काठमाडौं- जापानमा कार्यस्थलमा हुने दुर्घटनाबाट घाइते हुने र मृत्यु हुने विदेशी कामदारको संख्या वृद्धि भएको देखिएको छ । जापानको सरकारीतथ्यांकअनुसार सन् २०२४ मा पहिलोपटक यस्तो दुर्घटनाको संख्या छ हजार नाघेको हो ।
त्यहाँको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको रिपोर्टअनुसार सन् २०१९ यता यो संख्या वर्षेनी बढ्दै आएको छ । २०१९ अघि यस्तोे संख्या ४ हजारभन्दा कम थियो । सुरक्षा प्रशिक्षण पर्याप्त नहुनु र सञ्चार तथा समन्वयको अभावले समस्या देखिएको मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।
मन्त्रालयका अनुसार सन् २०२४ मा जापानमा रहेका करिब २३ लाख विदेशी कामदारमध्ये ६ हजार २४४ गम्भीर रूपमा घाइते भएका छन् । यस्ता घाइतेहरु चार दिनभन्दा बढी बिदा आवश्यक पर्नेहरु रहेको जनाइएको छ । दुर्घटनाबाट ३९ जनाको मृत्यु भएकोतथ्यांक छ । दुर्घटनाको सूचीमा दीर्घकालीनदेखि स्थायी बासिन्दा र जापानी नागरिकको दम्पत्तीको संख्या दुई हजार २८३ रहेको छ । जापानको प्राविधिक इन्टर्नसिप कार्यक्रम अन्तर्गत गएकाहरु एक हजार ८७४ जना छन् । त्यस्तै ८१० जना सीपयुक्त कामदारहरू रहेको जनाइएको छ ।
जापानले विकासशील राष्ट्रहरूका कामदारको सीप विकासका लागि भन्दै १९९३ देखि प्राविधिक इन्टर्नसीप तालिम कार्यक्रम सञ्चालन गरेको छ । तर उक्त कार्यक्रमले सस्तो कामदार भित्र्याएको भन्दै आलोचना हुने गरेको छ । यस्ता घटनामा भियतनामीहरु सबैभन्दा बढी एक हजार ५९४, फिलिपिन्सका ८७८ र इन्डोनेसियाली ७५७ जना र ब्राजिलियन ६७३ जना छन् । श्रम मन्त्रालयले प्रति एक हजार विदेशी कामदारमा हुने दुर्घटना दरलाई न्यूनीकरण गर्ने लक्ष्य राखेको छ । सन् २०२७सम्म सञ्चालनमा रहेकामध्ये कम्तीमा आधा कार्यस्थलमा दुर्घटना रोकथाम तालिम प्रदान गर्ने योजना बनाएको छ ।
विज्ञहरुले दुर्घटनाको जोखिममा खतरनाक मानिने काममा आवद्ध प्राविधिक इन्टर्न र दक्ष कामदार रहेको बताएका छन् । उनीहरुलाई जापनिज भाषाको यथेष्ठ ज्ञान बिना ल्याउने गरिएकाले समस्या भएको विज्ञले औँल्याएका छन् ।
नेपालबाट समेत प्राविधिक इन्टर्नसिप अन्तर्गत कामदार लैजाने गरेको छ । गत आर्थिक वर्षमा २३ हजार ७१ जना श्रम स्वीकृति लिएर जापान गएका थिए । त्यस्तै, २०८०/८१मा १३ हजार ८६४ जनाश्रम स्वीकृति लिएर जापान गएको तथ्यांक छ ।