सम्बन्धित निकायबाट जात्रा निकाल्नका लागि चाहिने आर्थिक, भौतिक र नैतिक सहयोग पहिलाकै जसरी उपलब्ध हुन नसकेका कारण कतै ऐतिहासिक महत्व बोकेका जात्राहरु लोप हुने त हैन भन्ने स्थानीयहरुमाझ चिन्ता उब्जिएको पाइन्छ ।
काठमाडा उपत्यकापछि जात्रैजात्राको सहर भनेर चिनिने पाल्पाको तानसेनमा मनाइँदै आएको ऐतिहासिक गाईजात्रा, रोपाइँजात्रा, गणेशजात्रा, भिमसेनजात्रा, बाघजात्रालगायत यसपटक पनि विविध कार्यक्रमका साथ धुमधामसँग मनाइएको छ । सबैभन्दा पछिल्लो जात्रा भगवतीजात्रा हो । पाल्पामा आफ्नै ऐतिहासिक महत्व राख्ने यस्ता जात्रा चाडपर्वप्रति पछिल्लो समय सम्बन्धित निकायको ध्यान पुग्न नसक्दा लोप हुँदै जान थालेको अनुभव स्थानीयबासीमा पाइन्छ ।
देशका विभिन्न ठाउँमा आ-आफ्नै कला संस्कृति रहनसहन चालचलन र परम्परा छन् । यहाँका विभिन्न जातजाति भाषाभाषीका मानिसहरुका विभिन्न प्रकारका चाडपर्वहरु छन् । यस्ता चार्डपर्वहरुमा उनीहरुका आ-आफ्नै रीतिथिति र चालचलनहरु झल्किन्छन् । यी सबै हाम्रा सांस्कृतिक सम्पदा हुन् । विभिन्न चाडपर्वहरुका आ-आफ्नै आध्यात्मिक, धार्मिक र सामाजिक विशेषताहरु पाइन्छन् । यस्तै विशेषता भएका चाडपर्व गाईजात्रा, भगवतीजात्रा र अन्य जात्राहरु पाल्पामा धेरै समय अगाडिदेखि मनाइँदै आएको पाइन्छ । यी पर्वहरुले पाल्पामा आफ्नै महŒव राखेको पाइन्छ । तथापि, यस्ता चाडप्रति सम्बधित निकायको ध्यान नपुग्दा प्रत्येक वर्ष जात्राहरुको स्तर खस्कँदै गएको आभास हुन्छ ।
यहाँ मनाइने कतिपय जात्रा र उत्सवहरु देवीदेवताका नाममा र देवस्थलसित सम्बद्ध रहेको पाइन्छ । यस्ता पर्वले परिवारका सदस्य, नाता कुटुम्ब र मित्रजनसँग भेटघाट र सद्भाव पनि बढाउन मद्दत गर्दछन् । पाल्पा सदरमुकाम तानसेनमा विशेषगरी नेवार समुदायको बसोबास भएकाले उक्त समुदायमा बढी लोकप्रिय मानिने गाईजात्रा पर्व यहाँ काठमाडौंमा जस्तै धुमधामले मनाउने परम्परा छ । सबै ठाउँझैं जनैपूर्णिमाको भोलिपल्ट भाद्र कृष्ण प्रतिपक्षका दिन यहाँ पनि यो गाईजात्रा पर्व मनाइन्छ । यस जात्रामा गाईलाई नै सिँगारी बाजागाजासहित तानसेन बजार परिक्रमा गराइन्छ । गाईलाई दूध, फलफूल खुवाउने र दर्शन गर्नेहरुको भीड लाग्ने गर्दछ । राति पनि निर्गुण भजन, बास्सा, नाच निकालिने परम्परा छ ।
त्यस्तै कतिपय मानिसहरु नक्कली गाई, जोगी बनी व्यंग्य गर्दै तानसेन नगर परिक्रमा गर्दछन् । कतिपय स्थानीय कलाकारहरुले नाचगान र नाटकका माध्यमबाट बजारका चोक गल्लीहरुमा मुलुकका विकृति-विसंगतिलाई लिएर सांसद, मन्त्री, प्रधानमन्त्री र उच्च तहका स्थानीय तथा राष्ट्रियस्तरका प्रशासक, नेताहरुको भण्डाफोर गर्दै व्यंग्य प्रदर्शन गर्दछन् । तर यी प्रचलनहरु विभिन्न कारणले हराउँदै जान थालेको छ । यसै क्रममा यहाँ एक सातासम्म बाघजात्रा, भिमसेनजात्रा, गणेशजात्रा, रोपाइँजात्रा नारायणजात्रा र भगवतीजात्रा निकाल्ने परम्परा छ ।भगवतीजात्राको अघिल्लो दिन कृष्ण जन्माष्टमीका दिन रातभर जागराम बस्ने गरिन्छ । राति लाखे नाच्ने र राँगा काट्ने चलनलाई यहाँ महŒवपूर्ण रुपमा लिइन्छ । यो पटक भदौ १ गते अथात् आज भगवतीजात्रा परेको छ । केही वर्षयता गठेमंगलका दिनदेखि लाखे नचाउने परम्परा लोप हुँदै गएकोमा यहाँका स्थानीय, बुद्धिजीवी तथा संस्कृतिप्रेमीहरुले दुःख व्यक्त गर्न थालेका छन् । र, कतै यहाँको संस्कृति हराउने त हैन ? भनी चिन्ता व्यक्त गरेका छन् ।
यहाँ मनाइने भगवतीजात्राको एउटा आफ्नो छुट्टै ऐतिहासिक पक्ष पनि छ । वि.सं. १८७१-७२ को नेपाल अंग्रेज युद्धपश्चात तानसेनकी भगवतीको नाउँ रणा उजीरेश्वरी हुन गएको थियो । पाल्पाका तत्कालीन तैनाथवाला कर्णेल उजिरसिंहको नेतृत्वमा नेपाली फौजलाई अंग्रेजहरुसँग आफ्नो देशको स्वतन्त्रता रक्षाका लागि युद्ध गर्नुपरेको थियो ।साम्राज्यवादी अंग्रेजहरुको विशाल फौज नेपाल अघिराज्यलाई निल्न तत्पर थियो । उक्त संकटको घडीमा पाल्पाका तैनाथवाला कर्णेल उजिरसिंहले युद्धमा जानुपूर्ण यिनै अष्ठभुजा भगवतीको आरधना र प्रार्थना गरेका थिए । यिनैको शक्तिबाट उनले वाचा र भाकल गरेका थिए । र, त्यसै बेलादेखि यहाँ भगवती जात्राको थालनी भएको तथ्य पाइन्छ । पछि शिलाको अष्ठभुजा भगवतीको मूर्ति भएको ठाउँमा विशाल मन्दिरको स्थापना गरियो जुन हालको तानसेन भगवती मन्दिर हो । जहाँ दैनिक नित्य पूजाआजा पनि गरिन्छ । जसको रेखदेखका लागि समिति गठन गरिएको छ ।
भगवतीजात्राको दिन यहाँका सबै तह र तप्काका व्यक्ति तथा विभिन्न संघसंस्थाका प्रतिनिधि, शिक्षक र विद्यार्थीहरु भेला भई सैनिकद्वारा भगवतीलाई सलामी अर्पण गरी भगवतीको रथलाई नगर परिक्रमा गराउने प्रचलन छ । यस दिन सार्वजनिक बिदा दिइने गरिन्छ । यहाँको भगवती र गाईजात्रामा जिल्लाका ग्रामीण भेगका व्यक्तिहरु विभिन्न भेषभूषा र गरगहनामा सजिएर हजारौंको संख्यामा उपस्थित भई जात्रा हेरी दर्शन गर्ने गर्दछन् । सम्बन्धित निकायबाट जात्रा निकाल्नका लागि चाहिने आर्थिक, भौतिक र नैतिक सहयोग पहिलाको जसरी उपलब्ध हुन नसकेका कारण कतै ऐतिहासिक महत्व बोकेका यी जात्राहरु लोप हुने त हैन भन्ने स्थानीयहरुमाझ चिन्ता उब्जिएको पाइन्छ । यस्ता ऐतिहासिक जात्रा, कला संस्कृति, मेला पर्वहरुलाई सबै मिलेर संरक्षण गर्न लाग्नु हामी सबैको कर्तव्य हो ।