काठमाडौं -जर्मनीमा सिपमूलक प्रशिक्षणसँगै कामका लागि जाने नेपालीलाई श्रम स्वीकृतिमार्फत पठाउने तयारी भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति दिएर मात्रै पठाउने तयारी गरेको हो ।
हाल सिपमूलक प्रशिक्षणसँगै प्रशिक्षार्थी/व्यवसायिक काममा जाने नेपाली विद्यार्थीहरूको भिसामा समस्या हुने गरेको छ ।शिक्षा मन्त्रालयले श्रमिकलाई नो अब्जेक्सन लेटर (एनओसी) दिन आनाकानी गर्दै आएको छ । श्रम मन्त्रालयले समेत विद्यार्थी भएकालाई श्रम स्वीकृति दिएर पठाउन नसक्दा दुई वर्ष नेपालमा जर्मन भाषा पढेर अध्ययन तथा कामको लागि जाने नेपालीहरू समस्यामा पर्दै आएका छन् ।
नेपाली कामदारको सुरक्षा, सुविधा र कल्याणलाई ध्यान दिई नीतिगत निर्णयगरी श्रम स्वीकृति प्रदान गरेर मात्रै पठाउने मन्त्रालयको तयारी छ । नेपालबाट भाषा पढेर हरेक वर्ष ५ सयको हाराहारीमा नेपाली विद्यार्थी जर्मनी जाने गरेका छन् । उनीहरूलाई शिक्षा मन्त्रालयले श्रमिक भनेर एनओसी दिन अस्वीकार गर्दै आएको छ, भने श्रम मन्त्रालय विद्यार्थी भनेर श्रम स्वीकृति दिन अस्वीकार गर्दै आएको छ ।