नेपाल र चीनको सम्बन्ध दीर्घकालीन र परिणाममुखी बनाउन नेपालको राजनीति स्थायी हुन जरुरी हुन्छ । यहाँको विकासले मूर्तरुप लिनका लागि स्थायी नेतृत्व आवश्यक छ । त्यस्तै, यहाँको जलविद्युत् परियोजनाहरुमा सहकार्य गर्न सकिन्छ । त्यस्तै, अबको समय आर्टिफिसियल इन्टेलिजेन्स(एआई) को भएकाले डिजिटल साझेदारीमा पनि नेपालले सम्बन्ध अर्थपूर्ण बनाउने अर्को आधार देखेको छु । नेपालले भर्खरै एआई नीति ल्याएको छ, जुन सकारात्मक छ । चीनले यस क्षेत्रमा निकै नै प्रगति हासिल गरिसकेकाले नेपालले पनि चीनबाट प्रविधि सिक्न सक्छ ।
नेपाल मेरो दोस्रो घर होभन्दा पनि हुन्छ । अहिलेसम्म लगभग २० पटकभन्दा बढी नेपाल आएको छु । अध्ययन अनुसन्धान गर्ने कामदेखि विभिन्न शैक्षिक गोष्ठी, सम्मेलन तथा कार्यक्रमहरुमा सहभागी भइरहेको हुन्छु । त्योभन्दा पनि नेपालको प्राकृतिक सौन्दर्यले मलाई पटक-पटक तानिहरन्छ । मैले नेपालका विभिन्न स्थानहरु घुमेको छु । काठमाडौं बाहिर जनकपुर, चितवन, लुम्बिनी, पोखरा, मनाङलगायतका ठाउँहरुमा पुगेको छु । सबैको आ-आफ्नै विशेषताहरु छन् । तथापि, लुम्बिनी मेरो मन पर्ने ठाउँमध्ये पर्दछ । यो भगवान् गौतम बुद्धको जन्मस्थल भएकाले पनि महत्वपूर्ण छ । बौद्ध धर्मसँगको नाता धेरै पुरानो हो चीनको । त्यहाँ गएर केही समय बिताउँदा मन शान्त हुन्छ ।
नेपाल प्राकृतिकरुपमा सुन्दर त छँदै छ । त्यसबाहेक विश्वसम्पदा सूचीमा रहेका विभिन्न दरबार क्षेत्रहरु, विश्वकै सर्वोच्च शिखर सगरमाथा, विभिन्न राष्ट्रिय निकुञ्जहरु, अनि यहाँको संस्कृति आफैंमा बेजोड छ । खासगरी लुम्बिनी भगवान् गौतम बुद्धको जन्मस्थल भएकाले चिनियाँ नागरिकहरुको आकर्षणको केन्द्र बनेको छ । मैले घुमफिरका क्रममा देखेको लुम्बिनी भौतिक संरचनामा ठिकै छ तर त्यहाँको सांस्कृतिक भावना आदानप्रदान गर्ने विषयमा पर्यटक लक्षित अझै हुन सकेको छैन । उदाहरणका लागि, एकपटक मेरा एक साथीलाई लिएर लुम्बिनी घुम्न गएका थियौं । उनले फर्किने बेलामा लुम्बिनीको अध्यात्मिक र मौलिक उपहार के लैजाने ? भनेर बजार घुम्दा केही नयाँ चिज पाइएन । र, अन्तिममा लुम्बिनीमा रहेको पिपलको रुखबाट खसेका केही पातहरु बटुलेर चिनोको रुपमा लिएर गए । नेपालले पर्यटकलाई मौलिक उपहार के दिएर फर्काउन सकिएला ? भन्नेतिर सोच्नसके व्यापार व्यवसाय पनि वृद्धि हुने र पर्यटक पनि खुसी हुने थिए । त्यस्तै, नेपाल भ्रमणमा पर्यटकले अन्य देशको तुलनामा निकै महँगोमा टिकट किन्नुपर्छ । टिकटमा सहुलियत हुनसके नेपाल भ्रमणमा आउने चिनियाँ नागरिकको संख्या निकै नै बढ्ने सम्भावना देख्छु ।

कुनै पनि मुलुकको सम्बन्ध प्रगाढ बनाउन भेटघाट र निरन्तर संवाद हुनु जरुरी छ । यसले एकअर्काको भावनात्मक सम्बन्धलाई अझै बढी मजबुत् बनाउन मद्दत गर्छ । कूटनीतिकरुपमा उच्चस्तरीय तहमा सरकार प्रमुखहरु वा राज्य प्रमुखहरुका बीच समयसमयमा भेटघाट हुनु त स्वाभाविक नै छ । त्यसबाहेक, नागरिकहरुबीचको सम्बन्ध पनि बाक्लिँदै गएको छ । यसले एकअर्कालाई राम्ररी बुझ्नका लागि मद्दत गर्दछ । चिनियाँ समाजलाई बुझ्नका लागि दुवै देशका विद्यार्थीहरुको आवतजावतले सहयोग गरिरहेको छ । पश्चिमा मुलुकका सञ्चारमाध्यमले चीनका बारेमा जुन प्रकारले व्याख्या गरिरहेका छन्, त्यो बुझाइ गलत हो भन्ने कुरामा उनीहरु विश्वस्त हुँदै गएका छन् ।
नेपाल र चीन कूटनीतिक सम्बन्ध सन् १९५५ अगस्ट १ देखि सुरु भएको हो । विगतदेखि नै यी दुई देशबीच सहअस्तित्व, सहकार्य, सम्मानपूर्ण र मैत्रीपूर्ण सम्बन्ध विस्तार हुँदै आएको छ । अहिले अगस्ट महिनाभरि नेपाल र चीनले कूटनीतिक सम्बन्ध विस्तार गरेको ७० वर्षको उत्सव मनाइरहेका छौं । अब आगामी वर्षलाई अझै कसरी स्वर्णिम र प्रगाढ बनाउने विषय महत्वपूर्ण हो । मेरो विचारमा नेपाल र चीनको सम्बन्ध दीर्घकालीन र परिणाममुखी बनाउन नेपालको राजनीति स्थायी हुन जरुरी हुन्छ । यहाँको विकासले मूर्तरुप लिनका लागि स्थायी नेतृत्व आवश्यक छ । त्यस्तै, यहाँको जलविद्युत् परियोजनाहरुमा सहकार्य गर्न सकिन्छ । त्यस्तै, अबको समय आर्टिफिसियल इन्टेलिजेन्स(एआई) को भएकाले डिजिटल साझेदारीमा पनि नेपालले सम्बन्ध अर्थपूर्ण बनाउने अर्को आधार देखेको छु । नेपालले भर्खरै एआई नीति ल्याएको छ, जुन सकारात्मक छ । चीनले यस क्षेत्रमा निकै नै प्रगति हासिल गरिसकेकाले नेपालले पनि चीनबाट प्रविधि सिक्न सक्छ ।
राजनीतिक, आर्थिक, शैक्षिक, सामाजिक तथा सांस्कृतिकलगायत सबै आधारहरुले नै दुई देशको कूटनीतिक सम्बन्ध बलियो बनाउँछन् । यी सबै बुँदा एकअर्कासँग अन्तर सम्बन्धित छन् । यद्यपि, मेरो विचारमा आर्थिक विकासको साझेदारीले अरु क्षेत्रको समृद्धिमासमेत टेवा पुर्याउन सक्छ । आर्थिक विकास र गरिबी न्यूनीकरणका सन्दर्भमा चीन आफूले जानेको कुराहरु नेपाललाई बाँड्न चाहन्छ । नेपाल भू–परिवेष्ठित देश भएकाले यहाँ बाहिरी कनेक्टिभिटी विस्तार गर्न अति महत्वपूर्ण छ । चीनको बेल्ड एण्ड रोड इनिसिएटिभ(बिआरआई) परियोजनाले वास्तवमा कनेक्टिभिटी विस्तार र यहाँको विकास सहयोगी बन्न सक्छ । तर बिआरआईका परियोजनाहरु जुन रुपमा अगाडि बढ्नुपर्ने हो, त्यो रुपमा बढ्न नसक्नुको पछाडि यस क्षेत्रमा बढ्दै गएको भू–राजनीतिक अवस्था पनि एउटा कारण हुन सक्छ । विकासका सन्दर्भमा सबै राजनीतिक दलहरु एक ठाउँमा आउन जरुरी छ ।
नेपाल दुई शक्तिशाली देशबीचको भौगोलिक हिसाबले सानो देश हो । तर, यसको आफ्नै अस्तित्व, सार्वभौमसत्ता र अलग्गै पहिचान छ । चीन र भारतबीचको छिमेकी सम्बन्ध सन्तुलन गर्न केही चुनौती नेपालले महसुस गरेको हुनसक्छ । मेरो विचारमा नेपालले छिमेकी मुलुकहरुबीच सदाचार र सहकार्यको भावना राखे खासै ठूलो समस्या होइन । सहकार्य गर्नका लागि सन्तुलन कायम गर्नुपर्ने समस्या हो जस्तो लाग्दैन । यस्तो कूटनीतिक अभ्यास नेपालले गर्दै आइरहेको पनि देखिन्छ । पछिल्लो समय चीनमा नेपाली विद्यार्थीहरु अध्ययन गर्नेक्रम बढ्दो छ । यो हाम्रा लागि सुखद पक्ष हो । विभिन्न तालिम, सेमिनार र छलफलमा भाग लिने युवा जमात तीव्र छ । विद्यार्थीहरु ज्ञान र संस्कृति आदानप्रदान गर्ने महत्वपूर्ण स्रोत भएकाले शैक्षिक विकासले दुवै देशको सम्बन्ध जोड्न मद्दत गर्छ । एकअर्कालाई बुझ्न पनि यस्तो खालको गतिविधिहरु आवश्यक छ ।
नेपाल प्राकृतिक, सांस्कृतिक, धार्मिक हिसाबले सुन्दर छ । यससँगै अर्को रोचक पक्ष यहाँको बहुआयामिक समाज हो । यहाँको समाजमा खुला रुपमा गरिने वैचारिक बहस, छलफल र अन्तरक्रियात्मक संस्कृति मलाई राम्रो लाग्छ ।
(प्राध्यापक हुआङ झेङ डुओ चीनको सिचुआन विश्वविद्यालयको नेपाल अध्ययन केन्द्रका निर्देशक हुन् । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालय स्कूल अफ एडभान्स्ड इन्टरनेसनल स्टडिजमासमेत अध्ययन गरेका डुओ चीन र दक्षिण एसियाली देशहरूबीचको सम्बन्धबारे अध्ययन अनुसन्धानकर्ताका रुपमा सक्रिय छन् । उनका तीन पुस्तकहरू र दर्जनौं अनुसन्धानात्मक लेखहरु प्रकाशित छन् । चीन–नेपाल सम्बन्धको ७०औं वर्षको अवसर पारेर भइरहेका विभिन्न कार्यक्रममा सहभागिता जनाउन काठमाडौं आएका निर्देशक डुओसँग नेपाल–चीन सम्बन्धका विभिन्न पक्षमा केन्द्रित रही राससले गरेको कुराकानीमा व्यक्त विचार)