अमेरिकामा सेतो घर अर्थात् ह्वाइट हाउस जति धेरै चर्चामा छ, त्यत्ति नै धेरै चर्चा नेपालमा रातो घरको छ । उताको सेतो घरको चर्चा विश्वमा छ, यताको रातो घरको चर्चा सेतो सर्ट र निलो पाइन्ट लाउनेहरुको सातो खानेमा छ ।सानो माछो च्याप्पै पार्न माहिर रातोघरले धेरैको मुटुमा ढ्यांग्रो ठोक्न थालेको छ । रातो क्रान्तिका नायक ‘माकुने’ लाई माकुराको जालोमा पारेपछि रातो घरको चर्चा नचुलिने त कुरै भएन । साना माछा खाँदाखाँदा वाक्क भएर होला रातो घरले ठूलो माछा खोजेजस्तो पनि गरेको छ । गाउँदेखि सहर, खेतदेखि बगरसम्म ‘माकुने’ काकाकै चर्चा चलिरहेको छ ।
सामाजिक सञ्जालदेखि टेलिभिजनका पर्दासम्म, छापिएका पत्रिकादेखि कपी पेस्ट गर्नेसम्म पनि उनै ‘माकुने’ काकाको तस्बिरले ढाक्न थालेकोे छ ।बिहानै सबेरै ‘राधे श्याम, राधे श्याम’ भाकाको भजनकीर्तन, नातिले किनिदिएको चारपाते मोबाइल हेर्दै दंग पर्ने हस्तबहादुर भाका न सुर भएका, नेप्टी र चेप्टीहरु आफैंले अनुसन्धान गरेर थाहा पाएजस्तै गरी मोबाइलमा मात्र देखिने ‘माकुने’ को रातो घरको सन्देश फलाके पनि कञ्चटका रौं तातेर आयो भनिरहेका छन् । बिहानदेखि तात्तो छारोका सन्देश घोक्रो सुक्नेगरी फलाकेर पनि हुन्छ । ‘के तालको जवाना आको होला !’ हस्तबहादुर मोबाइल बन्द गर्दै भुनभुनिए ।
ओछ्यानबाट पनि बाहिर ननिस्कँदै भुनभुनिएको देखेर स्टिलको लामो ग्लासमा तातो चिया बोकेर कोठामा छिर्दै गरेकी हस्तबहादुरकी जहान रमिलालाई पारा ठीक लागेन छ क्यार ! ‘हैन, आज उठ्न नपाउँदै किन कन्पारो तताइराको भन्या ?’‘के हुनु नि, कहिलेकाहीँ त यो मोबाइल पनि फाल्दिउँ जस्तो रिस उठ्छ भन्या । चाहिने नचाहिने के–के आउँछ आउँछ भन्या । बिहानै भगवान्को नाम लिनुपर्ने ठाउँमा दैत्यजस्तो द्रव्य पिचासहरुका नाम फलाक्छन् ।’ रमिला अचम्म पर्छिन्, ‘फेरि के भो त ?’‘के हुनु नि, रातो घरले ठूलो माछा मा¥यो रे !’
‘ठूलो माछा ! के भन्या त्यो ?’हस्तबहादुर हाँस्छन्, ‘ल ठूलो माछा भनेको पनि थाहा छैन ? ठूलो माछा भनेको ठूला भ्रष्टाचारी । अकूत सम्पत्ति कुम्ल्याउने नवसामन्तहरु । हिजो खान नपाउने आज अर्बपतिको सूचीमा सूचीकृत भएका द्रव्य पिचासहरुलाई ठूलो माछा भन्न थाल्या छन् के !’‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भन्याजस्तो साना माछा होस् कि ठूलो माछा होस् । सबै हात्तीका देखाउने दाँत त हुन् । भोलि पर्सी मेलमिलाप हो कि मिलेमतो के गरेर सबै सामसुम पार्छन् । अहिले नौंटंकी गर्छन् । ल लिनुस् यो च्या ।’हस्तबहादुर जहान रमिलाले ल्याइदिएको चियाको गिलास फेदैमा समाउँछन् । बूढाको हात च्वास्स पो । ‘हत्तेरिका, कस्तो तातो ! हात नै डाम्नेगरी पोल्यो ।’
‘पोल्छ नि बुद्धि नपु¥याएपछि... स्टिलको गिलासमा तातो च्याँ छ भनेपछि ख्याल गर्नु पर्दैन ?’‘हो हो, तिमीले भनेको कुरा । कसलाई केले डाम्छ कसलाई केले डाम्छ । ‘माकुने’ लाई अख्तियारले डाम्यो । मलाई च्याको गिलासले डाम्यो ! ठीकै छ सब भागभोगको कुरा हो,’ हस्तबहादुरले रमिलालाई समर्थन गरेजस्तो गरे । तर रमिलालाई हस्तबहादुरको कुरामा अलि चित्त बुझेन । उनले प्रतिउत्तर दिइहालिन्, ‘आफू ढंग नपु¥याउने, उल्टो उल्टो काम गर्दै हिड्ने अनि भाग्यलाई दोष दिने यस्तो पनि हुन्छ कतै ?’
‘ल ल भैगो, छाडिदेऊ । जे हुन्छ राम्रैका लागि हुन्छ ।’रमिलाले भनिन्, ‘राम्रै त राम्रैका लागि त हुन्छ नि । देश बनाउने भनेर त्यत्रो पदमा पुगेर देश कंगाल बनाउनतिर लागेपछि के हुन्छ ? ‘जस्तो कर्म उस्तै फल’ !’‘तिमीले भनेको कुरा त ठीकै हो । तर, यो राजनीति हो । आज एउटाको पालो भोलि अर्कोको पालो । स्वार्थ अनुकूल चलिरहेका छन् । अब हेर्दै जाऊ, जो सत्तामा पुग्छ उसैले त्यो रातो घरको दुरुपयोग गरेर यसैगरी सबैलाई पोल्छन् ।’ढोका छेउ पुगेकी रमिला फर्केर हस्तबहादुर नजिकै आउँछिन् । ‘हैन हो बूढा, अब यी ‘माकुने’ साँच्चै नै जेल जान्छन् त ?’
‘के को जानु नि ! कुरो मिलाइहाल्छन् नि । ऊ बेला शाही शासनका बेला पनि शाही आयोग गठन गरेर भ्रष्टाचारी भनेका व्यक्ति अहिले कहाँ छन् ? तिमी पनि त्यही आयोगतिर काम गरेकी हैनौं र ? उल्टो मलाई के सोध्छौं !’‘त्यसबेलाको अवस्था अर्कै थियो, अहिलेको अवस्था अर्कै छ ।’ रमिलाले आफूले काम गरेको कार्यालयको बचाऊ गर्न खोज्छिन् । नगरुन् पनि किन, त्यही कार्यालयबाट अवकाश भएका कारण अहिलेसम्म पेन्सन बुझिरहेकी छिन् ।‘त्यस्तो केही होइन हेर । व्यवस्थामात्र फेरिएको हो । अवस्था फेरिएको होइन नि । त्यो दारी केटो बढी बगबग नगरेको भए अहिले जेल जान्थ्यो र ? अहिले खड्गका खड्गो जागेका बेला ‘माकुने’ लाई माकुरा जालोमा पारेका छन् ।’
‘पछि फेरि उनीहरु सत्ता पुग्छन् अनि खड्गको साँढे सात लाग्न सक्छ । यो त प्रतिष्ठाको लडाइँ हो । अब पालैपालो सबको पोल खुल्छ हेर्दै जाऊ । रवि, छविहुँदै ‘माकुने’सम्म आइपुग्यो । अब अरुको पालो आउँछ । जो सत्तामा छ उसैले ठोक्ने हो पोल्ने हो । करार गर्ने हो । यही नजिर बस्छ । यो त अख्तियारका पासोमात्र हो । नासो अर्कैको छ ।’‘हुन त हो बूढा,’ रमिला भन्छिन्, ‘साँच्चिकै सम्पत्ति छानबिन र शुद्धीकरण गर्ने हो भने यहाँ सत्तामा पुगेका पदमा पुगेका कर्मचारीदेखि नेता सबै पोलिन्छन् ।’हस्तबहादुरले भने, ‘बल्ल सुरु भयो, यहाँ नखाएका पनि विष लागेको छ । खाएकाले ख्वाएर विषमुक्त गरेको पनि छ । ‘माकुने’ ले कति खाए वा खड्गहरु दूधले नुहाए भन्ने होइन । खड्गले सुरु गरे । अब बल्ल भ्रष्टहरुबीच लडाइँ सुरु भयो । पालैपालो सबले सबैलाई देखाइदिने प्रतिस्पर्धा चल्छ । रवि निस्कन्छन अनि अरुलाई जाक्छन्, ‘माकुने’ सफाइ पाउँछन् अनि गिरिबन्धु देखाउँछन् । यसैगरी चलिरहन्छ, अनि ‘झोले’हरु खालि ताली बजाइरहन्छौं । आखिर देखाउने त अख्तियारको पासो नै हो नि !