- चालु आवको पहिलो तीन महिनामा भित्रियो पाँच खर्ब ५३ अर्ब ३१ करोड रेमिट्यान्स
काठमाडौं– गत असोज महिनामा मुलुकमा हालसम्मकै धेरै विप्रेषण (रेमिट्यान्स) भित्रिएर कीर्तिमान कायम भएको छ । उक्त महिनामा दुई खर्ब एक अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
असोजमा प्राप्त भएको यो रकम अहिलेसम्म एकैमहिना भित्रिएको सबैभन्दा उच्च हो । अघिल्लो आर्थिक वर्ष २०८१÷८२ को असोजमा एक खर्ब ४४ अर्ब १८ करोड रुपैयाँ भित्रिएको थियो । अघिल्लो आवको तुलनामा तालु आवको असोजमा ५७ अर्ब चार करोड रुपैयाँ बढी रेमिट्यान्स भित्रिएको हो ।
असोजमा अन्य महिनाको तुलनामा रेमिट्यान्स बढ्नुमा चाडपर्वको पनि भूमिका रहेको छ । असोजमा हिन्दूहरुको महान पर्व दसैं मनाइएको थियो । उक्त पर्वमा परिवारका लागि विदेशमा रहेकाहरुले बढी खर्च पठाउने गर्दछन् । सोही कारण असोजमा रेमिट्यान्सको आकार बढेको जानकारहरु बताउँछन् ।
राष्ट्र बैंकको प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले बढेको छ । गत साउन, भदौ र असोज महिनामा कूल पाँच खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ विप्रेषण प्राप्त भएको राष्ट्र बैंकले जनाएको छ ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.२ प्रतिशतले बढेर तीन अर्ब ९४ करोड पुगेको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो आवको सोही अवधिमा यस्तो आप्रवाह तीन अर्ब चार करोड डलर थियो । साउन, भदौ र असोज महिनामा वैदेशिक रोजगारीका लागि संस्थागत र व्यक्तिगत माध्यमबाट एक लाख २३ हजार ४५९ जनाले अन्तिम श्रम स्वीकृति लिएको तथ्यांक छ । त्यस्तै ७७ हजार २५७ जना पुनः श्रम स्वीकृति लिएर रोजगारीमा गएका थिए ।
अघिल्लो आवको यसै अवधिमा संस्थागत र व्यक्तिगत माध्यमबाट एक लाख १० हजार ६५४ जना र श्रम स्वीकृति नवीकरण गरेर ५९ हजार ९३९ जना रोजगारीमा गएका थिए । समग्रमा अघिल्लो आवको यसै अवधिको तुलनामा यस आवमा रोजगारीमा जानेहरुको संख्या ३० हजार १२३ जनाले बढेको छ । प्रत्येक वर्ष रोजगारीमा जानेहरुको संख्या बढेसँगै विप्रेषण आप्रवाह पनि बढ्ने गरेको पाइन्छ ।
अघिल्लो आव २०८१/८२ को तीनमहिनामा चार खर्ब सात अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स प्राप्त भएको थियो । उक्त आवको तीन महिनाको तुलनामा यस आवको तीन महिनामा एक खर्ब ४६ अर्ब रुपैयाँ बढी रेमिट्यान्स आएको छ । यसभन्दा अघिका आवको यसै अवधिको तथ्यांक हेर्दा आव २०७७/७८ मा दुई खर्ब ५८ अर्ब ८६ करोड, २०७८/७९ मा दुई खर्ब ३९ अर्ब ३२ करोड, २०७९ /८० मा दुई खर्ब ८१ अर्ब पाँच करोड र २०८०/८१ मा तीन खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ प्राप्त भएको थियो ।
राष्ट्र बैंकले सार्वजनिक गर्ने वित्तीय विवरणमा वैधानिक माध्यमबाट आएको रकममात्र समावेश गरिएको हुन्छ । रोजगारीमा जाने कतिपयले हुण्डीलगायतका माध्यमबाट अवैधानिकरुपमासमेत रकम पठाउने गर्छन् । यसरी पैसा पठाउँदा सुरक्षित मानिँदैन । यस्तो रकम सरकारी तथ्यांकमा पनि उल्लेख गरिँदैन ।
वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्सले मुलुकको अर्थतन्त्रमा मेरुदण्ड रुपमा भूमिका खेल्दै आएको छ । समग्र अर्थतन्त्रमा झण्डै ३० प्रतिशत योगदान रेमिट्यान्सको रहेको छ । पछिल्लो समय सरकारले अवैधानिक बाटोबाट रकम पठाउने प्रवृत्ति रोक्न विभिन्न कदम चालेको छ । नेपालको बैंकमा रेमिट्यान्स खाता खोली त्यसमा पैसा पठाउँदा अन्य खातामा भन्दा एक प्रतिशत बढी ब्याज दिनेलगायत विभिन्न सुविधा दिइँदै आएको छ ।