काठमाडौं- संयुक्त अरब इमिरेट्स (युएई)मा सञ्चालन गरिएको वैधानिकीकरण श्रम स्वीकृतिमा उल्लेख्यरुपमा नेपालीहरुको उपस्थिति रहेको युएईस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।
दूतावासले अबुधाबीबाट करिब २०० किलोमिटरको दूरीमा रहेको अल-ऐन सहरमा शनिबार घुम्ती श्रम वैधानिकीकरण सञ्चालन गरेको थियो । जसमा वैधानिकीकरणका लागि धेरै नेपालीहरु आएको दूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ । युएईबाट पहिलोचोटि गत साउन ३ गतेबाट सुरु भएको वैधानिकीकरण प्रक्रियालाई क्रमशः विभिन्न स्थानहरुमा विस्तार गर्दै लगिएको छ । नेपालस्थित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको निर्देशिकाअनुसार सन् २०२४ को सेप्टेम्बर ३० सम्म रोजगारीका लागि भिसा प्राप्त भई युएईमा कार्यरत नेपालीहरुले यो प्रक्रियामा सहभागी हुन पाउँछन् । दूतावासले युएईका विभिन्न स्थानमा अवैधानिकरुपमा कार्यरत नेपालीहरुलाई वैधानिक बनाउने योजनाअनुरुप घुम्ती शिविर सञ्चालन गर्दै आएको छ ।
पासपोर्ट भएर पनि अन्य कागजात नहुँदा अवैधानिक ठहरिएका श्रमिकहरु यो प्रक्रियाबाट वैधानिक बन्न पाउँछन् । अवैधानिक हिसाबले काम गर्दा श्रमिकहरु ठगीमा पर्ने, कानुनी कारबाहीमा पर्ने, श्रमअधिकारको उचित उपयोग गर्न नपाउनेजस्ता समस्यामा पर्छन् । भिजिट भिसामा गएर लुकिछिपी बसेका, भिसाको म्याद सकिएपछि पनि स्वदेश नफर्किने, कम्पनी छोडेर अन्यत्र भाग्ने, गैरकानुनी बाटोबाट मुलुक प्रवेश गरेकालगायत श्रमिक यस्तो समस्यामा पर्छन् ।
यसरी अवैधानिक तवरबाट झण्डै १० लाख नेपालीहरु विभिन्न मुलुकमा बासोबास गरिरहेको हुनसक्ने श्रम मन्त्रालयकोे भनाइ छ । जुनसुकै तवरबाट रोजगारीमा गएर जस्तो अवस्थामा बसेको भए पनि उनीहरुलाई हेर्ने जिम्मा नेपाल सरकारकै भएको श्रममन्त्री शरतसिंह भण्डारीले बताउने गरेका छन् । वैधानिक प्रक्रियामा ल्याइसकेपछि उनीहरुको पनि हक अधिकार सुनिश्चित हुने र कुनै समस्या परे उद्धारका लागि सहज हुने मन्त्रालयले बताउँदै आएको छ । अवैधानिकरुपले बस्दा सम्बन्धित देशको सरकारले जुनसुकै बेला नेपाल फर्काइदिने डर हुन्छ भने वैधानिक भइसकेपछि अन्य श्रमिकसरह कानुनी अधिकार प्रयोग गर्न पाइन्छ । वैधानिकीकरणको प्रक्रियालाई क्रमशः अन्य मुलुकमासमेत विस्तार गर्दै लगिने मन्त्रालयले जानकारी दिएको छ ।

यस्तो छ वैधानिकीकरणको प्रक्रिया
वैधानिकीकरण श्रम स्वीकृतिका लागि वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मा फाराम भर्नुपर्छ । यस्तो फाराम निःशुल्क भर्न सकिन्छ ।
फाराम भर्दा व्यक्तिगत विवरण, पासपोर्ट नम्बर, नजिकको हकवालाको विवरण, रोजगारदाता कम्पनीको नाम, नम्बर, तथा अन्य आवश्यक विवरण उल्लेख गर्नुपर्छ । युएईस्थित दूतावासको सूचनाअनुसार फाराम भर्दा १८ वर्षदेखि ३५ वर्ष उमेर भएकाहरुका लागि तीन हजार ७०८ रुपैयाँ, ३६ देखि ५० वर्ष उमेर भएकाहरुलाई चार हजार ९३१ रुपैयाँ र ५१ देखि ६४ वर्ष उमेर भएकाहरुलाई नौ हजार ४६३ रुपैयाँ बिमा शुल्क तोकिएको छ । उक्त बिमा अवधि साढे दुई वर्षको हुन्छ ।
वैधानिकीकरण हुन चाहनेले कल्याणकारी कोषमा एक हजार ५०० रुपैयाँ जम्मा गर्नुपर्छ । साथै, सामाजिक सुरक्षा कोषमा प्रत्येक महिना दुई हजार ५९६ रुपैयाँ जम्मा गर्नुपर्ने हुन्छ । एक पटक श्रम स्वीकृति लिइसकेको व्यक्तिको हकमा फेमिसमा अनलाइन आवेदन दिएर श्रम स्वीकृति नवीकरण गर्न सकिन्छ । यसका लागि भने दूतावासमा जान पर्दैन ।