काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सिण्डिकेडविरुद्ध खबरदारीसभा तथा व्यवसायी भेला सम्पन्न गरेको छ । मंगलबार बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजित कार्यक्रममा व्यवसायीहरुले ‘नो सिण्डिकेट’ लेखिएको कालो पट्टी बाँधेर सांकेतिक विरोध जनाएका छन् ।
खबरदारीसभामा उपस्थित व्यवसायीहरुले सिण्डिकेटविरुद्ध यो नै अन्तिम खबरदारी भएको बताए । अबको चरणमा सिण्डिकेट ल्याउन खोज्नेमाथि भौतिक कारबाही हुनसक्ने भन्दै सजग रहन चेतावनी दिएका छन् । केही व्यवसायी सिण्डिकेटमा संलग्न भएको प्रमाण भेटिएको उल्लेख गर्दै व्यवसायीहरुले थप अघि बढे सबैतिरबाट विस्थापित गराउने भन्दै सचेत गराए ।
संघका अध्यक्ष भुवनसिंह गुरुङले सिण्डिकेटधारीको तथ्य प्रमाण पाए जुनसुकै कारबाहीका लागि पछि नहट्ने बताए । आफूले व्यवसाय गर्दादेखि सिण्डिकेटको हल्ला सुन्दै आएकाले आफ्नो कार्यकालमा यो विषयलाई टुंगोमा पु¥याउने उनले प्रतिबद्धता जनाए ।
‘२०६६ सालदेखि अहिले ८२ सालसम्म सिण्डिकेट भन्ने सुन्दै छु । मेरो पलोमा सिण्डिकेट भन्ने शब्द नै हटाउँछु,’ गुरुङले भने, ‘मलेसियामात्र नभएर नेपाल सरकारले रोजगारीका लागि खुलाएका कुनै पनि मुलुकमा सिण्डिकेट स्वीकार्य हुँदैन । अहिले सबै जुटेर लड्ने बेला हो । हामीले प्रचारप्रसारभन्दा परिणाम दिनु छ ।’
सिण्डिकेटविरुद्ध संघर्ष समितिका संयोजक तथा संघका द्वितीय उपाध्यक्ष देवकुमार खोलालीले समितिमा आबद्ध हुन व्यवसायीहरुलाई आह्वान गरे । ‘सिण्डिकेटधारीसँग भूमिगत होइन, अब खुलेआम युद्ध हुन्छ । हामी लड्न तयार छौं,’ उनले भने ।
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्ष जनक रावलले सिण्डिकेटमा संलग्नहरु सच्चिनुको विकल्प नभएको बताए । ‘भोलि नाम आएको दिन सबै व्यवसायीले तपाईंहरुको घर र कार्यालय घेर्ने छन् । तुरुन्त सच्चिनुहोस्,’ रावलले भने ।
नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिका अध्यक्ष हरिबहादुर पाण्डेले सिण्डिकेट ल्याउनका लागि सरकारका केही अधिकारीहरुसमेत संलग्न रहेको आरोप लगाए । ‘सिण्डिकेट लगाउने व्यक्ति पाँच करोडको गाडीभित्र फलामको हेल्मेट लगाए पनि सुरक्षित हुनुहुन्न,’ पाण्डेले भने ।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष दीपक थापा हजारौं व्यवसायी मारेर आफूमात्र खान्छु भन्ने दुस्साहस गरे ठूलो दुर्भाग्य निम्तिने भन्दै सजग गराएका थिए । संघका तृतीय उपाध्यक्ष वैकुण्ठ पौडेलले कवितामार्फत सिण्डिकेटधारीलाई खबरदारी गरेका थिए ।भेलामा उपस्थित व्यवसायीहरुले आफ्नो राय प्रस्तुत गरेका थिए । मलेसिया सरकारबाट आएको विषय सरकारी तवरबाटै समाधान हुनुपर्ने उनीहरुको सुझाव थियो । त्यस्तै, केहीले सिण्डिकेट लागू भए वैदेशिक रोजगार व्यवसाय नै बन्द गर्नुपर्ने धारणासमेत राखेका थिए ।
खड्कामाथि खनिए व्यवसायी
वैदेशिक रोजगारीको स्वास्थ परीक्षणमा एकाधिकार भित्र्याएको आरोप लागेका कैलाश खड्काकै सक्रियतामा मलेसिया रोजगारीमा सिण्डिकेट भित्र्याउने प्रयास भएको व्यवसायीहरुले दाबी गरेका छन् । संघका पूर्वअध्यक्ष रोहन गुरुङले मेडिकल व्यवसायी खड्काले ल्याएको बायोमेट्रिक मेडिकलबाट सिण्डिकेट सुरु भएको बताए ।
‘२०७४ मा बायोमेट्रिक मेडिकलको पिलो सुरु हुँदा हामीले निचोरेर फल्न सकेनौं । कैलाश खड्का भन्ने मान्छेको बायोमेट्रिक मेडिकल टेकबहादुर गुरुङले लागू गर्दा हामीले भौतिक कारबाही गर्न खोजेको हो । अब पनि यहाँ खेल्ने काम गर्छ भने हामी छोड्नेवाला छैनौं,’ गुरुङले भने ।
कार्यक्रम नगरी सिण्डिकेट ल्याउनेहरुलाई कारबाहीमा उत्रने तयारी भए पनि एकपटक अग्रजहरुको राय सुझावका लागिमात्र कार्यक्रम गरिएको उनको भनाइ थियो । मलेसियाले जारी गरेको १० बुँदे मापदण्ड यहीँका व्यवसायीले लेखेर पठाएको र आफूलाई यी मापदण्डको सूची असारमै प्राप्त भएको उनले दाबी गरे ।
संघका प्रथम उपाध्यक्ष सुजितकुमार श्रेष्ठले खड्कालाई ‘मेडिकल माफिया’को संज्ञा दिँदै व्यवसायमा गिद्धेनजर नलगाउन आग्रह गरे । आफूहरुसँग प्रमाण भएकाले व्यवसायीबाट लिएको पैसा तीन दिनभित्र फिर्ता नगरे कारबाही गर्ने चेतावनी उनले दिए । खड्काले मन्त्रालयका कर्मचारीलाई आफ्नो पक्षमा पारेर एकाधिकारको प्रयास गरेको श्रेष्ठको आरोप छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका अध्यक्ष धनलाल जैसीले पनि खड्कामाथि नै आरोप लगाए । ‘कैलाश खड्का यदि तपाईं व्यवसायीलाई उचालेर खेल खेरिरहनुभएको छ भने त्यही रोकिनुहोस् । तपाईंको भलो त्यहीँ हुने छ । हैन भने तपाईंलाई आमव्यवसायीले छोड्ने छैनन्,’ जैसीले भने ।