सेतै कपाल, क्रमश खुइलिएको तालु । चाउरिएको निधारमा ठाडो चन्दनको टीका अनि ढ्याप्रे पावरवाला चस्माले नाकको चुच्चोमा थिचिरहेको अनुहार । खासै कुनै चिन्ता लिएको हो जस्तो पनि नलाग्ने । अनि गहिरो चिन्ताले डुबाइरहेको जस्तो भाव छचल्किने ! बुढ्यौली शरीर उभिँदा आफैंले पनि सम्हाल्न कठिन भई कुप्रिएर कसैलाई हेर्न परे अग्लो घण्टाघरको घण्टीको समय हेरेजस्तो गर्नुपर्ने अवस्था छ । साँच्चै नै अधिकांश उमेर पाकेकाहरुको ‘बा’ ।
जन्मदिने बा (बुबा) । आकाश हुन् । गर्मीमा शीतल अनि जाडोमा ताप बासँगै छ । तर, आजकल धेरै बाहरुको आँखामा आँसु नछछल्किएर भित्रै लुकेर बसेको छ । बालाई आकाश भनिरहँदा आकाश भने भदौरे झरी बनेर रोइदिन्छ । कहिले पीडामा रुन्छ त कहिले खुसीमा रुन्छ । त्यो आकाशभन्दा पनि ठूला छन् बा ।
बाले जस्तै कठिन र कष्टकर अवस्थामा पनि आँसु खसालेनन् । वन डढेको त सबैले देखेकै छन् । तर बाको मन डढेको कसैले देख्दैनन् । किनकि त्यो रापिलो डढेलो सहनसक्ने हुन्, बा । खिस्स हाँसेर पीडा लुकाउनसक्ने हुन्, बा । जिम्मेवारीबाट कहिल्यै पन्छिन नसक्ने बा ।
डढेलो होस् वा वर्षाको डुबानमा निथ्रुक्कै भिजेर पनि सम्हालिने शक्तिशाली बा ! आफू महिनौं एकछाक वा भोकै बसेर पनि सन्तानका लागि खुसी देखाउनसक्ने बा । बा भोकै छन्, बा बिरामी छन् । बा चाउरी परेर सुकेको पातजस्तै भएका छन् बा । बिर्सने रोगले आफैंलाई चिन्न नसक्ने भएका छन् । रोगले ओछ्यानमा कोल्टे फेर्न नसक्ने अवस्थामा छन्, बा । पानी पिउँदा पनि घाँटीमा सर्केर अवस्थामा छन्, बा । तर पनि शक्तिशाली र खुसी देखिएका छन् बा ।
आखिर बा हुन् । भक्कानिएर आँसु झार्न सक्दैनन् । मनका वेदना कसैसँग पोख्न सक्दैनन् । छोरा थिए बा । नाति थिए बा । लोग्ने भए बा । ससुरा भए बा । हजुरबुवा भए बा । तर कठिन परिस्थितमा पनि विचलिन हुन सकेनन् बा । बाका लागि राज्य भएन । बाका लागि सरकार बनेन । बरु सरकारका लागि पटक–पटक कष्टकर जीवन बिताउनुपर्ने अवस्था आयो बाका लागि । दुर्भाग्य बन्दै छ । आज बाहरु विस्तारै एक्लिँदै छन् । घर रित्तो छ । बाको हातमा नीलो ठेलाका धर्साहरु खै कहिलेको हो देखिन थालेको छ । तर, पैतालामा काँडाले घोचिरहँदा पनि आँसु दबाएर हाँसो देखाउनसक्ने आकाश बा ।
आजकाल सबैका बा । खिन्न मन लिएर बसेका बा । किनकि बाको परिभाषा बदलिदिएका छन् । बाको महŒवलाई चुडालिदिएका छन् । बामाथि राजनीति गर्न थालेका छन् । बा आकाश हुन् । जसरी आकाश एउटै छ बा पनि एउटै हुन् । तर, अहिले झुण्ड–झुण्डमा बा । मण्डल–मण्डलमा बा । टोल–टोलमा बा त्यही भएर बाको मन रोएको छ । बा त कसरी सार्वजनिक होलान् र ! गाउँ रित्तो हुँदा बाले गाउँ छाडेनन् । सहर रित्तो बन्दै गर्दा पनि बाले सहर छाडेका छैनन् । देश रित्तो बनाइरहँदा पनि ‘बा’ ले देश छाडेका छैनन् । किनकि बा आकाश हुन् ।
आजकाल बाहरुको मनमा विद्रोह पलाएको छ । एक्लो महसुस गराएकै कारण पनि विद्रोह जन्माएको छ । हिमालका टाकुरामा हिउँझै शिरमा सेतो कपासजस्तै कपाल बोकेर हिँडिरहेका बाको मनभित्रको वेदनालाई मलम लगाउने छोराछोरी छैनन् । सात समुन्द्रपारिको संस्कृतिले आँखा टपक्कै टालिदिएको छ ।
चाउरी परेको निधार खडेरीले चिराचिरा परेको खेतजस्तै भएको छ । भदौरे झरीले बलेसीमा छियाछिया पारेजस्तै बाको मन पनि छिया छिया पारेको छ । सायद बाका लागि सुनिदिने नभएर पो हो कि ? बा बुझिदिने नभएर पो हो कि ? बल र शक्ति हुँदासम्म सास न बाससँग होमिएका ‘बा’ हरुले के पाएँ ? के पाउँलान् ? आकाश भन्दैमा सधैं घाममात्र लाग्नुपर्ने हो र ? वर्षा पनि त हुनुपर्छ । सिरकभित्र गुम्सिएर आफ्नो पीडा आफैंसँग पोख्नेबाहेक विकल्प छैन रे, बासँग । देशकै लागि लडेका बा हरु आज त्यही देशकै कारण एक्लो नितान्त एक्लो वन्दै गईरहेका छन् रे ? हो नि ? सव छोरा बा नै हुन् भविष्यका । तिनै भविष्यका बाहरुले बाका मनमा काँडाले घोचिरहने हो भने मनमा बिझेको काँडालाई नझिकिदिने हो भने अव के हुन्छ होला ?
कुक्रुक्क परेर हिमालझैं अटल भन्दै शिरमा सेता हिउँ बोकेर बसिरहेका ‘बा’ का आँखामा आँसु छछल्किन थालेका छन् ! काँडा कुल्चिएर पैताला रक्ताम्मे हुँदा पनि साहस देखाएर किल्लामाथि हिँड्छु भन्ने बालाई कपासले पनि चिथोर्न थालेको छ । धमिलो आँखाले खै के ठम्याउन सक्ला र ? फेरि केटाकेटीजस्तै तोते तोते हुने बेला आएको छ । बालाई सामाजिक सञ्जालमा हैन मनभित्र रंगीन गराओस् भन्ने धोको छ । बालाई सेताम्य भएर पनि चिराचिरा परेको चाउरिएको अनुहार लिएर पनि त्यही साहसिक बा नै हुन मन छ । त्यसैले त ‘बा’ ‘बा’ नै हुन् । आकाश हुन् । नडगमाउने, सिंहझै गर्जन गर्ने बा नै हुन् ।