काठमाडौं– तिहार पर्वको अवसर पारेर प्रदर्शन गरिएका नेपाली चलचित्रलाई दर्शकले साथ दिएका छन् । केही वर्ष अगाडिसम्म तिहारमा नेपालीभन्दा विदेशी चलचित्रको वर्चश्व देखिन्थ्यो, तर पछिल्लो समय नेपाली दर्शकको प्राथमिकतामा नेपाली चलचित्र नै परेको पाइएको हाे ।
नेपाली कला र संस्कृतिसँगै सामाजिक कथामा आधारित चलचित्रहरूले दर्शकको साथ पाउँदा घरेलुबजारमा यसको सकारात्मक प्रभावसहित व्यापार पनि राम्रो भएको देखिन्छ । चलचित्र विकास बोर्डअन्तर्गत रहेको ‘बक्सअफिस २ सिनेपाः’ मार्फत् सार्वजनिक तथ्यांकलाई विश्लेषण गर्दा पछिल्ला दिनमा नेपाली चलचित्र हेर्ने दर्शक बढिरहेको पाइन्छ । यही कात्तिक २२ गते शनिबारसम्म सार्वजनिक तथ्याङ्कअनुसार सगरमाथाका विषयमा निर्माण गरिएको चलचित्र ‘जेरी अन टप’ ले सबैभन्दा बढी कमाइ गरेको छ । तीन लाख ७५ हजार ८१ दर्शकले उक्त चलचित्रलाई हेर्दा ११ करोड ७१ लाख ४१ हजार ४९८ रुपैयाँ कमाइ (ग्रस कलेक्सन) गरेको छ ।
विश्वकै सर्वोच्च शिखर सगरमाथाका विषयमा विदेशमा धेरै चलचित्र बनेता पनि नेपालमा भने कमै बनेका छन् । उक्त चलचित्रमा सगरमाथा आरोहण र त्यसक्रमको प्रेमकथालाई देखाइएको छ । सुन्दर दृश्यलाई कैद गरिएको उक्त चलचित्रले पर्यटन प्रव्रद्धनमा टेवा पुर्याउने विश्वास निर्माता सरोज न्यौपानेको छ ।
'हामीले सगरमाथाको कथा र सुन्दरतालाई चलचित्रमा प्रस्तुत गरेका छौँ । हाम्रो प्रयासलाई दर्शकले साथ दिनुभएपछि अन्य चलचित्रकर्मीलाई पनि हौसला प्राप्त भएको छ । नयाँ विषय र गुणस्तरीय चलचित्र बन्यो भने दर्शकले रुचाउनुहुन्छ भन्ने पुनः प्रमाणित भएको छ । नेपालको सुन्दरता चलचित्रका माध्यमले प्रचारप्रसार गर्नु हामी चलचित्रकर्मीको पनि दायित्व हो', निर्माता न्यौपानेले स्पष्ट गरे ।
उक्त चलचित्रमा अनमोल केसी, भुवन केसी, आँचल शर्मा, जसिता गुरुङ, उषा खड्गीलगायतका कलाकारले अभिनय गरेका छन् । गत असोज ३१ गतेदेखि प्रदर्शनरत उक्त चलचित्रलाई सुयोग गुरुङले निर्देशन गरेका छन्।
यस्तै, भाइटीकाको अवसर पारेर यही कात्तिक ६ गतेदेखि प्रदर्शनरत चलचित्र ‘वरिष्ठ बलराम’ ले सोही अवधी (शनिबार बेलुकी) सम्म दुई करोड ५६ लाख ५७ हजार ९२९ रुपैयाँ कमाएको छ । उक्त चलचित्रलाई ८५ हजार ३५६ जना दर्शकले हेरेका छन् । दयाहाङ राई, विजय बराल, समृद्धि अर्याललगायत कलाकारले अभिनय गर्नुभएको उक्त चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका थिए ।
यस्तै, कात्तिक ६ मै प्रदर्शन भएको चलचित्र ‘सोल्टिनी’ ले भने अपेक्षा गरिएभन्दा निकै कम कमाइ गरेको छ । । उक्त चलचित्रलाई आठ हजार ९४५ जना दर्शकले हेर्दा २९ लाख पाँच हजार ९५६ रुपैयाँ मात्र कमाइ गरेको छ ।
प्रकाश सपुत, परीक्षा लिम्बूलगायतका कलाकारले अभिनय गरेकाे उक्त चलचित्रलाई अर्जुन सुवेदीले निर्देशन गरेका छन् । निर्देशक सुवेदीले यसअघि निर्देशन गरेकाे ‘रङ्गेली’ पनि घरेलु बजारमा असफल भएको थियो ।
यसैगरी, ‘तक्मे बुढा’ को उपनामले परिचित अभिनेता विल्सनविक्रम राईले निर्देशन गरेकाे ‘मैझारो’ ले पनि घरेलु बजारमा सफलता प्राप्त गर्न सकेन । अभिनेता राईको पहिलो निर्देशकीय चलचित्र नै असफल हुन पुग्यो । अभिनेता धीरज मगर, मिरुना मगर, दयाहाङ राईलगायतका कलाकारले अभिनय गरेकाे उक्त चलचित्रले एक करोड चार लाख २९ हजार २८८ रुपैयाँ कमाएको छ । ३५ हजार १७६ जना दर्शकले मात्र उक्त चलचित्रलाई हेरेका थिए ।
यस्तै, गत कात्तिक १४ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘परान’ ले दर्शकको राम्रो साथ पाएको छ । वरिष्ठ कलाकार नीर शाह, मदनकृष्ण श्रेष्ठजस्ता दिग्गज अभिनेताले अभिनय गरेको उक्त चलचित्रमा बुबाछोराको कथालाई देखाइएको छ । दीपकप्रसाद आचार्यले निर्देशन गरेको उक्त चलचित्र दर्शकबाट प्राप्त प्रतिक्रियाकै कारण घरेलु बजारमा राम्रो कमाइ गरिरहेको छ ।
उक्त चलचित्रले तीन रु करोड ७१ लाख ३६ हजार ५५३ कमाइ गरिसकेको छ । एक लाख २८ हजार ६७९ जनाले सो चलचित्र हेरेको र सुरुआती व्यापार कमजोर भए पनि चलचित्रले सकारात्मक प्रतिक्रिया पाउँदा चलचित्र भवनमा दर्शकको चाप बढेको निर्देशक आचार्यले बताए ।
'हाम्रो चलचित्रलाई दर्शकले हेर्ने पर्ने भनी सिफारिस गरेको देखेका छौँ । बाउछोराको कथालाई धेरै दर्शकले आफ्नै कथाव्यथाका रुपमा लिएका छन् । आफ्नै परिवारको कथालाई चलचित्रमा ढालेर तयार गरेको हुँ । यो कथा अहिले प्रायः घरघरको कथाव्यथाका रुपमा रहेको छ । दर्शकको माया, साथ सहयोग दिनप्रतिदिन बढ्दो छ, अपेक्षा गरिएभन्दा पनि राम्रो प्रतिक्रिया पाएको छु', निर्देशक आचार्यले स्पष्ट पारे ।
उक्त चलचित्रमा केकी अधिकारी, महेश त्रिपाठी, पुजा चन्द, अञ्जना बराइलीलगायतका कलाकारले अभिनय गरेका छन् । यस्तै, गत कात्तिक २१ मा प्रदर्शन भएको दुई चलचित्र ‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन विनाको धन’ लाई दर्शकले प्रारम्भिक दिनमा साथ दिएका छन् । यद्यपि, यी दुईको व्यावसायिक विवरण अझै सार्वजनिक भएको छैन ।
समग्रमा चाडपर्वलाई लक्षित गर्दै प्रदर्शन भएका नेपाली चलचित्रलाई दर्शकले मायाँ गरेको देखिन्छ । पछिल्ला वर्षमा नायक वा नायिकाको भूमिकाभन्दा पनि सामाजिक कथामा आधारित चलचित्रले बजार लिइरहेको देखिन्छ । विदेशी चलचित्रको तुलनामा नेपाली चलचित्रप्रति आकर्षण बढी राम्रो कमाइ गरिरहेको पाइन्छ । यसै सन्दर्भमा घरेलु बजारमा नेपाली चलचित्रले गरिरहेको कमाइले समग्र चलचित्र क्षेत्रलाई नै सकारात्मक सन्देश प्रवाह गरेको वितरक करण श्रेष्ठ बताए ।