रौतहट- जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट दोषी ठहर भई लामो समयदेखि फरार रहेका १४ जना प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनही ८३ रुपैयाँ जरिबाना तोकिएका तीन जना समेत रहेका छन्।
फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय धनुषा तथा मातहतका प्रहरी टोलीले बिहीबार र शुक्रबार जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार पक्राउ पर्ने ३ जना कुटपिट मुद्दामा जिल्ला अदालत धनुषाबाट दोषी ठहर भई जनही ८३ रुपैयाँ जरिबाना तोकिएका व्यक्ति हुन्।
त्यस्तै, सोही मुद्दामा १ हजार ३ सय ५० रुपैयाँ जरिबाना तोकिएका एक जना र अन्य ५ जना तथा किर्ते , जालसाजी, सवारी ज्यान र ठगी मुद्दाका दुई जना गरी जम्मा १४ जना फरार प्रतिवादी पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ परेकाहरूबाट कुल ५० हजार रुपैयाँ भन्दा बढी जरिबाना असुल गरिएको छ। उनीहरूलाई अदालतको फैसलाअनुसार ११ महिना ९ दिन कैद भुक्तानका लागि बिहीबार र शुक्रबार जिल्ला अदालत धनुषामा उपस्थित गराइएको डीएसपी खनालले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय धनुषाले पछिल्लो समय अदालतबाट फैसला भई फरार रहेका प्रतिवादी पक्राउ अभियानलाई तीव्रता दिएको जनाएको छ।