यतिबेला देशको अवस्था अस्थिर छ । जताततै अराजकता छ । त्यसैले आमजनतालाई देशको अवस्थाप्रति चित्त बुझेको छैन । देश चलाउन नजान्ने, देशको माया नभएका, जनताको माया नभएकाको हातमा देश पर्न गएकोले देश चिन्ताजनक अवस्थामा छ । देशका होनाहार युवालाई विदेसिन बाध्य पारेर केही दलले शासन सञ्चालन गरिरहेका छन् । देशमा उद्योगधन्दा व्यापार, व्यवसाय, आम्दानीका स्रोतहरु सुक्दै गएको अवस्था छ । देशका शिक्षित वर्गले अनुभव र पढेर सिकेका विषय विदेशमा प्रयोग गरिरहेका छन् ।
देशमा कुनै कलकारखाना उद्योगधन्दा नभएकाले शिक्षित जनशक्तिले आफूले सिकेका सीप स्वदेशमा प्रयोग गर्न पाएनन् । राजनीतिक नेताहरु विदेशीको इशारामा चलिरहेका छन् । वैदेशिक नीति समान देखिँदैन । दुई ठूला देशबीचको तरुलको रुपमा बसेको सानो देशलाई ठूला देशले थिचोमिचो गरेको अवस्था छ । राजनीतिक दलका प्रमुख नेताहरु देशको माया नगरी विदेशी दलाली गरेर पैसा आर्जन गर्ने धन्दामा लागेका देखिन्छ । विभिन्न सामाजिक संघ संस्था, अदालत, प्रहरी प्रशासन, विभिन्न कार्यालयहरुलाई मुठीमा राखेर आफू अनुकूल निर्णय गराइरहेका छन् । आफ्नो हैकम चलाइरहेका छन् । वडादेखि केन्द्रसम्मका जनतालाई विभिन्न प्रलोभनमा पारेर भोट बटुलिरहेका छन् । त्यसैले गरिब जनता बाँच्नसक्ने अवस्था नै देखिँदैन । राज्यका विभिन्न क्षेत्रहरु विचौलियाको हातबाट चलिरहेको छ । न्याय पाउने ठाउँमा न्यायका लागि अनुरोध गर्न जाँदासम्म आर्थिक चलखेल भइरहेको अवस्था छ । त्यसैले गरिब जनता न्यायिक क्षेत्रबाट विमुख हुनुपर्ने अवस्था छ ।
यसले देशको समग्र स्थिति दयनीय र चिन्ताजनक अवस्थामा पु¥याएको छ । देश सामाजिकरुपमा विकृत बन्दै गएको छ । यदि देश राम्रो अवस्था पाएको भए नेपाल स्विट्जरल्याण्ड बन्ने थियो । खालि ठूला दलहरुले प्रजातन्त्रको नाममा जनतालाई ठगे । अहिले पनि ठगिरहेका छन् । देशका युवा शक्तिलाई यहाँ काम गर्न नबस्ने वातावरण निर्माण गर्ने र यहाँ बसेका सोझा निमुखा जनतालाई झुक्याएर भ्रष्टाचार गरिरहेका छन् । कलकारखाना बेचे, जताततै अराजकता निम्त्याए । सरसर्ती भन्नुपर्दा प्रमुख दलकै कारण देश असफलता उन्मुख छ । हरेक क्षेत्रमा प्रमुख दलका नेताहरुले जनता झुक्याएर लुटिरहेका छन् । त्यसैले प्रमुख दलका नेताले लुटेको सम्पत्ति जफत गर्नुपर्छ । देश विकासमा लगाउनुपर्छ । प्रमुख दलका नेताहरु सत्तामा आउँदा सीमित उनका नेता कार्यकर्ता रमाए होलान् तर आमजनता खुसी भएको अवस्था छैन ।
प्रमुख दलका नेताहरुले गरेको काण्डको बेलिविस्तार लगाएर साध्य छैन । कसरी सत्तामा जाने र देश लुट्ने भन्ने मनसायमा मात्र ठूला दलका नेता लागेका देखिन्छ । यो अवस्थामा भन्ने हो भने जनता समाजवादी पार्टी (जसपा) नेपाल सोझाहरुले भरिएको पार्टी हो । देशभक्तहरुले भरिएको पार्टी हो । उपेन्द्र यादवजस्ता देशभक्त जनभक्त नेता यही पार्टीमा रहनुभएको छ । त्यसो त जसपा नेपाल जन्मेदेखि नै राष्ट्रवादी पार्टी हो । अरु पार्टीले केही गर्न सक्दैनन् भन्ने बुझेर नै हाम्रो पार्टीप्रति जनआकर्षण बढेको हो । अब देश जसपा नेपालको हातमा आउँदै छ । देश र जनताको माया गर्ने, शिक्षित व्यक्ति, अनुभवले भरिपूर्ण भएको, स्थानीय जनताको समस्या बुझेको, निःस्वार्थ भावनाले देश चलाउनुपर्छ भन्ने असल भावना बोकेको व्यक्ति देशलाई आवश्यक छ । हाम्रो पार्टीको नेताहरु यसमा पर्नुहुन्छ ।
गाउँका गरिब जनता दुई छाक खान नपाएर रोइरहेका छन् । नून पाएका छैनन्, तेल पाएका छैनन् । चामल पाएका छैनन् । गरिब जनताको सेवा गर्छु भनेर आएकाहरु आफैंमात्र बने । चप्पल लगाएर हिँड्ने नेताहरु पजेरोमा हिँड्छन् । यस्तो अवस्थामा अबको विकल्प दिने पार्टी भनेको जसपा नेपालमात्र हो । नयाँ बजेट आउँछ । धनीलाई पोसिन्छ । गरिब जनतालाई करमाथि कर थोपरिन्छ । कर्मचारीको तलब बढाइँदैन । हुँदाहुँदा वृद्धभत्ता पाउने उमेर पनि बढाए । त्यही वृद्धभत्ताबाट गुजारा चलाइरहेका गरिब जनताले के गर्ने ? यसरी हेर्दा यस वर्षको बजेट पनि हरेक कोणबाट असफल देखिन्छ । त्यसो त कांग्रेस–कम्युनिस्टले जनता झुक्याएर जितेका छन् । जसपा नेपालमा जनता हुँदाहुँदै पनि जनताले काग्रेस–कम्युनिस्टको सस्ता नारामा फसे । अब हामी जुनसुकै चुनावमा हार्ने छैनौं । हाम्रो मिसन सफल हुँदै जाने छ । हामीलाई मन्त्री प्रधानमन्त्री बन्नुभन्दा पनि जनताको माया छ । हामी खुला हृदय भएका हौं ।
कुनै पनि चुनावमा हाम्रो जित असम्भावी छ । बागमतीमा धेरै पानी बगिसक्यो । जसपाप्रति जनआकर्षण बढ्दै गएको छ । सडकमा नउत्रे पनि घरमै बसेर पनि हाम्रो आन्दोलन र कार्यक्रमहरुमा जनसमर्थन रहेको स्पष्ट छ । कुनै पनि बेला जसपा नेपालले समर्थनमा जनता मैदानमा उत्रने छन् । त्यसैले अबको अवस्थामा हाम्रो आन्दोलन हरेक किसिमले सान्दर्भिक छ । हामी आन्दोलन गर्ने चरणमा छौं । जसपाको संगठन निरन्तर बढ्दै छ । यसलाई अझ बढाउने अभियानमा छौं । हामीलाई सबै तह र तप्कामा जनताले साथ सहयोग गरिदिनुहोला । सिँचाइको अभावले यति बेला तराईसहित देशको कैयन भागमा किसानले धान रोप्न पाएका छैनन् । यदि बेलैमा सिँचाइको व्यवस्था गरिएको भए अहिलेको अवस्था आउने थिएन । प्रमुख दलका नेताहरु सिँचाइको व्यवस्था गर्छु भनेर सत्तामा आए तर गरेनन् ।