यही जुलाई २० मा नेपाल–रुस सम्बन्ध ७०औं वर्षमा प्रवेश गर्दै छ । दुई देशको दौत्य सम्बन्ध नयाँ चरणमा प्रवेश गर्दै गर्दा यसका विभिन्न आयामबारे बहस पनि चलिरहेको छ । के नेपाल–रुस सम्बन्ध सोभियतकालको जस्तो बन्न सक्दैन ? रुसले नेपाललाई गरिरहेको सहयोग, नेपालको अपेक्षा र कूटनीतिक सम्बन्ध विस्तारमा नयाँ आयाम थप्न सकिन्न ? यी र यस्तै विषयमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसँग प्रभावले गरेको कुराकानीः
नेपाल–रुसबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्ष प्रवेश गर्दै छ । तत्कालीन सोभियत संघदेखि आजसम्म आइपुग्दा दुई देशको सम्बन्ध, सहयोग र कूटनीतिक मामलालाई कसरी लिनुहुन्छ ?
दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध ७० वर्षमा प्रवेश गर्नु आफैंमा सुखद् अनि ऐतिहासिक कुरा हो । नेपाल–रुस सम्बन्ध नवीनतम् र आधुनिक युगअनुसार अघि बढोस्, मेरो शुभकामना पनि छ । सुरुआतदेखि हालसम्म दुवै देशको सम्बन्ध सुमधुर रहेको तर, पछिलो समय केही उतारचढावहरु देखिएका छन् । यस्ता विषयलाई दुई देशले कूटनीतिक माध्यमबाट समाधानको बाटो निकाल्ने र विश्वशान्तिको कामना गर्दै नयाँ सुरुआत गर्नुपर्ने आवश्यकता छ । विगतमा रुसबाट नेपालको आर्थिक, सामाजिक र मानवीय विकासमा उल्लेख्य सहयोग रहेको र अब पनि यस्ता सहयोगको स्वाभाविक अपेक्षा त हुने नै भयो ।
कुनै बेला रुस नेपालका लागि ठूलो सहयोगी थियो । शिक्षादेखि पूर्वाधार निर्माणसम्म रुसको योगदान स्मरणीय नै छ । तर, अहिलेको रुससँग नेपालको सम्बन्धमा केही शिथिलता आएको जस्तो देखिन्छ । यस्तो किन भएको होला ?
ठ्याक्कै दुई देशबीचको सम्बन्धमा शिथिलता नै आएको त भन्न अलिक नसुहाउला, तर परिवेशअनुसार अघि नबढेको भने पक्का हो । नेपालले प्राप्त गर्ने वैदेशिक सहायताको पछिल्लो प्रवृत्ति हेर्दा नेपालले शिक्षा, मानव स्वास्थ्य, गरिबी निवारणलगायत सामाजिक विकासका क्षेत्रमा सुधार गरेपछि वैदेशिक अनुदान घट्दै आएको देखिन्छ । यद्यपि, रुसबाट प्राप्त हुने सहयोग–अनुदानमा पनि यस्तै ट्रेण्ड देखिएको मात्र हुनसक्छ ।
नेपाली कांग्रेस रुससँगको कूटनीतिक सम्बन्धलाई कसरी लिन्छ ? र, यो सम्बन्धलाई विस्तार गर्ने विषयमा कांग्रेसको कस्तो धारणा राख्छ ?
नेपाल सरकारको परराष्ट्र नीति असंलग्न र पञ्चशीलको सिद्धान्तमा आधारित छ । नेपाली कांग्रेसले पनि यसै सिद्धान्तलाई आत्मसात् गरी वैदेशिक÷परराष्ट्र सम्बन्धको धारणा बनाउँदछ । राष्ट्रिय हित सुनिश्चित गर्दै द्विपक्षीय लाभ र सहकार्यका लागि नेपाली कांग्रेस रुसलगायत सबै मुलुकसँग परराष्ट्र सम्बन्ध विस्तार र कायम राख्नुपर्दछ भन्ने दृढ मान्यता राख्दछ ।
नेपाली युवाहरु रुसको पक्षबाट युद्धमा सरिक हुनेदेखि युक्रेनको कब्जामा पर्ने किसिमका विषय नेपालमा निकै चर्चा भयो । रसियन कूटनीतिक नियोगले रुस सरकारको यसमा कुनै किसिमको हात नरहेको भनिरहेको सुनिन्छ । यसमा नेपाली कांग्रेसको धारणा के हो ?
नेपाली युवाहरु रुस–युक्रेन युद्धमा प्रयोग भएको विषयमा सरकारले रुसी पक्षसँग गम्भीरतापूर्वक कुरा राखेको र समाधानका लागि रुसी पक्षबाट पनि सकारात्मक पहल भएको जानकारी पाएको छु । यस समस्या समाधानका लागि नेपाल सरकारले युवाहरुको वैदेशिक रोजगारीका विषयहरूलाई कानुनी र कूटनीतिक पहलबाट सुधार गर्ने विश्वास पनि लिएको छु ।
रुस–नेपालको सम्बन्धलाई थप नयाँ उचाइमा लैजानका निम्ति नेपाली पक्षले लिनुपर्ने कूटनीतिक पहल कस्तो हुनुपर्ला ? अहिले तपाईंको पार्टीले नै परराष्ट्र मन्त्रालयको नेतृत्व गरिरहेका समय कूटनीतिक सम्बन्ध विस्तारमा कस्ता पहलहरु भइरहेको देख्नुहुन्छ ?
रुस–नेपालबीच संवादलाई थप सुट्टढीकरणका लागि नेपालको असंलग्न परराष्ट्र नीति र शान्तिप्रिय मुलुकको छविसमेतलाई ध्यानमा राखेर भू–राजनीतिक सन्तुलन कायम राख्न सक्नुपर्दछ । नेपालले रुससँग आर्थिक–सामाजिक विकास, अति गरिब मुलुकबाट स्तरोन्नति हुने लक्ष्य, दिगो विकासका लक्ष्य हासिल गर्न आर्थिक विकास र अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका क्षेत्रमा सहकार्य गर्ने, सौविद्य–प्राप्त बजारका लागि वार्ता गर्नेलगायतका कूटनीतिक पहलमा बढी केन्द्रित हुनुपर्दछ ।
अन्त्यमा, यही जुलाई २० मा नेपाल–रुस सम्बन्धको कूटनीतिक सम्बन्ध औपचारिकरुपमा स्थापना भएको ७०औं वर्ष पुग्न लागेको छ, यस अवसरमा दुई देशको सम्बन्धका आयामलाई थप परिस्कृत बनाउन कति सम्भव छ ?
दुवै देशले जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य गर्ने, हाम्रो मुलुक एलडिसी ग्राजुएसनमा रुसको सहकार्य, राम्रो अर्थतन्त्रलाई उदीयमान अर्थतन्त्रको रुपमा विकास गर्न रुसको विकासका अनुभव र मोडलबाट सिकाइ हासिल गर्ने, हाम्रो मुलुक पूर्वाधारमा सुरुङ युगको प्रारम्भ भएको र रुसको त्यसमा लामो अनुभव रहेको सन्दर्भमा सीप, प्रविधि र अनुभव हस्तान्तरणजस्ता थुप्रै अवसर छन् । यस्ता अवसरबाट नेपालले लाभ लिन सक्नेगरी रुससँगको कूटनीतिक सम्बन्धलाई नयाँ उचाइमा पुयाउनुपर्दछ । सुरुआतदेखि हालसम्म दुवै देशको सम्बन्ध सुमधुर रहेकोमा पछिलो समय केही उतारचढावहरु देखिएका छन् । यस्ता विषयलाई दुई देशले कूटनीतिक माध्यमबाट समाधानको बाटो निकाल्ने र विश्व शान्तिको कामना गर्दै नयाँ सुरुआत गर्नुपर्ने आवश्यकता छ ।