- साइप्रस गएकामध्ये ६४.३ प्रतिशत कामदार सीप बिनै गएको प्रतिवेदनमा उल्लेख
- १३ हजार ८६४ जना जापान गएकोमा ८३.१ प्रतिशत दक्ष श्रमिक
- दक्षिण कोरिया र माल्टा गएकामध्य ८२.६ प्रतिशतले सीप सिकेको पाइएको छ
काठमाडौं– वैदेशिक रोजगारीमा सबैभन्दा बढी अदक्ष श्रमिक साइप्रस गएको पाइएको छ । हालसालै श्रम मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनकाअनुसार सन् २०२३/२४मा छ हजार ९५० जना साइप्रस गएकोमा ६४.३ प्रतिशत कामदार सीप बिनै गएको पाइएको हो । उक्त संख्या व्यक्तिगत, संस्थागत र श्रम स्वीकृति नवीकरण गरेर गएकाहरुको हो ।
सोही वर्ष साइप्रसपछि बढी अदक्ष श्रमिक जोर्डन गएका छन् । जहाँ कुल दुई हजार २०३ जना श्रमिक गएकोमा ५९.६ प्रतिशत अदक्ष श्रमिक रहेका छन् । यी मुलुकमा महिलाहरु घरेलु कामदारको रुपमा बढी जाने गरेका छन् । साइप्रस र जोर्डनपछि बढी अदक्ष श्रमिक खाडी मुलुक र मलेसिया गएका छन् । सोही अवधिमा पाँच लाख २५ हजार ६९२ जना खाडीमा गएकोमा अदक्ष श्रमिक २१.१ प्रतिशत छन् । त्यस्तै, एक लाख तीनहजार ४४२ जना मलेसिया गएकाहरुमध्य १८.६ प्रतिशत सीप नसिकेकाहरु छन् ।
अध्ययनकाअनुसार सबैभन्दा बढी दक्ष श्रमिकहरु भने जापान गएका छन् । उक्त वर्ष १३ हजार ८६४ जना जापान गएकोमा ८३.१ प्रतिशत दक्ष श्रमिक रहेका छन् । दोस्रोमा, दक्षिण कोरिया र माल्टा गएकामध्य ८२.६ प्रतिशतले सीप सिकेको जनाइएको छ । त्यसपछि, बढी सीप सिकेर गएका मुलुकहरुमा क्रोएसियामा ७९.१, रोमानियामा ७७.४ र यूकेमा ७५.२ प्रतिशत गएका छन् । मलेसियामा ७४ र खाडी मुलुकमा ७१.१ प्रतिशत सिपयुक्त श्रमिक गएका छन् ।
रोजगारीमा जाने व्यवसायिक र उच्च दक्ष कामदारको संख्या भने न्यून छ । उक्त वर्ष उच्च दक्ष कामदार यूके गएका थिए । यूकेमा दुई हजार ५४४ जना गएकोमा उच्च दक्ष कामदार ०.९ प्रतिशत थिए । दोस्रोमा माल्दिभ्स र जपान रहेका छन् । जहाँ ०.४ प्रतिशत यस्ता कामदार गएका छन् । खाडीमा ०.१ प्रतिशत उच्च दक्ष श्रमिक गएका छन् भने मलेसियामा कोही पनि गएका छैनन् । सबैभन्दा बढी व्यवसायिक कामदार भने माल्दिभ्स गएका छन् । त्यहाँ गएकामध्य १.९ प्रतिशत व्यवसायिक कामदार छन् । त्यसपछि यूके गएका १.७ प्रतिशत व्यवसायिक कामदार छन् । खाडीमा ०.३ र मलेसियामा ०.५ प्रतिशत यस्ता कामदार गएका छन् ।

पेशागत हिसाबले हेर्दा सबैभन्दा बढी कामदार ‘इलिमेन्ट्री अकुपेसन’ मा जाने गरेका छन् । जसअन्तर्गत क्लिनिङ, प्याकेजिङ, लोडिङ, सिपिङ, डेलिभरी, लेबर लगायतका काम पर्छन् । महिलाहरु बढीजसो सरसफाइ र लन्ड्रीमा जाँदा पुरुषहरु भने लेबरको रुपमा गएको पाइएको छ । २०२३/२४मा संस्थागत माध्यमबाट ४८.४ प्रतिशत युवाहरु उक्त काममा गएका छन् । व्यक्तिगत श्रम स्वकिृति लिएर ३८.२ र जिटूजिमार्फत ९८.५ प्रतिशत गएका छन् । त्यस्तै म्यानपावरबाट सर्भिस एन्ड सेल्समा १८.२ र म्यानुफ्याक्चरिङमा ११ प्रतिशत गएका छन् । व्यक्तिगत श्रम स्वीकृति लिएर उक्त क्षेत्रमा क्रमशः २९.३ र २.८ प्रतिशत गएका छन् । व्यक्तिगत श्रम स्वीकृति लिएर प्रशासनिक कामको लागि ६.३ प्रतिशत कामदार जाँदा म्यानपावरबाट भने १.९ प्रतिशतमात्र गएका छन् ।
उक्त वर्ष कृषि तथा पशुपालनमा, मेसिन अपरेटर, उत्पादनर सुरक्षा गाार्डमा सबैभन्दा बढी मलेसिया गएका थिए । प्लम्बिङ, स्काफफोल्डिङ, पेन्टर, मेसन, म्यानेजर, हाउस किपिङ एभिएसम एन्ड क्रुज, इलेक्ट्रिसियनलगायतका कामका लागि सबैभन्दा बढी यूएई गएका छन् । लेबर, ड्राइभर, प्याकेजिङ, डेलिभरी लगायतका काममा साउदी अरब जानेहरु बढी छन् । त्यस्तै, शेफ/कुकमा जापान, केयरगिभरमा युके, ब्यूटी एन्ड फिटनेसमा कुवेत र डेजर्ट मेकरमा मरिससमा बढी युवाहरु गएका छन् ।
पछिल्लो समय वैदेशिक रोजगारीमा सीप सिकेर जानेहरु बढेका छन् । सरकारी तथ्यांक अनुसार सन् २०१७/१८मा रोजगारीमा जाने अदक्ष् ाश्रमिकको संख्या ६४ प्रतिशत थियो भने सन् २०२३/२४मा २१.९ प्रतिशतमा झरेको छ ।