काठमाडौं -विवाहको १८औँ वर्षगाँठ पारेर 'नसोधी' गजल एल्बम ल्याइएकाे छ । २२ मङ्सिर २०६५मा नयाँ जीवनको सहयात्रा सुरु गरेका एक जोडी कवि, गजलकारद्वय राधा कणेल र घनेन्द्र ओझाले विवाहको १८औँ वर्षगाँठ पारेर 'नसोधी' गजल एल्बम ल्याएका हुन् ।
कृति प्रकाशनबाट सिर्जनशील बनाएको यो जोडीले मध्य मङ्सिरकाे बढ्दो चिसोमा विवाह गरेका थिए । विवाहकै दिन साहित्यिक सहयात्राको चिनो गजलसङ्ग्रह 'बाटो अझै छ बाँकी' संयुक्त रूपमा प्रकाशन गरेका थिए ।
विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको एकल सङ्गीत र स्वर रहेको एल्बममा राधाका २ र घनेन्द्रका ३ वटा गजल छन् । एल्बमका प्रस्तुतकर्ता अहिले चर्चित र लोकप्रिय रहेको उपन्यास 'नीलो प्रेम'का लेखक पुरुषोत्तम बजगाईं हुन् ।
सोमबार काठमाडौँमा आयोजित एल्बम लोकार्पण कार्यक्रममा कवि एवं समालोचक प्रा. डा. देवी नेपालले राधा र घनेन्द्रलाई स्रष्टाका रूपमा धेरै अगाडिदेखि चिनेको र उनीहरूको सिर्जनशील सहकार्य जीवनको पनि सहकार्यमा परिणत भएको भन्दै खुसी व्यक्त गरे ।
नेपालले सिर्जनामा दुवै स्रष्टा सशक्त रहेका र साङ्गीतिक सहकार्यमा विश्व कीर्तिमानी सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठ जोडिएपछि नेपाली गजल गायनले समेत तीव्रता लिएको बताए ।
गजलकार तथा आख्यानकार नेपाल सरकारका पूर्व मुख्य सचिव एवं क्यानडाका लागि पहिलो नेपाली राजदूत डा. भोजराज घिमिरेले राधा, घनेन्द्र र सन्तोषले कसैलाई नसोधी नै सिर्जनशील कामहरू गरिरहेका भन्दै प्रशंसा गरे । नेपाली गजल लेखन र गायन दुवैमा परिष्कारतर्फ बढेको र केही समयमा सुन्दर र सशक्त गजलहरू गायनमा आउने विश्वास व्यक्त गरे ।
सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठले घनेन्द्र ओझा र आफू 'नेपाली गजल गायनको स्वर्ण दशक, वि. सं. २०८०-२०९०' अभियानमा रहेका र सो अभियानअन्तर्गत देशभर दर्जनभन्दा बढी प्रत्यक्ष गजल गायनका कार्यक्रम भइसकेका भन्दै 'नसोधी' एल्बम यस अभियानको पहिलो एल्बम भएको सुनाए । उनले अभियानमा सबै गजलप्रेमी, सङ्गीतप्रेमीलाई जोडिन अनुरोध पनि गरे ।
गजलकार राधा कणेलले पछिल्लो समय गजल सङ्गीतमा देखिएको सन्तोष श्रेष्ठको लगाव र सक्रियताले नेपाली गजलले उचाइ लिने बताइन् । गजलकार ओझाले वि. सं. २०८०-२०९० लाई नेपाली गजल गायनको साँच्चै स्वर्ण दशक बनाउन लागिपरेको सुनाए । यसै मेसोमा राजधानी र प्रदेशहरूमा समेत गायनका कार्यक्रम गरिरहेको बताए । उनले केही महिनामै राधा कणेल, रश्मि असफल र आफ्ना गजल रहेको दार्जिलिङका सङ्गीतकार जीवनप्रकाश प्रधानको एकल सङ्गीतमा 'मतला' एल्बम ल्याइने पनि बताए ।प्रभाती किरणले स्वागत गरेको कार्यक्रमको सहजीकरण ज्ञानु विद्रोहीले गरेका थिए ।