काठमाडौं- गत आर्थिक वर्ष २०८१/८२ मा हालसम्मकै धेरै रेमिट्यान्स (विप्रेषण) भित्रिएर नयाँ इतिहास रचेको छ । साथै, गत आवको अन्तिम महिना असारमा एक महिनाको अवधिमा सबैभन्दा धेरै रेमिट्यान्स भित्रिने रेकर्डसमेत बनेको छ ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत आवमा कूल १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स मुलुकमा भित्रिएको हो । यो रकम एक वर्षभित्र भित्रिएको हालसम्मकै उच्च हो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कूल १४ खर्ब ४५ अर्ब रेमिट्यान्स भित्रिएको थियो । जसअनुसार अघिल्लो आवको तुलनामा गत आवमा दुई खर्ब ७७ अर्ब ९५ करोड रुपैयाँले रेमिट्यान्स बढेको छ । गत आवको रेमिट्यान्स वृद्धिदर १९.२ प्रतिशत कायम भएको छ । आव २०८०/८१ मा यस्तो वृद्धिदर १६.५ प्रतिशत थियो । राष्ट्र बैंकका अनुसार गत आवको अन्तिम महिना असारमामात्रै विदेशबाट एक खर्ब ८९ अर्ब ११ करोड रुपैयाँ रेमिट्यान्स आएको छ । यो एकै महिनामा भित्रिएको हालसम्मकै उच्च रकम हो । अघिल्लो आवको असारमा भित्रिएको रेमिट्यान्स एक खर्ब १७ अर्ब ७८ करोड रुपैयाँमात्र थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.३ प्रतिशतले बढेर १२ अर्ब ६४ करोड पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । आव २०८०/८१ मा यस्तो आप्रवाह १४.५ प्रतिशतले बढेर १० अर्ब ८६ करोड पुगेको थियो ।
वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या बढ्दा मुलुकमा भित्रिने रेमिट्यान्सको आकार बढेको हो । गत आवमा कूल पाँच लाख पाँच हजार ९५७ जना नयाँ श्रमिकहरु संस्थागत र व्यक्तिगत माध्यमबाट रोजगारीमा गएको तथ्यांक छ । यसैगरी तीन लाख ३३ हजार ३०९ जनाले श्रम स्वीकृति नवीकरण गरेर रोजगारीमा गएका छन् । यसरी उक्त आवमा आठ लाख ३९ हजारभन्दा बढी श्रमिक विभिन्न मुलुकमा पुगेका थिए । अघिल्लो आव २०८०/८१ संस्थागत र व्यक्तिगत श्रम स्वीकृति लिएर चार लाख ६० हजार १०२ जना रोजगारीमा गएका थिए । उक्त आवमा पुनः श्रम स्वीकृति लिएर जानेहरुको संख्या दुई लाख ८१ हजार १९५ थियो । गत आवको पहिलो महिना साउनमा एक खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो । यसैगरी भदौमा एक खर्ब २६ अर्ब २१ करोड, असोजमा एक खर्ब ४४ अर्ब १७ करोड, कात्तिकमा एक खर्ब १४ अर्ब ३२ करोड, मंसिरमा एक अर्ब १८ अर्ब ८० करोड, पुसमा एक खर्ब २२ अर्ब ६५ करोड रुपैयाँ भित्रिएको तथ्यांक छ ।

गत आवकै माघ महिनामा एक खर्ब ३७ अर्ब पाँच करोड रुपैयाँ, फागुनमा एक खर्ब ५१ अर्ब १९ करोड, चैतमा एक खर्ब ३९ अर्ब ५४ करोड, वैशाखमा एक खर्ब ६५ अर्ब ३० करोड र जेठमा एक खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यस अवधिमा सबैभन्दा बढी विप्रेषण असार र सबैभन्दा कम कात्तिकमा आएको देखिन्छ । पछिल्लो समय रोजगारीका लागि विदेसिनेको संख्या बढ्नुका साथै वैधानिक माध्यमबाट रकम पठाउन थालेका कारण रेमिट्यान्स बढ्न पुगेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । अझै हुण्डीलगायत अवैधानिक माध्यमबाट भित्रिने रकम यो तथ्यांकमा समेटिएको छैन । रेमिट्यान्सले मुलुकको अर्थतन्त्रमा २५ प्रतिशतभन्दा बढी योगदान गरिरहेको सरकारी तथ्यांकहरुमा देखिन्छ ।
रेमिट्यान्स उच्च हुँदा उत्साह जगाए पनि यसलाई दीर्घकालीन स्रोत बनाउन नहुने अर्थविद्हरुको जोड छ । मुलुकमै रोजगारी सिर्जना गरेर युवा जनशक्तिको पलायन रोक्नुपर्नेमा सबैले जोड दिने गरेका छन् । सरकारले स्वदेशमै रोजगार दिलाउने बताए पनि युवाहरुलाई रोक्ने वातावरण बनाउन सकेको छैन । जसकारण अहिले दैनिक दुई हजारभन्दा बढी नेपाली युवा रोजगारी र शिक्षाका लागि विदेसिने गरेका छन् ।