरबारविहीन बनाइदियो । कसैको काख रित्यायो, कसैको के अंगभंग बनाइदियो । दुःखी र बेसहारा बनायो त्यो भदौरे भेलले । दसैं आयो, तिहार गयो । तर भदौरे भेलको पीडामा बसेकाहरुलाई कसैले पनि वास्तै गरेनन् !
हुन त जसलाई पर्छ उसैले भोग्ने हो । अरुले त कठैबरा भन्नेबाहेक के नै पो गर्छ र भन्ने कुरा भदौरे भेलको बाढी भोग्नेलाई नै थाहा होला ।
लामो पाटो बन्छ भन्ने छोराछोरी नातिनातिनाको आशा निराशा त्यस बेला हुन थाल्यो । जुनबेला काका, ठूलो बा, माइला बा, हजुरबाहरुले बोलेको कुरालाई नै फेर्न थाले । हिजोसम्म बाढीले तर्साएको थियो । अब उनीहरु नै बाढीलाई तर्साउँछु भन्न थाले । त्यो कुरा भक्ते काकालाई मन परेन । उनले भने, ‘मेरो सारा चीज छियाछिया परेको छ । बाढीले भताभुंग बनाएको छ । त्यो बाढीले जे गरे पनि अब त बाढी नआउनेगरी पाटो सम्याउनुपर्छ ।’
भक्तेका कुरा ठूलाबा सुन्ने चाहँदैनथे । किनकि, उनी सधैं आफ्नो कुरालाई मात्र माथि पार्न खोज्ने । बालहठजस्तै गरिबस्थे । जेठोबाठो भएर सानालाई सम्हाल्ने होइन, उल्टै भाइभतिजाका सबै कुम्ल्याउने नभएर छिमेकीको हातमा सुम्पन्न खोज्ने लेण्डुप थिए । अहिले होइन, पहिलेदेखि नै उनको छिमेकीसँग उठबस राम्रो थियो । ठूलाबाका कुरा सुनेर अरु खासै बोल्दैनथे । किनकि, अलि बुझक्कड उनै छन् । समय आएपछि उनले सबैलाई समान नै गर्लान् भन्ने ठानेका थिए अरु पलायन भएका भाइहसमेतले ।
तर ती सबैका आशा निराशामा बदलिन थाल्यो । ठूलोबाको भनाइ र गराई छोरा र नाति पुस्तालाई पटक्कै मन परेको थिएन । किनकि, भदौरे बाढी आउनुअघि नै उनीहरुले मुहान खोलाको बहावलाई राम्रै छेकवार गरौं भनेका थिए । तर उनको हठ यस्तो थियो कि बाढीपहिरो सबै मै ठीक पार्छु जस्तो थियो । तर उनले सकेनन् ।
छोरानातिहरुको कुरा सुन्न नखोज्दा उनले आफ्नो बारीको पाटो नै गुमाउनुपर्यो । त्यतिमात्र कहाँ हो र ? बाढीले घरको पिँढी नै बगाइदिएपछि अर्काकै सहारामा ज्यान सुरक्षित बनाउने अवस्था पनि आइलाग्यो । भक्ते काका त बाढीभित्रै परेर धन्न ज्यान पो जोगाए । त्यही भएर भक्ते काका ठूलोबाको भनाइ मान्न तयार छैनन् । एकातिर भक्ते काका ठूलोबाको कुरा मान्न तयार छैनन् अर्कोतिर ठूलोबा जसरी हुन्छ आफ्नोबाहेक अरुको कुरा नै सुन्दैनन् । उनले बोलेको त ढुंगाकै अक्षरजस्तो गर्छन् ।
तर विडम्बना, हजुरबा बितेपछिको केही महिनामा नै लामोपाटो खान खोज्नेहरु धेरै नै थिए । घरभित्रकै दाजुभाइ पनि आफूले नसक्ने भएपछि छिमेकीलाई त्यति राम्रो मिलेको पाटो बेच्ने तरखर गर्दै पनि थिए । अहिले पो पोल खुल्दै छ । हिजो लामो पाटो छिमेकीलाई प्लटिङ बनाएर बेच्न दिन खोज्नेहरु त उनीहरुसँग नै उठबस र खानपानमै मस्त भइसकेका रैछन् !
घरभित्रै लेण्डुप भएपछि कसको के लाग्दो रैछन् र ? जति नै गोप्य कुरा भए पनि लेण्डुपहरुले छिनका छिनमै छिमेकीलाई पु¥याउने अनि उसले नखेले कसले खेल्छ त ? उसले त पहिलेदेखि नै खेल्दै आएको रहेछ । त्यही भएर मुहान खोलाको पानीको बहावलाई पुरानै मार्गमा जान नदिएर ठाउँ-ठाउँमा मिच्न सिकाएको रहेछ ।
कहिले कुन नातिलाई, कहिले कुन छोरालाई, कहिले कुन नातिनीलाई आफ्नो प्रभावमा पारेर मुहान खोलाको बहावमार्गलाई अवरोध गर्न नजानिँदो किसिमले सिकाएका रेछन् र पो भदौरे भेल सर्लक्कै आएर लामो पाटो नै खर्लप्पै पारिदिएको छ ! अब यी ठूलोबा, माइला बा, भक्ते काका, माइल्याँहरुले सधैं आपूmलाई शेर सम्झेर बस्ने तर लेण्डुपको काम गर्दै कहिले कता भत्काउने कहिले कता किनार लगाउने गरेपछि भदौरे बाढीले पनि आफ्नो रुप त देखाइदियो । यत्ति हुँदा पनि अझै यी घरभित्रका लेण्डुपहरुको चेत खुलेन भने रामराम भन्नुबाहेक के नै पो गर्न सकिएला र ?