मानव समाजको विश्व इतिहासमा विभिन्न पुस्ताका मानिसहरूले अनेक किसिमका परिवर्तनहरू देखे र भोगे । कति आफैले परिवर्तन गरे, कति आफै परिवर्तन भए । कालक्रममा मानवले विकास गरेका अनेक प्रविधि र संस्कृतिहरूले मानिसहरूलाई समयक्रम अनुसारको चरित्र र बुझाई हुने गर्दछन । यसरी समय क्रममा हुने शिक्षा, संस्कृति र बुझा र उनीहरूको चरित्रका आधारमा पुस्ता वर्गीकरण गरिएका छन । यसरी वर्गीकृत गर्नुको कारण उनीहरूको भोगाई र उनीहरूले विकास गरेको प्रविधिसँग सम्बन्धित छ । सन १९०० भन्दा अघिका पुस्तालाई हराएका पुस्ता र त्यसपछिका पुस्तालाई डिप्रेसनको शिकार भएका पुस्ताका रूपमा चित्रित गरिएको छ । कुन पुस्ताले के प्रविधि उपभोग गर्न पाए र के विकास गरे ? यसलाई पनि हेरौं ।
१. मौन पुस्ता (१९२८-१९४५) यो पुस्ताका मानिसहरूले चिठी लेख्न समेत धौ धौ थियो । सूचना प्रविधि विकसित भएका पनि थिएन । घरायसी संस्कार / समुदायिक हुनु प्रमुख शिक्षा थियो । यो पुस्ता दुःख नै दुःखमा हुर्किएको र जीवन विताएको पुस्ता हो । यस पुस्ताले घरायसी र पारिवारिक अवस्थाप्रति चिन्तित र दयालु, मेहनती र सामुदायिक प्रवृत्तिका हुन्छन । यस पुस्ताका मानिसहरूले दुःख के हो ? भनेर अनुभव गरेका छन । यो पुस्ताका मानिसहरू आफ्ना दुःख आफैंसँग भन्ने गर्दछन र बाहिर त्यति दुःख व्यक्त गर्न रूचाउँदैनन् । त्यसैले यस पुस्ताका मानिसहरूलाई Silent Generation भनेर वर्गीकरण गरिएको हो ।
२. वेवी बुमर्स (१९४६-१९६४) यो पुस्ताका मानिसहरू समाज र सँस्कृति प्रेमी हुन्छन । संस्कृतिमा यिनीहरूको अगाध आस्था रहेको हुन्छ । यस पुस्ताले कला, संगीत र साहित्य क्षेत्रमा राम्रो लगाव राखेको देखिन्छ । यस पुस्ताले उपभोग्य घरायसी उपकरणहरूको राम्रो विकास गरे । संचारको प्रविधिको कुरा गर्दा यो पुस्ता रेडियो सुन्ने पुस्ता हो । यस पुस्ताले आफ्ना सन्तानलाई शिक्षा दिनमा विशेष जोड दिएको पाइन्छ । सन्तानले डाँडाकाँडा ढाकुन भन्ने यस पुस्ताको मूल मन्त्र थियो । त्यसैले यस पुस्तालाई सन १९४० देखि १९५० सम्मको जनसंख्या वृद्धिदरको तथ्यांकलाई आधार मानेर वेवी वुमर्स भनिएको हो ।
३. जेन एक्स (१९६५-१९८०) यो पुस्ता टेलिभिजन र चलचित्र हेरेर प्रभावित हुने पुस्ता हो । यस पुस्ताका मानिसहरू बढी मात्रामा साहित्य, चलचित्र र चित्रकथाका कथानक पात्रहरूबाट प्रभावित हुन्थे । यस पुस्ताका मानिसहरूका लागि चलचित्र हल धाउनु र घरमा टेलिभिजन राख्नु ठूलो शौखको विषय थियो । ब्रुस ली, ज्याकी च्याङ र माइकेल ज्याक्सन यस पुस्ताका विश्वविख्यात हिरो हुन । यस पुस्ताले डिजिटल सूचना प्रविधिको विकासमा विशेष ठूलो योगदान गरेका छन । याहु, गुगल, ह्वाट्सएप लगायतका प्रविधिको विकास यस पुस्ताको उत्पादनहरू हुन् ।
४. मिलेनियल्स (१९८१-१९९६) यस पुस्तालाई Gen Y पनि भनिन्छ । पश्चिमा जगतमा यो सबैभन्दा शिक्षित पुस्ता हो । यस पुस्ता डिजिटल प्रविधिसँग एकदमै सामिप्य राख्ने अवसर पाएको पुस्ता हो । यसै पुस्ताले विभिन्न सूचना प्रविधिहरूको विकास र विस्तार गरेका छन । ई-कमर्शलाई विश्वव्यापी बनाएको यही पुस्ताले हो । यस पुस्तामा स्थानीय र विश्व समुदायपनको विशेषता पाइन्छ । फेसबुक र युट्युव जस्ता सामाजिक सञ्जाल र डिजिटल प्ल्याटफर्महरू यस पुस्ताको प्रतिनिधि उत्पादन हुन् ।
५. जेन जेट (१९९७-२०१२) जेन जी हाल १४ देखि २८ वर्षका भए । यो सन १९९७ देखि २०१२ सम्म जन्मिएका बच्चाहरूलाई Generation Z को संज्ञा दिइयो । यस पुस्ताका बच्चाहरूमा डिजिटल सामिप्यता, वैश्विक सामाजिक चेतनाका चरित्रका हुन्छन भनेर वर्गीकृत गरिएको पाइन्छ । यिनीहरूमा मानव सममाजका कुनै पनि वादहरू भन्दा पृथक रहेर कल्पना गर्ने प्रवृत्ति हुन्छ । स्मार्टफोन र सामाजिक सञ्जाल यस पुस्ताको प्रमुख केन्द्रीय तत्व हो । यो पुस्ता सानै देखि हरेक कुराहरू स्मार्टफोन र सामाजिक सञ्जालमा प्रयोग उपयोग गरेर हुर्केको पुस्ता हो । यस पुस्ताका युवा तथा किशोरहरू सामाजिक सञ्जाल, इन्टरनेट र सूचना प्रविधिसँग बढी अनुभवी हुने भएकाले यसै अनुसारको संस्कार र सिकाई हुन्छ, भनिन्छ । यसैको विश्वव्यापी ट्रेन्डको नतिजा थियो, सेप्टेम्बर ८ को जेज जी प्रदर्शन । जसले विध्वंशको रूप लिन कुनै बेर लागेन ।
६. जेन अल्फा (२०१३-२०२५) यस पुस्ताका बच्चाहरू कृतिम बौद्धिकतामा आधारित पुस्ताको रूपमा व्याख्या गरिन्छ । यिनीहरूको पालामा कृतिम बौद्धिकताको चरम विकास र उपयोग बढेको समय हो । यस पुस्ताले हरेक कुरा कृतिम बौद्धिकताबाट संभव छ भन्ने कुरा देखेर हुर्किरहेको छ । विश्वमा विभिन्न ठूला महामारीहरू पनि यस पुस्ताले देखेर, भोगेर हुर्किइरहेका छन्।
७. जेन बेटाः सन् २०२५ पछिका पुस्तालाई बेटा जेनेरेशनका रूपमा कल्पना गरिएको छ । यो पुस्ता जन्मदा नै फोर जी प्रविधि र अन्तरिक्ष तथा मंगल ग्रहमा मानव वस्तीको कल्पना गरिसकिएको छ । त्यसैले यस पुस्ताका लागि पृथ्वी बाहिरको संसारको कल्पना भैसकेको हुँदा यो पुस्ता चरम प्रविधि विकासमा हुर्केको हुनेछ ।
विश्वव्यापी ट्रेन्डः
जेन जी पुस्ताको माग थियो, नो करप्सन र एक्सपोज नेपो बेवीज् । यो आन्दोलन सीधै नेपालमा सिर्जित भएर सुरू भएको होइन । यो आन्दोलन डिजिटल प्ल्याटफर्मसँग सम्बन्धित छ । यो कुनै संगठित आन्दोलन नभएर केवल डिजिटल एक्टिभिष्टहरूको दबाब मात्रै हो, तथापि यसले विश्वमा धेरै देशको सरकार ढालीसकेको छ । केन्या, श्रीलंका, बाङ्लादेश, इन्डोनेसिया हुदै नेपालमा पनि त्यस्तै र सबभन्दा चाँडो दुई दिनमा नै ठूलो धनजनको नोक्सान हुदै सरकार नै ढल्यो । हाल इन्डोनेसियामा भने यो आन्दोलन जारी नै छ ।
राजनीतिमा नातावाद र चाकडीवाद मात्रै मौलाइरहेको अवस्थामा शक्ति र सत्तामा बसेकाहरूको छोराछोरीहरू र सर्वसाधारण जनताका छोराछोरीहरूको जीवनशैलीको तुलना गर्दै नेपो वेवीजहरूको बारेमा सामाजिक सञ्जालमा भिडियोहरू बनाएर एक्सपोज गर्ने ट्रेन्डिङबाट प्रभावित केही किशोरवय युवायुवतीहरू यसतर्फ आकार्षित हुदै जाँदा यसले सामाजिक सञ्जालमा विश्वव्यापी रूप लियो । यसरी शक्ति र सत्तामा बस्नेहरूको ऐशको विलाशी जीवनशैली र सर्वसाधारणहरूको दुख र संघर्षका कथाहरू बीचको तुलनाका बीच यस पुस्ताका युवा युवतीहरूमा तीब्र रूपमा असन्तुष्टि बढ्दै जाँदा यसले ठूलो आन्दोलनको आँधीवेहरी उराल्ने गरेको छ । यसरी आन्दोलनको वेग उर्लिनुमा नेताहरूको विभिन्न गल्ती र कमजोरीहरूले ट्रिगरीङ फ्याक्टरका रूपमा काम गर्ने गरेको देखिन्छ ।
इन्डोनेसियामा पुर्व राष्ट्रपति सुहार्तोका ज्वाईलाई राष्ट्रपति पदमा निर्वाचित गरेपछि सर्वसाधारण युवाहरूले नपाएर सधैं नेताका छोराछोरीलाई सीधै मौका दिएको भनेर जेन जी पुस्ताले आन्दोलन सुरू गरेको थियो । बाङलादेशमा स्वतन्त्र सेनानीका सन्तानले पाइरहेको आरक्षण कोटामा वृद्धि गर्ने हसिना सरकारको निर्णयले गर्दा विद्यार्थी आन्दोलनका कारण शेख हसिनाले आफू प्रधानमन्त्री रहेकै अवस्थामा देश छाडेर भाग्नु परेको थियो । श्रीलंकामा भने लामो समय राजापाक्ष परिवारको सत्ताभोग र देशको विकराल आर्थिक मन्दीले गर्दा यही पुस्ताले सुरू गरेको विद्रोह थेग्न नसकेर लखेटिनु परेको थियो । केन्या, जर्जिया, अमेरिकामा पनि विभिन्न विश्वविद्यालय तथा क्याम्पसहरूमा प्रदर्शनहरू भएका छन् । त्यसैले यो विश्वव्यापी रूपमा जेनजी पुस्ताहरूमाझ चलेको लहर हो यो आन्दोलन । त्यसैले यो विश्वव्यापी रूपमा युवाहरूमाझ लोकप्रिय हुदै गइरहेको छ र यसले धेरै वटा सत्ताहरू ढालीसकेको छ ।
नेपालमा सेप्टेम्बर ८ को पृष्ठभूमिः
नेपालमा भने यो सामाजिक सञ्जालमा जेनजीहरूमाझ लोकप्रिय हुदै गइरहेको थियो र जेनजीहरूले ओली सरकार र प्रमुद दलका नेताहरूको नेपो वेवीज पर्दाफास गर्ने र नो करप्सनका स्लोगनहरूले सामाजिक सञ्जाल भाइरल भइरहेका थिए । यसै क्रममा सामाजिक सञ्जालमा ओली सरकारको आलोचना बढेको देखेपछि नेकपा एमाले र प्र.म. केपी ओली नेतृत्वले आफ्ना पार्टीका साइबरसेनाहरू मार्फत जेनजीका अभियान र आलोचनाको प्रतिवाद गर्ने र जेनजी अभियन्ताहरूलाई धम्क्याउने कार्यले सामाजिक सञ्जाल तातिदै जाँदा जेनजीहरूले अकुपाई माइतीघरको आन्दोलन घोषणा गरे ।
यसक्रममा विवेक थपलिया नामको केपी ओली समर्थक र जेनजी अभियन्ताहरूबीचमा सामाजिक सञ्जालमा विवाद चुलिदै गयो । यसैको प्रतिरक्षाका लागि ओली सरकारले यसलाई रोक्नका लागि एउटा गलत निर्णय गर्यो, नेपालमा सामाजिक सञ्जालहरूमाथि प्रतिवन्ध लगाउने । यसका लागि लामो तयारीका साथ व्यवस्थित रूपले सर्वोच्च अदालतबाट आदेश जारी गरेर त्यसैका आधारमा सरकारले आधिकारिक रूपमा सामाजिक सञ्जालमाथि रोक लगायो, जसले यहाँका मिडिया र सामाजिक सञ्जालमा आश्रित व्यवसायीहरू आक्रोशित बन्न पुगे ।
केपी ओलीका साइबर सेनाहरूबाट अपमानित र आक्रोशित युवाहरू सेप्टेम्बर ८ का दिन प्रदर्शन गर्ने तयारी गर्दा यसमा अनेक स्वार्थ समूहहरूले यसको जस लिन र फाइदा उठाउन सकृय रहेका थिए । सेप्टेम्बर ८ का दिन माइतीघर, बबरमहल, बानेश्वरमा स्वःस्फूर्त रूपमा भेला भएका युवाहरूलाई ओली सरकारले चुनौतीको रूपमा लियो र फेरि अर्को गल्ती गर्यो, प्रदर्शनलाई दमन गर्ने । यही दमनका कारण भाद्र २४ को विकराल विध्वंशका वातावरण तयार भयो र सिंगो देश खरानीमा परिणत भयो ।
जेनजीका माग र अबको निकासः
जेनजी कुनै संगठित संस्था वा संगठन होइन । यो एक उमेर समूह हो, जून उमेर समूहका युवायुवतीहरूको जमात हो । यसले कुनै नेतृत्व पनि छैन । यो केवल एक भावनाले जोडिएको उमेर समूह हो, जसले उज्वल भविष्यको सपना देख्ने गर्दछन् । नेपालमा पनि भ्रष्टचार मौलाइरहेको एकपछि अर्को अचम्मित पार्ने समाचारहरू निस्किने क्रम बढ्दो छन र नातावाद र कृपावाद त यहाँका संस्कार नै भइसकेको छ । यसले गर्दा जेनजी पुस्तामाझ ओली सरकारप्रति उत्पन्न वितृष्णा बढ्दो थियो ।
यसरी वितृष्णता बढ्नुका प्रमुख कारण नेपाल प्रतिपक्ष विहिनता देखिनु हो । नेपालका दुई पुराना र ठूला दलहरू नै मिलेर सरकार गठन गर्नु र साना दलका नेताहरू छानी छानी अनेक मुद्दाहरू लगाइनु र जेल चलान गर्नुले नेपाल सरकार र नेपालको संसद प्रतिपक्ष विहिन जस्तो अवस्थामा थियो र यसले सत्ताधारी दलहरूको मनोमानी बढेको प्रष्ट देखिन्थ्यो । यस क्रममा जेनजी अभियन्ताहरूको विश्वव्यापी माग, नो करप्सन र एक्पोज नेपो वेवीले नेपालमा पनि चर्चाको चरमचुलीमा पुग्यो । सेप्टेम्बर ८ को माग भ्रष्टचारबाट मुक्ति र नातावादमा प्रतिवन्ध नै प्रमुख मागहरू थिए ।
सेप्टेम्बर ८ पछि प्रदर्शनमा सरकार पक्षको चरम दमनका कारण जून परिस्थिति बन्यो र सिंगो देश जल्यो र सरकार विहिन अवस्थामा पुग्यो, यसमा सत्ताधारी दलहरूले आत्म समिक्षा गर्नै पर्छ र जेनजीका मागहरू कसरी सम्बोधन गर्ने भन्ने विषयमा गम्भिर बन्नै पर्छ । तर, सरकार संविधानले दिएको वैधानिक बाटोबाट नै बन्नु पर्दछ । यसका लागि दलहरूले जिम्मेवार भएर अघि बढ्नु पर्दछ । देशमा सरकार विगठन भएको हो, संसद विगठन भएको छैन । संविधान खारेज भएको छैन । त्यसैले यही संविधानले दिएको बाटोबाट नै सरकार निर्माण गरेर अघि बढ्नु पर्दछ । जेनजी अभियन्ताहरूले भने जस्तो वा अरू कसैले भने जस्तो अन्तरिम सरकार बन्ने अवस्था यो होइन, किन भने जेनजी मागहरू संविधान खारेजी, संसद विगठन र व्यवस्था परिवर्तन कुनै पनि होइनन । जेनजीका माग भ्रष्टचार रोक्नु र सरकार परिवर्तन गर्नु हो । सरकारको निरंकुश कदमका विरूद्ध हो, व्यवस्था र संविधानका विरूद्ध होइन । त्यसैले संविधान भन्दा बाहिरबाट कुनै पनि अन्तरिम सरकार बनाउनु पर्ने अवस्था यो होइन ।
नेपाली सेनालाई अनुरोध
नेपाली सेना संवैधानिक सेना हो । यस विषम परिस्थितिमा नेपाल प्रहरीले मात्र सुरक्षा व्यवस्था कायम राख्न नसकेको कारणले नेपाली सेनाले यस परिस्थितिमा सुरक्षा जिम्मेवारी बहन गर्न दिइएको हो । देश सरकार विहिन भएको अवस्था हो, संविधान र संसद विहिन भएको अवस्था छैन । त्यसैले नेपाली सेनाले आफ्नो संवैधानिक दायित्व भुल्नु हुदैन । जेनजीसँग वार्ता र अन्तरिम सरकार गठन गर्ने विषयमा छलफल र राष्ट्रपतिलाई राजीनामा दिनुहोस, हामी सम्हाल्छौ भन्ने जस्ता विषयहरू बाहिर अइरहेका छन, त्यो नेपाली सेना र प्रधानसेनापतिले जननिर्वाचित संसद र संविधान सकृय रहेको अवस्थामा भन्न मिल्ने कुरा होइनन । यतिबेला देशको सुरक्षा व्यवस्था अस्थिर भएको अवस्थामा नागरिक समाज, राजनीतिक दलहरू र सुरक्षा निकाय कसैले पनि आफ्नो दायित्वको मर्यादा नाघ्न मिल्दैन । त्यसैले हामी सबै संयमित हौ र संवैधानिक बाटोबाट नै साझा निकास खोज्नु पर्दछ ।