भृकुटीमण्डपमा प्रदर्शनमा राखिएका ८० प्रतिशतभन्दा बढी ब्राण्डका गाडीहरु आयातीत हुन् । त्यहाँ नेपालीकोे केही अपनत्व छैन । त्यस्ता चिज, त्यो पनि करोेडौं पर्ने विलासी कार, ‘उड्ने कार’ देखेर दंगदास पर्ने हो भने प्रमज्यू यो देश खोक्रो हुने छ । देशको ‘ब्यालेन्स सिट’ गडबड हुने छ । देश ऋणै ऋणमा डुब्ने छ । अहिले नै जिडिपीको ४० प्रतिशत देशको ऋण भइसक्न लागेको छ । त्यो सानो कुरा होइन । त्यो ऋण कसरी तिर्ने, कहाँ-कहाँ खर्च भयो त्यत्रो पैसा ? सामाजिक तहमै त्यसको अडिट गर्नुपर्ने बेला भएन र ?
गाडी साहुहरुको संगठन नाडा अटोमोबाइल एसोसिएसनको ‘१७औं नाडा अटो शो’ मंगलबारदेखि भृकुटीमण्डपमा सुरु भएको छ । प्रर्दशनीको आर्कषणको रुपमा चीनबाट ल्याइएको ‘उड्ने कार’ हेर्न अवलोकनकर्ताहरुको घुइँचो देखिन्छ । गुडियाझैं सजाइएको ‘उड्ने कार’ हेरेपछि कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीसमेत दंगदास परे । र, भने, ‘संसारमा प्रविधिले अनौठो प्रगति गर्याे ।’ तर नेपालमा पनि आफ्नै कला र प्रविधि विकास गरेर गाडीहरु उत्पादन गर्नुपर्छ उनले भनेनन् ।
हुन त आफ्नै देशमा एसेम्बल गरी ब्राण्डिङ गरिएको मुस्ताङ गाडी चढेर स्वदेशी उत्पादनलाई प्रोत्साहन गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईजस्ता नेता पनि त छन् । तर प्रधानमन्त्री ओलीको त्यो खालको चेतना देखिएन । किनकि, उनी दलाल पुँजीपति र बिचौलियाको घेरबन्दीमा छन् भनिन्छ । प्रधानमन्त्रीको किचेनसम्म बिचौलियाकै राफताप रहेको सत्ता साझेदार दल नेपाली कांग्रेसकै कतिपय प्रभावशाली नेताहरुले बताएकै हुन् । भृकुटीमण्डपमा प्रदर्शनमा राखिएको ‘उड्ने कार’ नेपालीहरुले हेरे, छुन पाएनन्, चड्ने धेरै परको कुरा होला । ‘उड्ने कार’ देखाएर दर्शक भित्र्याउने गाडी साहुहरुको गज्जबको फर्मुला पनि हो । त्यसमाथि समाजवादको बाजा बजाउँदै आएका कम्युनिस्ट प्रधानमन्त्रीले उद्घाटन नै गरिदिएर हौसला भरे । मानौं, अब समाजवाद ‘उड्ने कार’सँगै आउँछ । अर्का पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले त प्रर्दशनीको अवलोकन गर्दै ‘उड्ने कार’ भित्र बसेरै हेरे । सायद समाजवादको अनुभव भयो पनि होला ।
एकातिर देशमा निरपेक्ष गरिबी २० प्रतिशत हाराहारी छ, एउटा तप्का भोक, रोगले यो २१औं शताब्दीमा पनि प्रताडित छ । अर्थतन्त्र पूरै जर्जर र परनिर्भर छ । गाडी, घोडाको त के कुरा, जनइदेखि सियोसम्म विदेशबाटै आयात गर्नुपरेको विडम्बना छ । अर्कोतर, गाडी साहुहरुले ‘उड्ने कार’ प्रदर्शन गरेर कम्युनिस्ट प्रधानमन्त्रीको समाजवादको सपनामा उडान भरेका छन् । के उड्ने कार देखाएर आफ्ना आयातीत महँगा गाडीहरु बेच्न लागिपरेका साहुजीहरुलाई प्रोत्साहन गरेर देशको अर्थतन्त्र आत्मनिर्भर बन्ला ? ती साहुजीहरुले आयात गर्ने महँगा विलासी गाडीहरुमार्फत देशको ठूलो धनराशी बाहिरिएको छ । वार्षिक व्यापार घाटा १४-१५ खर्ब छ । देशको आफ्नै मौलिक उत्पादन केही छैन । तर पनि कम्युनिस्ट पार्टी भन्नेहरुसँग एक थान समाजवाद पुग्ने सिद्धान्त कथा छ । त्यो जबज होस्, माओवाद होस् या अनेकन कलेबरका वादहरु हुन् । न ती व्यावहारिक छन् न कहिल्यै लागू हुन्छन् । हात्तीका देखाउने दाँतजस्ता भएका छन् ।
ठण्डा दिमागले सोचौं त, हामी नेपालीहरुको आर्थिक हैसियत करौडौं बजार मूल्य भएका महँगा विलासी गाडी चढ्ने छ त ? सीमित धनाड्यहरु होलान् । तर अहिले त आमरुपमा विलासी गाडीहरुको देखासिखी बढिरहेको छ । जसले भ्रष्टाचार, ठगी, करछली, वित्तीय अपराध अथवा अनेक रङका कूकर्मलाई प्रश्रय दिइरहेको छ । जसरी हुन्छ कमाउने र विलासी गाडीमा रमाउने भन्ने खालको सोचहरु देखिन्छ । सरकार आर्थिकरुपमा खोक्रो भइसकेको छ । विकास बजेटभन्दा वित्तीय व्यवस्थापनतर्फको खर्च रकम बढिरहेको छ । ३५० अर्बभन्दा बढी रकम त सरकारले वार्षिकरुपमा ऋणको सावाँ–ब्याज छुट्याउन खर्च गर्नुपरेको छ । सरकारले राजस्व रकम संकलन गर्न पनि विलासी गाडीहरुको आयातमा सघाइरहेको छ ।
अहिले पनि देशमा ६० लाखभन्दा बढी मानिस बिहान के खाने अनि बेलुकी के खाने भन्ने अवस्थामा छन् । ‘उड्ने कार’ का साहुजीहरुको पछि लाग्ने कि ती गरिब, निमुखाहरुको कसरी स्तरउन्नति गर्ने भन्नेतर्फ सोेच्ने हो प्रमज्यू ? अब त सँघारमै दसैं, तिहारजस्ता पर्व आएका छन् । एकाथरी मान्छे करोडौंका कारमा चडेर घरगाउँ सफारी गर्ने र बाटोमा हिँडेका गरिब गुरुवाहरुलाई हिलो छ्याप्दै हिँड्नेबेला आउँदै छ । तर संविधानमै समाजवाद भनेर लेखिए पनि घुमाउरो पाराको सामन्तवाद झन् बढी मडारिएको छ । बोल्न नसक्ने, पुँजी नभएका मानिसहरु, संघ सस्थाहरु प्रताडित छन् । बर्चस्ववालाहरु, दलाल पुँजीपतिहरु, बिचौलियाहरुको देशमा रजगज छ । शिक्षा, स्वास्थ्य, व्यापार, ठेक्कापट्टा जहाँ जता पनि छलछाम गर्ने, धूर्त, टाठाबाठा, बिचौलियाहरुको रजगज देखिन्छ । अनि आउँछ समानता र समाजवाद ? कम्युनिस्ट नेताले चलाएको सरकार यस्तै हुन्छ ? किन गरिब, किसानलाई अपनत्व हुनेगरी बजेट तथा नीति कार्यक्रम आउँदैन ? किन असली किसानले वित्तीय संघ सस्थाबाट सजिलै ऋण पाउँदैनन् ? किन असली किसानले अनुदान पाउँदैनन् ? त्यता पो सोच्ने हो कि पिएम ज्यू ? सरकार भनेको अलि बढी कमजोर वर्गको भरोषाको केन्द्र हुनुपर्छ नि । गरिब तथा तल्लो वर्गको उत्थान नगरी तपाईंले भन्याजस्तो ‘सुखी नेपाली, समृद्ध नेपाल’ आउँदैन पिएमज्यू । आज गाउँघरमा अलिअलि देखिएको सुख, समृद्धि सबै विदेसिएकाहरुले पठाएको रेमिट्यान्सले भरथेग गर्दा हो ।
त्यसकारण प्रधानमन्त्रीले गाडी साहुहरुलाई नेपालमै गाडी बनाउन लगाउनुपथ्र्यो । त्यसका लागि सरकार सहयोग गर्न तयार छ, विदेशी महँगा गाडी नचढौं भन्नुपथ्र्यो । तर, त्यस्तो भन्न सकेनन् प्रधानमन्त्रीले । ५० लाखभन्दा माथिल्लो दामका गाडीहरु नेपालमा बेच्नै नदिए पनि हुन्छ । किनकि यो गरिबी र असमानताले जकडिएको देशमा त्यस्ता विलासी गाडीहरुले गरिबमाथि नै भयंकर व्यंग गर्छ । विदेशबाट आयात गर्ने, बीचको मार्जिनमा रमाउने व्यापारीहरुले सहयोग गर्ने भनेको विदेशको समृद्धिलाई हो । त्यो खालको व्यापारले देश उँभो पनि लाग्दैन । दलाल पुँजीपतिहरुलाई दुरुत्साहन र स्वदेशी राष्ट्रिय औद्योगिक पँुजीपतिहरु जसले रोजगारी र आफ्नै देशमा उत्पादन बढाउन सहयोग गरेका छन् उनीहरुलाई प्रोत्साहन गरौं । उदारवादको नाममा पूरापुर खुला गरेर देशलाई विदेशीको बजारमात्र बनाउने हो भने हामी कसरी धनी हुन सक्छौं ? कसरी रोजगारी सिर्जना हुनसक्छ ?
भृकुटीमण्डपमा प्रदर्शनमा राखिएका ८० प्रतिशतभन्दा बढी ब्राण्डका गाडीहरु आयातीत हुन् । त्यहाँ नेपालीकोे केही अपनत्व छैन । त्यस्ता चिज, त्यो पनि करोेडौं पर्ने विलासी कार, ‘उड्ने कार’ देखेर दंगदास पर्ने हो भने प्रमज्यू यो देश खोक्रो हुने छ । देशको ‘ब्यालेन्स सिट’ गडबड हुने छ । देश ऋणै ऋणमा डुब्ने छ । अहिले नै जिडिपीको ४० प्रतिशत देशको ऋण भइसक्न लागेको छ । त्यो सानो कुरा होइन । त्यो ऋण कसरी तिर्ने, कहाँ–-कहाँ खर्च भयो त्यत्रो पैसा ? सामाजिक तहमै त्यसको अडिट गर्नुपर्ने बेला भएन र ?
तीन करोड नेपालीको प्रतिधित्व गरेर सत्तामा पुग्नुभएको तपाईं प्रधानमन्त्रीले साहुजीहरुको चिन्ता गर्ने होइन नि ! उनीहरुको आम्दानीमा थोरै गिरावट आएछ भने केही फरक पर्दैन तर देशमा असमामनता र गरिबीचाहिँ घटाएर देखाउनुस् न । छिमेकमा तपाईंकै छेको सत्तामा आएका राष्ट्रपति सी चिनफिङले गत १० वर्षबीच ४० करोड जनतालाई गरिबीको रेखाबाट एकैचोटि शून्यमा झारेर चमत्कार गरे, तपाईंहरुले कति झर्नु भो ? तपाईंहरुको भजनकीर्तन, गाउने र आसेपासेहरु उँभो लागे, अरू किन पछि परे ? त्यसको पनि हिसाव राख्नुस् पिएमज्यू । किनकि, तपाईं तीन करोड नेपालीको पिएम हो । एउटा कुरा थाहा पाउनुस् पिएमज्यू, संसारकै धनी एलन मक्सहरुको कार (टेस्ला) खरिद गर्ने नेपालीको आम औकात हुँदै होइन । र, उनका गाडी घोडाहरुको प्रहर्सल नेपालमा जरुरी पनि होइन । नेपालमा नेपाली उत्पादनहरुको प्रहर्सल जरुरी होे । बरु पाडापाडी किनेर किसानलाई बाँड्ने जो कुरा गर्नुहुथ्यो, त्यो जरुर सही छ । बाँड्नुस् त्यो राज्यकै पैसाले बाँडे पनि त्यसले देशलाई नै फाइदा गर्छ । उत्पादन र निर्यातलाई टेवा दिन्छ । \
३५२ बिलियन डलरका मालिक एलन मक्स जो पूरै नेपालको जिडिपीको आकार (४५ बिलियन डलर) भन्दा आठ गुणा धनी छन्, त्यस्ताहरुको ब्राण्ड बेच्ने अभियानमा तपाईं प्रधानमन्त्रीले किन प्रोत्साहन गर्ने ? के ‘उड्ने कार’ भित्रियो, अब समाजवाद आउँछ त ? सोचौं, व्यावहारिक र यथार्थपरक भएर सोचौं । हामी हाम्रा लागि अघि बढ्ने कि सीमित पुँजीपति र विदेशीका लागि ?