- राष्ट्रिय अपांग महिला संघले दिएको उजुरीअनुसार आरोपीले कार्यक्षेत्र काभ्रेको धुलिखेल जाने क्रममा सवारी साधनभित्रै यौन दुव्र्यवहार गरेको
- यौन दुव्र्यवहार आरोपीलाई मन्त्रीले नै सम्मान गरेर महासंघ र सरकार दुवै महिला हिंसाविरुद्धको अभियानलाई खिल्ली उडाइयो
- दुव्र्यवहार आरोपी नै सञ्चारमन्त्रीबाट सम्मानित
काठमाडौं- १६ दिने महिला हिंसाविरुद्धको अभियान देशव्यापी चलिरहँदा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सम्मान गरेका कृष्ण गौतम यौन दुव्र्यवहार घटनाका आरोपी रहेको खुलासा भएको छ । गौतमलाई मन्त्री खरेलले बुधबार सम्मान गरेका थिए । उनी बाँकेको नेपालगञ्जका हुन् ।
राष्ट्रिय अपांग महासंघ नेपालकी दुई महिला कर्मचारीलाई तीन वर्षअघि यौन दुव्र्यवहार गरेको आरोप उनलाई लागेको थियो । त्यससम्बन्धी महासंघमै उजुरी परेको खुलेको हो । राष्ट्रिय अपांग महिला संघकी अध्यक्ष टीका दाहालले महासंघमा दिएको उजुरीअनुसार गौतमले कार्यक्षेत्र काभ्रेको धुलिखेल जाने क्रममा सवारी साधनभित्रै यौन दुव्र्यवहार गरेको व्योहरा उल्लेख छ ।
तर, उनै गौतम सञ्चारमन्त्री खरेलबाट सम्मानित भए । सम्मानपत्रमा भनिएको छ, ‘नेपालको अपांगता आन्दोलनमा नवीनतम स्वाबलम्बन जीवन पद्धति अवधारणको विकास र प्रवद्र्धन गरी अपांगता भएका व्यक्तिलाई समुदायमा नै समावेश भई स्वतन्त्र, स्वाबलम्बी र मर्यादित जीवनयापन गर्न गराउन निरन्तर अभियान गरी पुर्याउँदै आउनुभएको योगदानको कदर गर्दै अपांगता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा यो सम्मानपत्र प्रदान गरिएको छ ।’
गौतमलाई दिएको सम्मानपत्रमा मन्त्री खरेलसँगै राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष देवीदत्त आचार्य र समाज कल्याण परिषद्अन्तर्गतको राष्ट्रिय अपाङ्ग कोषका सभापति डेकराज भट्टराईको पनि हस्ताक्षर छ । गौतम महासंघका पूर्वसचिवालय सदस्य हुन् । अध्यक्ष आचार्यका उनी निकट पात्र मानिन्छन् । स्रोतको दाबीमा उनै आचार्यले गौतमलाई यौन दुव्यर्वहारसम्बन्धी उजुरीमा सफाइ दिएका हुन् ।
यसबारे सोध्दा आचार्यले प्रभावसँग थाहा नभएको भन्दै प्रतिप्रश्न गरे, ‘अब तपाईंलाई कसले भन्यो ? मलाई थाहा छैन । केही त्यस्तो प्रमाण छ ?’ यौन दुव्र्यवहार आरोपी गौतमलाई सम्मान गरेर महासंघ र सरकार दुवै महिला हिंसाविरुद्धको अभियानलाई खिल्ली उडाएका छन् । त्यसमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय पनि जोडिएको छ । गौतमलाई सम्मान गर्ने संस्थामा पर्छ मन्त्रालयअन्तर्गको समाजकल्याण परिषद् मातहत रहने राष्ट्रिय अपांग कोष पनि हो । तर, कोषकी सदस्यसचिव भीमा खतिवडाका अनुसार सम्मानित हुने गौतमको नाम राष्ट्रिय अपांग महासंघबाट आएको हो ।
‘उहाँको नाम राष्ट्रिय अपांग महासंघबाट आएको हो । त्यसो भएकोले मलाई डिटेलमा थाहा छैन । उहाँ चाहिँ आईएलओ अवधारणामा काम गरेको भनिएको थियो,’ खतिवडाले भनिन्, ‘मैले त कार्यक्रम मात्रै चलाएँ । अरु थाहा भएन ।’ गौतमलाई यौन दुव्र्यहारजस्तो गम्भीर आरोप लाग्दा पनि महासंघले कारबाही गरेन । सोहीकारण सेभ द चिल्ड्रेनले महासंघसँग १८ करोड बराबरको एक परियोजनामा सम्झौता गरेन । अर्थात्, गौतमलाई कारबाही नगर्दा महासंघले ठूलो परियोजना गुमायो । अहिले पनि महासंघ सेभ द चिल्ड्रेनको कालोसूचीमा छ ।
हासंघका अध्यक्ष आचार्यले यसअघि सेभ द चिल्ड्रेनका नेपाल प्रतिनिधिसँग कालोसूचीबाट हटाउनेबारे छलफल पनि गरेका थिए । तर, हटाएको छैन । बुधबार भने उनै गौतम सरकारबाटै सम्मानित भए । उनी सम्मानित भएपछि कतिपय अपांगता अधिकारकर्मीहरूले विरोध गरेका छन् । तर, महासंघका पूर्वअध्यक्ष मित्रलाल शर्मा पुरानो र ‘क्लोज’ भइसकेको विषय यतिबेला उछाल्नु सान्दर्भिक नभएको बताउँछन् । गौतमविरुद्ध यौन दुव्र्यवहार आरोप लागेको शर्मा अध्यक्ष भएकै बेला हो ।
उनले भने, ‘यो ३÷४ वर्ष पुरानो विषय हो । क्लोज भइसकेको विषय हुनाले यतिबेला उछाल्नु सान्दर्भिक छैन । उहाँलाई कसैले बहिस्कार गरेको छैन । यतिबेला सम्मानित भइसकेपछि यस्तो विषय आउन ठीक होइन ।’ गौतमलाई छिटो कारबाहीको लागि माग गर्ने संस्था नेपाल अपांग महिला संघ हो ।
अपांगता भएका महिलाहरूको महासंघले पनि कारबाहीको लागि दबाब दिएको थियो चौतर्फी रुपमा कारबाहीको रुपमा दबाब उठेपछि तत्कालिन कार्यसमितिले छानबिन गरि तत्कालिन दोषी देखेपछि उनीलाई सदस्य पदबाट निलम्बनसमेत गरेको थियो तर पछि वर्तमान अध्यक्ष आचार्यले कार्यभार लिएपछि उनको एकल निर्णयले कारबाही फुकुवा गरेको श्रोतको दाबी छ । तर राष्ट्रिय अपांग महासंघको सिफारिसमा सम्मानित उनलाई सञ्चारमन्त्री खरेलले नै सम्मानपत्र दिए, जसले सरकार नै दण्डहीनताको विरुद्धमा रहेको देखाउँछ ।
के भन्छन् आरोपी कृष्ण गौतम ?
काभ्रेमा तीन दिनको तालिम गराउनुपर्ने पहुजयुक्तता सम्बन्धी तालिम थियो । त्यो तालिमको जिम्मेवारी दिइसकेपछि धुलिखेलमा कार्यक्रम थियो । त्यहाँ तयारीका लागि जाँदा स्कर्पियोमा बसेको । म चाहिँ देब्रे साइटबाट झुण्डिएर चढें । अनि, ह्वीलचेयर तल (भुइँमा) रह्यो । मेरो ह्वीलचेयर फोल्डिङ गरेर पछाडि राख्दिनुहोस् भनें (नाम नतोकी) । त्यहाँ चालक, एक पुरुष कर्मचारी र दुई महिला कर्मचारी हुनुहुन्थ्यो । उहाँ (पीडित भनिएको) पनि चढ्नुभयो र मेरो छेउमा आउनुभयो । अनि, अर्को एक जना महिला कर्मचारी चढ्नुभयो । ढोकातिर पुरुष कर्मचारी । गफ गर्दै गयौँ । पुगेपछि गाडीबाट उत्रिँदा शौचालय अपाङ्गमैत्री थिएन । होटल पनि ओरालोमा थियो अनि म रिसाएको हो । भरे उहाँ (पीडित भनिएकी)ले तपाईंले मलाई ब्याड टच गर्नुभयो भन्नुभयो ।