- सन् २०२४ मा नौ हजार २१९ जना आप्रवासी कामदार कार्यस्थलमा दुर्घटनामा परेका छन्, यो संख्या सन् २०२० यताको सबैभन्दा बढी हो
- उत्पादन र निर्माण उद्योगमा काम गर्नेहरू दुर्घटनाको सबैभन्दा बढी जोखिममा
- कोरिया सरकारद्वारा व्यापक श्रम सुरक्षा योजना सार्वजनिक, विदेशी कामदार घातक दुर्घटनामा परे सम्बन्धित कम्पनीलाई तीन वर्षका लागि आप्रवासी श्रमिक राख्न प्रतिबन्ध लगाइने
काठमाडौं- दक्षिण कोरियामा विगत पाँच वर्षयता कार्यस्थल दुर्घटनामा पर्ने विदेशी कामदारको संख्या बढेको पाइएको छ । यसले आप्रवासी कामदारका लागि अपनाइने सुरक्षा उपायहरूमा कमजोरी भएको भन्दै आलोचना गर्न थालिएको छ ।
आइतबार कोरियाको रोजगार तथा श्रम मन्त्रालयले सत्तारुढ डेमोक्रेटिक पार्टीका प्रतिनिधि काङ देउक–गुलाई उपलब्ध गराएको तथ्यांकले कार्यक्षेत्रमा हुने दुर्घटना बढेको देखाएको हो । उक्त तथ्यांकाअनुसार सन् २०२४ मा नौ हजार २१९ जना आप्रवासी कामदार कार्यस्थलमा दुर्घटनामा परेका छन् । यो संख्या सन् २०२० पछि सबैभन्दा बढी भएको जनाइएको छ । उक्त संख्यामा कामसँग सम्बन्धित दुर्घटना र रोगका कारण ११४ जनाको मृत्यु भएको थियो ।सरकारी तथ्यांकले सन् २०२० देखि हरेक वर्ष दुर्घटनामा पर्नेहरूको संख्या बढ्दै गएको देखाएको छ । जसअनुसार यस्तो संख्या २०२० मा सात हजार ५८३ बाट बढेर २०२१ मा आठ हजार ३० पुगेको थियो । सन् २०२२ मा आठ २८६, २०२३ मा आठ हजार ७९२ र गत वर्ष २०२४ मा नौ हजार २१९ पुगेको थियो । यस वर्षको पहिलो छ महिनामा यसरी दुर्घटनामा पर्नेहरूको संख्या चार हजार ५५० पुगेको जनाइएको छ । यो तथ्यांकले सन् २०२५ को कूल संख्या फेरि बढ्न सक्ने चिन्ता बढाएको छ ।
विगत पाँच वर्षयता वार्षिक मृत्युदर लगातार १०० भन्दा माथि रहेको जनाइएको छ । सन् २०२१ मा सबैभन्दा बढी १२९ जना श्रमिकको मृत्यु भएको थियो । तथ्यांकअनुसार उत्पादन र निर्माण उद्योगमा काम गर्नेहरू दुर्घटनाको सबैभन्दा बढी जोखिममा पर्ने गरेका छन् । प्रत्येक वर्ष यी दुई क्षेत्रबाट छ हजारभन्दा बढी पीडित हुने गरेका थिए । यद्यपि, गत वर्ष यस्तो संख्या बढेर सात हजार चार पुगेको थियो । सन् २०२४ मा दुर्घटनामा परेकाहरूमध्ये उक्त संख्या ७५ प्रतिशत भएको जनाइएको छ ।
शारीरिकरुपमा बढी खट्नपर्ने उद्योगहरूमा विभिन्न स्वास्थ्य अवस्थाबाट पीडित हुनेहरूभन्दा दुर्घटनामा पर्नेहरूको संख्या बढी रहेको पाइएको छ । सन् २०२४ मा उत्पादन क्षेत्रबाट तीन हजार ६०२ जना पीडितमध्ये तीन हजार ४९५ दुर्घटनामा परेका थिए । त्यस्तै, निर्माण क्षेत्रमा सोही वर्ष कूल तीन हजार ४०२ जना पीडित भएकामध्ये तीन हजार ९५ जना दुर्घटनामा परेका थिए । गत वर्ष कृषि तथा पशुपालनको क्षेत्रमा २६८ जना दुर्घटनामा परेका थिए । सबैभन्दा कम लजिस्टिक्स, गोदाम र तथा आइसिटी क्षेत्रमा कार्यरत १३० जनामात्र दुर्घटनामा परेका थिए ।
विगत पाँच वर्षमा कृषि तथा माछापालन उद्योगहरूमा विदेशी पीडितहरूको दुर्घटना दर उल्लेख्य देखिएको छ । यी क्षेत्रमा सन् २०२० मा १४९ जना दुर्घटनामा परेका थिए भने २०२४ मा उक्त संख्या बढेर २९३ पुगेको थियो । यो ९६ प्रतिशतले वृद्धि हो । यस अवधिमा समग्र समूहको तथ्यांक भने १६ प्रतिशतले बढेको बताइएको छ । औद्योगिक दुर्घटना रोक्न सरकारको अभियान र कडा नियमहरू लागू गरेको छ । यद्यपि, विदेशी कामदारका लागि सुरक्षाको विषय प्रभावकारी कार्यान्वयन हुन नसकेको जनाइएको छ । शनिबार दक्षिण चुङचियोङ प्रान्तको बुयो काउन्टीमा एक विदेशी कामदारको मृत्यु भएको थियो । भत्किएको संरचनाले किचेर उनको मृत्यु भएको थियो । त्यस्तै, गत सेप्टेम्बर १६ मा, इञ्चोनमा अर्को कामदारको धातु कारखानामा मेसिनरीमा फसेर मृत्यु भएको थियो ।
गत हप्तामात्रै कोरिया सरकारले एक व्यापक श्रम सुरक्षा योजना सार्वजनिक गरेको थियो । जसअन्तर्गत विदेशी कामदार घातक दुर्घटनामा परे सम्बन्धित कम्पनीलाई तीन वर्षका लागि आप्रवासी श्रमिकलाई काममा राख्नबाट प्रतिबन्ध लगाइने भनिएको छ । तर यी उपायहरु पनि अपर्याप्त रहेको आलोचकहरूको तर्क छ ।