एक पटक कक्षाबाट बाहिरिँदै गर्दा लालदेउसा राई भन्दै हुनुहुन्थ्यो, पत्रकार पहिले जन्मिए, त्यसपछि मात्र संसारमा पत्रपत्रिकाको जन्म भएको हो । केही जिज्ञासु विद्यार्थी कक्षा कोठा बाहिर पनि झ्याम्मिएर उहाँको रमाइलो कुरा सुनिरहेका थिए । हल्का ढङ्गले अभिव्यक्त उहाँको संक्षिप्त र अनौपचारिक तर्कले मलाई पनि तान्यो । तर आज जति जति समय बित्दै जाँदैछ, म उति बुझ्दैछु उहाँले भन्नुभएको कुरा कति गहिरो रहेछ । यदि पत्रकारितालाई सूचना र समाजका विभिन्न तह र तप्काहरुबीचको अन्तरसम्बन्ध अनि एकीकरणको औजार मान्ने हो भने यस्तो कार्य त मानव सभ्यताको प्रारम्भिक समयदेखि नै हुँदै आएको छ । फरक यति हो, समयक्रममा विकसित हुँदै गएका साधनले मानव सञ्चारलाई झनझन सशक्त बनाउँदै लगेका छन् । पत्रकारहरुले पत्रकारिता गर्नका लागि आफ्नो समयमा उपलब्ध साधनहरुलाई अङ्गीकार गर्दै आएका छन् । यति भने पछि अझ प्रष्टसँग बुझ्न सकिन्छ, पत्रकारिता पत्रकारभन्दा पछि आएको हो भन्नुको अर्थ के हो ?
नेपालको मात्र होइन, संसारकै निरन्तर चलिरहेको पुरानो अखबारका रुपमा सुपरिचित गोरखापत्रको वार्षिकोत्सवलाई राष्ट्रिय पत्रकारिता दिवसका रुपमा समेत मनाउँदै गर्दा मलाई पत्रकार र पत्रकारितासम्बन्धी त्यो पुरानो प्रसङ्गको सम्झना हुनुको विशेष कारण छ । नेपालमा १२५ वर्षदेखि एउटा अखबार निरन्तर बजारमा आइरहेको छ, यो राष्ट्रिय गौरवको विषय हो । गोरखापत्र सुरु हुँदा संसारमै रेडियो प्रसारण त सुरु भएको थिएन भने टेलिभिजनको त कुरै भएन, इन्टरनेट र यसका उपक्रमहरु त धेरैपछि सुरु भए । गोरखापत्रको अत्यन्त औपचारिक टिप्पणीबाट माथि उठेर गम्ने हो भने राष्ट्रिय पत्रकारिता दिवसका रुपमा हामीले एउटा यस्तो दिन पाएका छौँ, जुन दिन हामी समकालीन नेपाली समाजमा आमसञ्चार माध्यमको स्थान, विश्वसनीयता र प्रभावको समीक्षा गरेर सार्थकरुपमा मनाउन सक्दछौँ । आजको नेपाली पत्रकारिताको समाजशास्त्र बुझ्न ह्यारोल्ड लासवेलको वहुचर्चित सञ्चार नमूनाका आधारमा शोध प्रश्न बनाउन सकिन्छ ः कसले के भन्यो, कुन माध्यमबाट, कसलाई, अनि के प्रभाव पार्यो ? आजको नेपाली आमसञ्चार परिदृष्यमा सम्प्रेषक, सन्देश, माध्यम, प्रापक र प्रभावको विश्लेषण गर्दा सादृष्य हुने चुनौतीहरुमध्ये माध्यम र त्यसैसँग जोडिने प्रभावको विषय सबैभन्दा उल्लेखनीय देखिन्छ ।
आज पत्रपत्रिका वा छापा ओरालो लागिरहेका छन्, समाज र शासकको निगरानी गर्ने अनि सामाजिक मूल्य र मान्यताको प्रसार गर्ने भूमिकामा रहेका पत्रकारहरु उन्नत सञ्चार प्रविधिले अस्तित्वमा ल्याएको नयाँ माध्यममा अभ्यस्त हुन सङ्घर्षरत छ । यो विश्वभरिको कथा हो, नेपाल पनि अपवादका रुपमा रहन सक्दैन । पत्रपत्रिका नरहने भोलिको अवस्थामा पनि पत्रकारिता रहनुपर्नेछ, पत्रकारहरुले गर्नुपर्ने अबको सङ्घर्ष यही हो । राज्य र समाजले पनि सोच्नुपर्ने विषय हो यो ।
सञ्जालको निर्माण त मानव सभ्यतामा अहिलेसम्म अस्तित्वमा आएका सबै सञ्चारमाध्यमका प्रवृत्ति नै हो । तर इन्टरनेटले जन्माएको सञ्जाल अभूतपूर्व छ, खासगरी सामाजिक सञ्जालले एकातिर व्यक्तिलाई अभिव्यक्ति स्वतन्त्रताका दृष्टिले अभूतपूर्व रुपमा सशक्त बनाएको छ । अर्कोतिर यसले समाजको सूचना र सञ्चार आवश्यकता जिम्मेवारीपूर्वक पूरा गर्न अत्यावश्यक सम्पादित सामग्रीको प्रसार गर्ने पत्रकारिताकासामु गम्भीर चुनौती प्रस्तुत गरेको छ । आज सूचना र सञ्चार जगत्मा सङ्गठित आम सञ्चारमाध्यमको प्रभुत्वको अन्त्य मात्र भएको छैन, अन्र्तवस्तुका प्रयोगकर्तामा सामग्रीको समीक्षा गर्ने क्षमतासमेत अकल्पनीय रुपमा बढको छ । यस्तो समयमा खासगरी कृत्रिम बौद्धिकतासहितको सूचना प्रविधिको यथोचित र नैतिक प्रयोगको सीपका दृष्टिले नेपाली पत्रकारहरुको पुर्नजन्म हुन जरुरी छ ।
सञ्चार प्रविधि आज कसरी दुईधारे तरबार बन्न पुगेको छ भन्ने कृत्रिम बौद्धिकताको नैतिकता बेगरको प्रयोगले देखाएको छ । उत्तर आधुनिक र सूचना समाजमा छवि र प्रतिनिधित्वका सन्दर्भमा आएको उन्नतिले सत्यलाई यति बहुरुपमा प्रस्तुत गरिरहेको छ, डिजिटल मिडियाका प्रयोगकर्ताका निम्ति सत्यापन निकै कठिन हुन पुगेको छ । साथै, पत्रकारिताको ज्ञान र सीपबाट सुसज्जित व्यावसायिक पत्रकारहरुका सामु इन्टरनेटको उपज सामाजिक सञ्जाल र अन्र्तवस्तुको द्रुत उत्पादकका रुपमा कृत्रिम बौद्धिकताका औजारहरुले मूलतः नैतिक चुनौती तेस्र्याएका छन् । अहिले तत्कालीन रुपमा पत्रकारको रोजगारी र जीविकोपार्जनमाथिको चुनौतीका रुपमा देखिएको कृत्रिम बौद्धिकताबाट तत्क्षण सामग्री तयार गर्ने प्रवृत्तिले पनि अन्ततः समाजलाई नैतिक सङ्कटमा पुर्याउने छ । गहन अनुसन्धान, सिर्जनशीलता, लगनशीलता र निरन्तरताको कसीमा दरिएका होइनन्, कम्प्युटरमा कमाण्ड दिएर तत्क्षण हासिल गरिएका सामग्रीले अन्ततः समाजलाई नै भूलभूलैयाको वातावरणमा रुमल्याउने छ ।
विश्वमा लिपीको विकासपछि एक समयमा हस्तलिखित पुस्तक र सूचनापत्र निस्कनु स्वभाविकै थियो । तर सञ्चारका ती साधन अहिलेका सञ्चारमाध्यमजस्ता व्यापक र प्रभावशाली थिएनन् । पन्ध्रौँ शताब्दीको मध्यमा गुटेनवर्ग प्रेसले माध्यमको स्वरुप नै परिवर्तन गरिदियो र आमसञ्चार माध्यमको युग सुरु भयो । सत्रौँ शताब्दीको उत्तराद्र्धासम्म छापिएका पत्रपत्रिका निस्कन थाले र त्यस बेलासम्म छापाका मानिसको समय सुरु भइसकेको थियो । त्यसबेला किताबजस्तो बाँधिएको होइन, खुला चौडा कागजमा सूचना र टिप्पणीसमेत छापेर वितरण गराउने कार्यलाई पत्रकारिता भन्न थालियो । तर सूचनाको आदानप्रदान त त्यसअघि पनि त हुने गर्दथ्यो । मानिस त स्वभावैले असञ्चारको अवस्थामा रही रहन सक्दैन, कसले सञ्चार कसरी वा कुन माध्यमबाट गर्दछ भन्ने मात्र हो ।
समयक्रममा पत्रकारिताको अर्थ विस्तार हुँदै गयो, पत्रमा सूचना प्रस्तुत गरेर यस्तो नाम हासिल गरेको पत्रकारिता रेडियोमा बोलीमार्फत र टेलिभिजनमा ध्वनि र चित्रमार्फत झन प्रभावकारी रुपमा हुन थाल्यो । आज सञ्चार प्रविधिको सम्मिलनका कारण उत्पन्न माध्यमसमेतको सम्मिलनको स्थितिले पत्रपत्रिका बेगरको पत्रकारिताको बाटो बनाइसक्यो । अध्येताहरु प्रयोगसिद्ध अनुसन्धानका आधारमा भन्दै छन्, धारणा निर्माण गर्ने भूमिका अब परम्परागत पत्रकारिताबाट सामाजिक सञ्जाल र डिजिटल मिडियामा सरिसक्यो । बीसौँ शताब्दीको सुरुआतमा अखबारको प्रभावलाई मध्यनजर गर्दै विज्ञहरु भन्दथे, बाह्य संसारको तस्बिर सर्वसाधारणको मस्तिष्कमा कुँदिदिने आम सञ्चारमाध्यम जनमत निर्माता हुन् ।
आज उत्तर आधुनिककालसम्म आइपुग्दा सञ्चार प्रविधिको यति विकास भएको छ, कुनै घटना, विचार वा संसारिक विषयका कुनै पाटोलाई पुनर्निर्माण वा प्रतिनिधित्व गरेर होइन, हुँदै नभएको देखाउँदा पनि सजिलै थाहा पाउन सकिँदैन । गहिरो मिथ्या, गलत सूचना सबै यति सहजै र व्यापकरुपमा फैलन सक्छन, सम्पादित सामग्रीको महत्व झन बढेको छ । यसरी इन्टरनेटको द्रुत प्रवाह र कृत्रिम बौद्दिकताको तीव्र गतिको यो समयमा पत्रकारिताको महत्व झन बढेको छ ।
आज पत्रकारिता नयाँरुपमा छ, ‘डिजिटल जर्नालिजम’ । आउने समयमा कागजमा त पत्रपत्रिका नभेटिन सक्छ । तर पत्रकारिता त रहनेछ, किनकी सूचना, अभिप्रेरणा, समाजका विभिन्न तह र तप्काबीचको अन्तरसम्बन्धको निरन्तरता र एकीकरण अनि ज्ञानको पुस्तान्तरण र मनोरञ्जनका लागि सशक्त पत्रकारिता चाहिन्छ । अफवाह, बनावटी सूचना र भ्रमहरुको निस्सासिँदो परिवेशलाई चिर्न ज्ञान र सीप भएका नैतिक सञ्चारकर्मीहरुले अघि बढाउने व्यावसायिक पत्रकारिताको आवश्यकता कृतिम बौद्धिकताको चरमोत्कर्षमा झन बढी पर्नेछ । त्यसैले कागजमा प्रस्तुत गरिने सूचना वा टिप्पणीका सामग्रीलाई पत्रपत्रिका भन्ने हो भने आउने कुनै समयमा पत्रपत्रिका नरहन पनि सक्छ । सन् २००४ मै अमेरिकी पत्रकार फिलिप मेयरले सन् २०४३ मा अमेरिकामा कागजमा छापिने अखबारको अन्तिमप्रति छापिने भविष्यवाणी गरिसकेका छन् । आज न राजनधानीको भूगोलपार्कमा अखबारहरु भुइँमा बिछ्याएर बेचेको देखिन्छ, न पत्रपत्रिकाका पसलमा अखबारहरु लहरै झुण्ड्याइएको देखिन्छ ।
जसरी पत्रपत्रिकाभन्दा पहिले पनि पत्रकारिताको प्रारुपको आकलन गर्न सकिन्छ । त्यसैगरी पत्रपत्रिका नरहने अवस्थामा पनि पत्रकारिता रहनेछ । अबको संसारमा नबाँधिएको, समाचार र समाचारजन्य मानव रुचिका सामग्री छापिएका मूल्य अङ्कित र मूल्य तिर्ने जोसुकैले प्राप्त गर्नसक्ने खुला पानालाई समाचारपत्र, अखबार वा पत्रिका भन्ने हो मिल्दैन । त्यसैगरी त्यस्ता पत्रपत्रिका प्रकाशन गर्ने कामलाई पत्रकारिता भनिन्छ भन्यो भने पनि पत्रकारिताको परिभाषा पूर्ण हुन सक्दैन । अहिले जसरी परम्परागत पत्रकारिता र नयाँ पत्रकारिता भन्ने भेद छुट्टयाउन थालिएको छ, आउने समयमा त्यो विभेद हराउनेछ र केवल पत्रकारिता जीवित रहनेछ, भौतिक रुपमा कागजमा छापिने अखबार विलुप्त होलान, डिजिटल स्पेशमा पत्रकारिता मुखरित हुनेछ ।
जसरी कुनै बेला बोली वा श्रवण अनि त्यसपछि लिपी र छापाको प्रभावको युग थियो, त्यसगरी यो युग, मक्लुहानको इलेक्ट्रिक युग वा हामीले देखेको इन्टरनेट र यसका उपजको प्रभावको युग हो । त्यसैले आजका नेपाली पत्रकारहरुको चुनौती पत्रकारिताको नयाँ सुरुआतलाई प्रभावकारी रुपमा अङ्गिकार गर्ने क्षमता हासिल गर्नु हो । त्यसैले नयाँ सन्दर्भमा समाजलाई सुसूचित गर्ने, शक्तिमा रहनेहरुको निगरानी गर्ने, समाजका अङ्गहरुलाई जोड्ने आफ्नो भूमिकाको निरन्तरताका लागि पत्रकारहरुले सङ्घर्ष गर्नुको विकल्प छैन । यो सङ्घर्ष एक्काइसौँ शताब्दीको एक चौथाइ व्यतीत गर्न लागिएको समयमा बदलिएको सूचना र सञ्चारको पारिस्थितिकीसँगको अनुकूलनको प्रयत्न हो ।
पत्रकारहरुको उपस्थिति बिना लोकतान्त्रिक खुला र बहुलवादी समाजको अस्तित्वको कल्पना गर्न सकिँदैन । तर समाज विकासको नियमकै अधिनमा पत्रकारिताको माध्यमको परिवर्तन वा रुपान्तरण हुँदै आएको छ । सीपी स्कटले यही सन्दर्भमा सय वर्षअघि नै अखबारको नैतिक र भौतिक उपस्थितिलाई औँल्याएको हुनुपर्दछ । अखबारको त्यो बेलादेखिको नैतिक उपस्थिति भनेको पत्रकारिताजस्तो पवित्र पेसा र शताब्दीऔँको अभ्यासबाट स्थापित यसको व्यावसायिक धर्म नै हो । पत्रकारिताको भौतिक उपस्थितिका रुपमा कुनै बेला छापा थियो, अबको समयमा नरहन सक्छ । तर पत्रकारहरुको समयानुकूल सिर्जनशीलता र अनुकूलनको क्षमताले पत्रकारितालाई अघि बढाउँदै लैजानेछ भन्ने विश्वास गर्न सकिन्छ । यो विश्वास पूरा हुन नसकेको अवस्था आयो भने चाहीँ के हुन्छ ? पत्रकारहरुले पत्रकारितालाई डोर्याउन सक्दैनन्, अनि माध्यम र सन्देश दुवै पत्रकारिताको मूल्य र मान्यताविमुख हुन पग्दछन्, जसले गर्दा प्रभावले अन्यौलग्रस्त अवस्था सिर्जना गर्नेछ ।