युएई सामान्यतर्फ उन्मुख छ । व्यवसायीहरुले केही वर्क पर्मिटहरु निस्किन थालेको भनिरहनुभएको छ । कति समयदेखि प्रतीक्षामा हुनुभएका कामदारहरु जान पाउने वातावरण भयो । खुसी व्यक्त गर्नुभएको छ साथीहरुले ।
डिकबहादुर खत्री
वरिष्ठ उपाध्यक्ष, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च
काठमाडौं– संयुक्त अरब इमिरेट्स (युएई)ले जेन–जी आन्दोलनपछि रोकेको रोजगारी खोल्ने संकेत गरेको छ । दुई महिनाभन्दा बढी बन्द भएको युएईबाट कामदार भिसा आउन थालेको हो ।
यससँगै व्यवसायीहरु आशावादी बनेका छन् । हालै त्यहाँका सरकारी र अर्धसरकारी संस्थाले भिसा दिन थालेको व्यवसायीहरुले बताएका छन् । गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि भदौ ३० गते सोमबारयता युएईले नेपालीका लागि भिजिट र कामदार दुवै भिसा बन्द गरेको थियो ।
नेपालीहरुको प्रमुख रोजगार गन्तव्य युएईले अघोषितरुपमा भिसा बन्द गरिदिँदा व्यवसायी र कामदार समस्यामा परेका थिए । केही दिनयता त्यहाँका अर्धसरकारी कम्पनीहरुले भिसा जारी गर्न थालेको व्यवसायीहरुले बताएका छन् । केही व्यवसायीहरुले भिसा आउन थालेको भन्दै आए पनि आफूलाई विश्वास नलागिरहेको अवस्थामा राजदूत स्वयंले १८ जनाको भिसा पठाइदिएको नेपाल लोकतान्त्रिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष दिपक थापाले बताए ।
‘हाम्रै व्यवसायीले दूतावासको कमजोरीले युएई खुलेन भनेको अवस्थामा मलाई राजदूत स्वयंले १६ तारिखमा १८ जनाको भिसा पठाइदिनुभएको छ । ती भिसाचाहिँ अर्धसरकारी कम्पनीका छन्,’ थापाले भने, ‘अरु साथीहरुले पनि भिसा निस्कियो भन्न थाल्नुभएको छ ।’
युएईबाट सरकारी कम्पनीको तुलनामा निजी कम्पनीबाट कामदारको माग बढी आउने गरेको थापा बताउँछन् । तर निजीले भने अझै भिसा दिन सुरु नगरेको उनको भनाइ छ । सरकारी कम्पनीहरुले भिसा दिइसकेपछि हालको स्थिति परिवर्तन हुनेमा उनी आशावादी छन् । ‘अन्य कम्पनीले पनि खुलाउलान् । एउटै मुलुकमा कसैले लग्ने कसैले रोक्ने भन्ने त नहोला,’ थापाले भने ।
युएई सामान्य बन्दै गरेको अवस्थामा व्यवसायीमा खुसी छाएको प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका वरिष्ठ उपाध्यक्ष डिकबहादुर खत्रीले बताए । ‘युएई सामान्यतर्फ उन्मुख छ । व्यवसायीहरुले केही वर्क पर्मिटहरु निस्किन थालेको भनिरहनुभएको छ । कति समयदेखि प्रतीक्षामा हुनुभएका कामदारहरु जान पाउने वातावरण भयो । खुसी व्यक्त गर्नुभएको छ साथीहरुले,’ खत्रीले भने ।
यद्यपि, युएई खुल्नमा सरकारले भने पहल नगरेको उनले बताए । त्यहाँका रोजगारदाताको आवश्यकताका कारण खुलेको उनको भनाइ छ । ‘रोजगारदाताको आवश्यकताका कारण खुलेको हो । उनीहरुको ठूलो स्रोत मुलुक बंगलादेश हो तर अहिले बंगलादेश बन्द छ,’ खत्रीले भने, ‘त्यसपछिको ठूलो स्रोत नेपाल हो । युएईमा कम्पनीहरुले पनि दबाब दिएको पाइयो । त्यो आन्तरिक बाध्यताले खुलाउन थालेको पाइन्छ ।’
भिसा एप्लाई गर्ने सिस्टममा नेपाल भनेर नआइरहेको अवस्थामा अब भने देखाउन थालेकाले यसलाई खुल्ने संकेतमा रुपमा आफूहरुले लिएको वैदेशिक रोजगार व्यवसायी एकता समितिका अध्यक्ष हरिबहादुर पाण्डेले बताए । ‘प्राइभेट कम्पनीले कागजातहरु मागिरहेका छन् । हामीले पठाउन थालेका छौं । निजीले पनि चासो दिन थालेका छन्,’ पाण्डेले भने ।
युएई नेपाली युवाहरुको प्रमुख रोजाइको श्रम गन्तव्य बन्दै आएको छ । प्रत्येक महिना १५ हजारभन्दा बढी युवा संस्थागत माध्यमबाट युएई जाँदै आएकोमा युएई बन्द भएयता असोज महिनामा सात हजार २३७ र कात्तिकमा २६५ जनामात्र गएका थिए । गत आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा धेरै दुई लाख ७४ हजार ५९० जना रोजगारीका लागि युएई गएका थिए । त्यस्तै ०८०/८१ मा एक लाख ९३ हजार ४३८ जना गएका थिए ।