बूढा अध्यक्ष भन्दै थिए, ‘केटा हो अब तिमीहरुले जेठ १५ गते पूरै काठमाडौं कब्जा गर्नुपर्छ ।’ केटाहरुले के कुरा बुझे तरऽरऽर ताली ठोके ! हुन त गणतन्त्रका दिन काठमाडौं कब्जा गर भन्दा किन र केका लागि कब्जा गर्ने भनेर प्रश्न सोध्न पनि नसक्ने ठिटाहरुबाट के अपेक्षा गर्नु छ र ।
गणऽतन्त्र ल्याउने दिन पनि मध्यरातमा अधकल्चो निद्रामा नै ताली ठोकेरै आको भएर होला । ताली ठोक्नेहरुको त कमी नै छैन ।
जेठ १५ गते गणऽतन्त्र आको दिन । यी नै बूढाले ‘देशाँ गणतन्त्र आउछ भन्नु बयलगाडा चढेर अमेरिका पुग्छु’ भनेजस्तै हो भन्थे । अहिले बूढा गणऽहरुको काँधमा बसेका छन् । ‘जसको बिहे उसैलाई देख्न नदे’ यस्ता कुरा त उही बूढाले नै भन्थे ।
तर खै बूढाले त्यही गणऽतन्त्रको दिन सडक कब्जा गर्ने कुरा गरे छन् । कुरा ठीकै पनि हो अरे, तीर्थे दाइका कुरा । ‘गण’ भनेको सीमित मान्छेको समूह, ‘तन्त्र’ भनेको शासन । अनि कुरो मिलेन त ? नाम गणऽतन्त्र छ । त्यसमा अनि मैले यो पाइनँ र त्यो पाइनँ भनेर हुन्छ ?
नामअनुसारको काम भाकै छ । सीमित मान्छेहरुले मात्र शासन गरेकै छन् । अब त्यही दिन सडक पनि कब्जा गर्छन् ।तीर्थे दाइ पनि आजकल खुब सल्बलाउन थालेका छन् क्या सामाजिक सञ्जालमा । त्यही भएर होला पहिलेपहिले साना पत्रिकाको भर नपर्नु है भन्थे, अहिले त्यही ‘स’ को सामाजिक सञ्जालको भर नपर्नु भन्छन् । एकले अर्कोलाई सत्तोसरापबाहेक केही पनि छैन । तीर्थे दाइले त्यही भएर आफूलाई सल्बलाउन थालेका अरे ।
‘१५ गते तीन घण्टाका लागि सडक कब्जा’ यो चाहिँ हजम भएन भनेर उता दानवअधिकारबाट पिएचडीधारीले कागजको खोस्टो फाले छन् । उताबाट पिएचडीधारीले के कागजको खोस्टो फालेका थिए । यता फेरि अध्यक्ष बूढाविरुद्ध उनैले बनाएका दबंगलाई बिन्तीपत्र हाले छन्, रविको पनि किरणले ।
‘प्रभु १५ गते हामी गणऽतन्त्रविरुद्ध प्रतिस्पर्धा गर्दै छौं । कसले जित्ने हो कसले हार्ने हो थाहा छैन । एउटा रवि जेलमा सडाएका छौं म अर्को रवि गणऽतन्त्र फाल्ने अभियानमा छु । उता बूढाले सडक कब्जा गर्ने नीति लिएपछि हाम्रो सपना चकनाचुर हुने भो’ भनेर । यो १५ गतेमाथि किन यति धेरै अन्याय गरेको होला ? भनेर तीर्थे दाइले एक झटारो हानिसकेका छन् । अघिल्लो १५ गते छल गर्यो मायाले । अबको १५ ले मोज गर्छ मायाले हुने पो हो कि ! भन्ने चिन्ता छ ।
लिन्नदेलाई आच्चु आच्चु भाको छ । उही बूढाले गर्दा पद पाको हो । उही बूढालाई भाग भन्नुपरेको । ‘खाउँ भने दिनभरको सिकार, नखाउँ भने कान्छा बाउको अनुहार’ भन्दै लिन्नदेनले पनि बूढा अध्यक्षलाई उखान झट्का हान्दिए ।अस्तिको १५ मा प्रजाहरु भन्दै थिए । ‘होइन त्यो ऊ बेलाको कैदी बूढाले सडक पनि आफ्नै नाममा पास गरिसके छ र हामी हिँड्नै नपाउने’ कस्तो खालको झुण्डतन्त्र हो यो ?
अब त झन् गणऽतन्त्रका दिन सडक नै कब्जा गर्ने उद्घोष भाको छ । लिन्नदेनलाई सडकमा आउन नदिएर सडक कब्जा गर्ने हो कि । यता कब्जा भन्दै उता घोचपेचमात्र गर्ने यसै भन्न सकिएको छैन है ।हुन त गणऽतन्त्र आएपछि सबैले सडक नै कब्जा गरेका छन् त ? प्रजाका सवारी गुड्ने सडक कब्जा । यात्रु हिँड्ने फुटपाथ कब्जा । को भन्दा को कम । दरबारमार्गदेखि प्रदर्शनी मार्गसम्मका सडक कब्जा हुँदै आका छन् त ? फेरि तीर्थे दाइले एक झण्का हान्न भ्याए ।
ऊ बेला विरोध गर्न र विद्रोह गर्न पानीको ओत लाग्ने ठाउँसहित प्रजातन्त्र कब्जा गरे भनिएका महेन्द्रले खुलामञ्च नै बनाइदिएका थिए ! जाऊ खुलामञ्चमा रमाऊ, जतिसक्दो गाली बर्साऊ भन्दै । तर अहिले त्यही पनि कब्जामा छ । स्वतन्त्रताको विगुल फुकेको, प्रजातन्त्रदेखि लोकतन्त्र अनि गणऽतन्त्रसम्म त्यही खुलामञ्चले दियो । तर आज त्यही मोरो पनि पिंजडामा थुनिएको छ । नियम कानुन उत्तानटाङ ! मान्छे र मोटर गुड्न सडका गणऽतन्त्रका मतियारहरुको कब्जामा । बोल्न बनाएको टुँडिखेल स्वतन्त्रको कब्जामा ! अनि बूढा अध्यक्षले सडक कब्जा नभनेर के भनुन् त ?
‘बारीको डिलमा ओखर बोट, ओखर बोटमा चिल बस्यो भन्नै नहुने माया’ भन्ने गीत ऊ बेला रेडियोमा घन्केजस्तै हो अहिले गणऽतन्त्रले जप्ने मन्त्र ! जसले सक्यो उसैले उसैले खायो । भन्ने बेला बहुमत काम गर्नेचाहिँ एकमत ! तोरीलाहुरे शासन । बाघको छाला स्यालको रजाइँ त्यसै त कहाँ भनेका हुन् र ?भित्ता रित्तिसके, गाउँ रित्तिसके । एउटा युवा पुस्ता नै रित्ति सक्यो । हाम्रा नाइकेहरु भने यो कब्जा र त्यो कब्जामै व्यस्त छन् । यसरी कब्जा गर्ने अनि रित्तो मनाएर एक अर्कालाई लडाउने व्यवस्था भनेकै गणऽतन्त्र रहेछ ।
ऊ बेला राति घरमा पाहुन आउँदा स्वागत गरिन्थ्यो । खानपान सबै सोधिन्थ्यो । तर अहिले कोही आउँदा पनि शंका गर्नुपर्ने अवस्था छ । त्यसै बूढाध्यक्षले कब्जा गर्ने भनेका हुन् र ? विश्वासै छैन । अरु देशमा गणऽतन्त्रको बेला भव्य स्वागत र सत्कार । हाम्रा देशमा त्यही बेला जनताका दिमाग हुने अन्धकार !
फल नलाग्ने बिरुवा हुर्काउनु र विकास नहुने गणऽतन्त्र स्वीकार्नु ‘हात्ती र हात्ती छाप उस्तैउस्तै हो नानी’ भनेजस्तै हो । गणऽतन्त्र त उही नानीका बा, छोरीका बा र तिनैका बाहरुका लागि बाँदरको हातमा नरिवल भनेजस्तै भो । त्यसैले आऊ, मिलेर खाऊ, मिलेरै देश रित्तो बनाऔं । सत्ता, शक्ति, सडक जे जति छन् सबैमा कब्जा जमाऔं । तीर्थे दाइ त हेरेको हेर्यै ! ऊँ शान्ति... शान्ति... कसैको मनमा नहोस् भ्रान्ति ।