- दोलखाका विभिन्न स्थानमा पहिरोमा परी यो सातामात्रै तीन जनाको मृत्यु, चार जना अझै बेपत्ता
- मकवानपुरमा पहिरोमा परी छ जनाको मृत्यु, दुई जना बेपत्ता
- बर्दियामा बाँसगढी नगरपालिका र बारबर्दिया नगरपालिकाका २०० भन्दा बढी घर डुबानमा
काठमाडौं– अविरल वर्षका कारण मंगलबारयता विभिन्न स्थानमा बाढी तथा पहिरोका कारण जनधनको क्षति भएको छ । आइतबार साँझसम्म विभिन्न स्थानमा बाढीपहिरोमा परी ११ जनाको मृत्यु भएको । सोही अवधिमा नौ जना बेपत्ता रहेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
पहिरोमा परी अहिलेसम्म सबैभन्दा बढी मकवानपुरमा छ जनाको मृत्यु भएको तथ्यांक छ । गत मंगलबार राति आएको पहिरोमा परी एकै परिवारका पाँच जनाको मृत्यु भएको र शनिबार सुक्खा पहिरोमा परी एक प्रहरीको ज्यान गएको छ । यसैगरी पहिरोमा परी दोलखामा यो साता तीन जनाको मृत्यु भएको छ । दोलखामा बाढीपहिरोमा परी चार जना बेपत्ता छन् भने मकवानपुरमा दुई जना । यता बर्दियामा खोलामा डुबेर तीन जना बेपत्ता भएका छन् । यसैगरी २०० भन्दा बढी घर बाढीको डुबानमा परेका छन् । सिन्धुपाल्चोकको इन्द्रावती र भोटेकोशीमा पनि बाढीको बहाव बढेको छ । मस्र्याङ्दी, नारायणी नदीले सतर्कता तह पार गरेको छ भने बाढीपहिरोका कारण सडक बन्द भएका छन् ।
कहाँ के भए ?
दोलखामा तीन जनाको मृत्यु
दोलखाका विभिन्न स्थानमा गरी अविरल वर्षाका कारण पहिरोमा परी यो सातामात्रै तीन जनाको मृत्यु भएको छ । त्यस्तै चार जना अझै बेपत्ता छन् । अविरल वर्षापछि आइतबार दिउँसो आएको भेलले बगाउँदा दोलखाको बिगु गाउँपालिका–७ राखामका बाबुछोरा बेपत्ता भएका छन् । बिहान घरबाट झण्डै एक घण्टाको दूरीमा रहेको तीनपाटेमा निगुरो टिप्न गएका अन्दाजी ३५ वर्षीय निमदोर्जे शेर्पा र उनका छोरा अन्दाजी १२ वर्षीय पासाङ शेर्पालाई वर्षासँगै आएको भेलले बगाउँदा बेपत्ता भएको वडाध्यक्ष दलबहादुर श्रेष्ठले बताए ।
१२ बजेतिर तीनपाटेमा निगुरो टिप्ने क्रममा अविरल वर्षासँगै माथिबाट आएको भेलले बाबुछोरालाई अम्बाटोल मूलखोलामा पु¥याएकाले बेपत्ता भएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए । शेर्पा बाबुछोरालाई बगाएको खबर पाउनेबित्तिकै गाउँलेले खोजी सुरु गरेको भए पनि अविरल वर्षाकै कारण भेट्न समस्या भएको स्थानीयवासीको भनाइ छ । बेपत्ता बाबुछोराको घरमा बूढी आमैमात्र रहेको स्थानीयवासीले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक दीपक खड्काले शेर्पा बाबुछोरालाई वर्षासँगै आएको भेलले बगाएको खबर प्राप्त भएलगत्तै प्रहरी घटनास्थल पुगेर खोजी सुरु गरेको बताए । अविरल वर्षा जारी रहेकाले खोजीकार्य प्रभावित भएको प्रहरीको भनाइ छ । यो सातामा मात्रै अविरल वर्षाका कारण गत मंगलबार तामाकोशी नदीमा तीतेमाछा टिप्न गएको बिगुगापा–२ ओराङका तिरिस तमाङको माथिबाट झरेको पहिरोले ज्यान गएको थियो ।
गत बिहीबार गौरीशंकर गाउँपालिका–७ मार्बु टोपाटारमा गएको पहिरोमा परी सोही स्थानका ५० वर्षीय देवीमाया मगर र १५ महिने नाबालक प्रिन्स थामीको मृत्यु भएको छ भने टोपाटारकै पहिरोमा परी अझै दुुई बेपत्ता छन् । बेपत्ता हुने टोपाटरकै ६० वर्षीय कृष्ण मगर र ४९ वर्षीय हरिला श्रेष्ठ अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
नदीमा डुबेर बेपत्ता
बर्दियाको बबई नदीमा दाउरा संकलन गर्ने क्रममा तीन युवक छुट्टाछुट्टै स्थानबाट डुबेर बेपत्ता भएका छन् । बगेर बेपत्ता हुनेमा गुलरिया–१२ भैसाहीका ३० वर्षीय बालकृष्ण थारु, गुलरिया–२ का अक्षय चौधरी र महेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए । बेपत्ताको खोजी कार्य जारी रहेको जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले जानकारी दिए ।
भोजपुरमा एक जनाको मृत्यु
पहिरोमा पुरिएर भोजपुरमा एक जनाको ज्यान गएको छ । शनिबार जंगलमा निगुरो टिप्न गएका नगरपालिका–२ हेलौछाका स्थानीय ४७ वर्षीय पासाङ तामाङको पहिरोमा पुरिएर ज्यान गएको हो । परिवारसँग निगुरो टिप्न झ्यालसिङे जंगलमा गएका तामाङलाई बिहीबार बिहान १० बजे सडकभन्दा करिब २०० मिटरमाथिबाट आएको पहिरोले पुरेको थियो । ठूलो पहिरोमा परेर बेपत्ता भएका तामाङको बिहीबारदेखि नै सुरक्षा निकाय र स्थानीयले खोजी जारी राखेका थिए ।
खोजी गर्ने क्रममा नयाँ श्रीनाथ गण भोजपुरका सहसेनानी, सञ्जीव खत्री, नेपाल प्रहरीका प्रहरी निरीक्षक अर्जुन अधिकारी र सशस्त्र प्रहरी बल ५ नम्बर गुल्म टक्सारका प्रहरी निरीक्षक हरिकृष्ण गिरीको कमाण्डमा गएको सुरक्षा निकायको संयुक्त टोली र स्थानीयको समूहले शुक्रबार तामाङलाई मृतावस्थामा फेला परेका हुन् ।
निरन्तरको बर्षात्ले पूर्वी पहाडी जिल्ला भोजपुरका ठाउँठाउँमा बाढीपहिरो जाँदा जनजीवन कष्टकर बनेको छ । सडक हिलाम्य हुँदा ग्रामीण भेगमा नुन, तेल, चामललगायत खाद्य वस्तुकोसमेत अभाव हुन थालेको स्थानीयको भनाइ छ ।
सदरमुकामबाट ग्रामीण भेगसम्म पुग्ने प्रायः सबै सडक बिग्रिएकाले आवतजावतसँगै दैनिक उपभोग्य वस्तुकोसमेत अभाव भएको टेम्केमैयुङ गाउँपालिकाका स्थानीय लोकबहादुर मगरले बताए । बाढीले सडक बगाएकाले आपत्विपद् तथा बिरामी हुँदा अकालमा ज्यान गुमाउनुपर्ने अवस्था आएको उनको भनाइ छ ।
भोजपुर सदरमुकामबाट हतुवागढी, रामप्रसाद राई, साल्पा सिलिछो र आमचोक गाउँपालिका तथा षडानन्द नगरपालिकाका विभिन्न ठाउँमा बाढीपहिरोका कारण यातयात सेवा सञ्चालनमा समस्या भएको व्यापारी शिवकुमार विष्टले जानकारी दिए । ‘वर्षात्ले ग्रामीण भेगको जनजीवन प्रभावित भएको छ,’ उनले भने, ‘निरन्तरको झरीले आवतजावतसँगै दैनिक उपभोग्य वस्तुको ढुवानीमा समस्या छ । सडक ठाउँठाउँमा पहिरो गएकोले हप्तौंबाट सामग्री ढुवानी गर्न सकिएको छैन ।’
अविरल वर्षाका कारण बारीमा बेच्न तयार भएका तरकारी कुहिएर जान थालेको पौवादुङका कृषक धनकुमार राईले बताए । लेकाली भेगमा उत्पादन भएको आलु कुहिएर नष्ट भएको कृषक लाक्पा शेर्पाको भनाइ छ ।
३५ किलोमिटर सडकमा ३५ पहिरो
हिमाली जिल्ला मनाङमा आवतजावत पूर्णरुपमा अवरुद्ध भएको छ । डुम्रे–बेसीसहर–चामे सडकअन्तर्गत लमजुङको बेसीसहर नगरपालिका–६ खरखरेमा ट्र्याक भासिएपछि आवागमन अवरुद्ध भएको हो । शुक्रबारदेखि परेको निरन्तर वर्षाका कारण यस सडकखण्डमा आवतजावत रोकिएको आयोजना कार्यालयले जनाएको छ ।
यस सडकखण्डअन्तर्गत लमजुङतर्फ बेलौती बिसौना, खरखरे, रामबजार, घोप्टे भिर, च्याम्चेलगायतका स्थानमा पहिरो खसेको आयोजना कार्यालयका सबइञ्जिनियर सुमन अधिकारीले जानकारी दिए । ‘केही स्थानमा पहिरो खसेर अवरुद्ध भएका छन् भने खरखरेमा ट्र्याक नै भासिएको छ, यसले मनाङ आवतजावत ठप्प भएको छ,’ उनले भने ।
सडक सञ्चालनका लागि विभिन्न स्थानमा पहिरो पन्छाउने काम गरिरहेको अधिकारीले जनाए । सडकमा खसेको ढुंगा, माटो फाल्दै गर्दा माथिबाट पहिरो खसिरहेको जनाउँदै सबइञ्जिनियर अधिकारीले जोखिम मोलेरै काम गरिरहेको बताए । यस सडकखण्डअन्तर्गत मनाङतर्फ भन्दा लमजुङतर्फ बढी पहिरो खसेको उनले बताए । ‘लमजुङतर्फ ३५ किलोमिटर छ । किलोमिटर पिच्छे ३५ पहिरो खसेका छन्,’ अधिकारीले भने ।
प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलले मनाङमा वर्षा नभए पनि लमजुङतर्फ निरन्तर वर्षा भइरहेको बताइन् । उनले पहिरोका कारण सडक अवरुद्ध रहेकाले पुनःसञ्चालनका लागि पहल भइरहेको जानकारी दिइन् । डुम्रे–बेसीसहर–चामे–खाङ्सारसम्म एक सय पाँच किलोमिटर छ । यसमध्ये डुम्रे–बेसीसहर–चामे सडक खण्डको ३० किलोमिटरमा पहिरो खसिरहने गरेको छ । खसेको पहिरो हटाउन आयोजना कार्यालयले विभिन्न स्थानमा एक्साभेटर तयारी अवस्थामा राखेको जनाएको छ ।
मकवानपुरमा ६ जनाको मृत्यु
पहिरोमा परी मकवानपुरमा एक जना प्रहरीको मृत्यु भएको छ । शनिबार मकवानपुरको भीमफेदी गाउँपालिका–२, भैंसेमा खसेको पहिरोमा परी जिल्ला प्रहरी कार्यालयमा दरबन्दी भई हाल भैंसेमा कार्यरत प्रहरी जवानको मृत्यु भएको हो ।
उनी जाजरकोट जिल्लाको शिवालय नगरपालिका–८ का २२ वर्षीय कृतिबहादुर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सुक्खा पहिरोमा परी घाइते भएका नेपालीलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो । उपचारको क्रममा नेपालीको राति १२ बजेपछि मृत्यु भएको हो । सुक्खा पहिरोमा परी अर्का प्रहरी जवान सुनिल मेचे भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
यसअघि साउन २३ गते मकवानपुरको बागमती गाउँपालिकामा अबिरल वर्षाको कारण गएको पहिरोमा पाँच जनाको मृत्यु भएको थियो । मध्यराति पहिरो खस्दा बेपत्ता भएका ६० वर्षीय अक्कलबहादुर स्याङतान, उनका २२ वर्षीया छोरी शिला पहरी र डेढ वर्षकी नातिनी दिव्या पहरी मृत अवस्थामा भेटिएका हुन् । अक्कलबहादुरकी नातिनी दिव्याको शव भने अघिल्लो साँझ फेला परेको थियो । यसअघि पहिरोबाट उद्धार गरिएकी अक्कलबहादुरकी श्रीमती शान्तिमाया स्याङतानको मृत्यु भएको थियो । घटनामा परेका अझै दुईजना भेटिएका छैनन् । बेपत्ता हुनेमा अक्कलबहादुरका २५ वर्षीय ज्वाइँ जीवन पहरी र चार वर्षका नाति मिलन छन् ।
सोही दिन धनुषामा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको थियो । मिथिला नगरपालिका–२ मा बसही खोलाले बगाउँदा सोही वडाका १४ वर्षीय बालक अजय यादवको मृत्यु भएको प्रहरीले जनायो । स्थानीय र प्रहरीले बालकलाई उद्धार गरे पनि उपचारका क्रममा बालकको मृत्यु भएको हो ।
बर्दियाका २०० भन्दा बढी घर डुबान
बर्दियामा आइतबार बिहानैदेखि परेको अविरल वर्षाका कारण बाँसगढी नगरपालिका र बारबर्दिया नगरपालिकाका विभिन्न स्थानका घरहरु डुबानमा परेका छन् । यहाँका २०० भन्दा बढी घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बारबर्दिया नगरपालिका–८ को औरी, भगतपुर र दुधवा गाउँको ४३ घर, बाँसगढी नगरपालिका आठ, रेशमपुरमा ६० र वडा नम्बर ९ कुइनेठीको १२० घरसहित जिल्लामा २०० भन्दा बढी घर डुबान भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले बताए । उनका अनुसार डुबानबाट प्रभावितलाई स्थानीय विद्यालय भवनमा राखिएको छ ।