काठमाडौं– राष्ट्रिय विज्ञापन संघ नेपाल (नान) ले रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीबाट प्रभावितहरुलाई अत्यावश्यक राहत सामग्री हस्तान्तरण गरेको छ। नान तथा विज्ञापन व्यवसायीहरूबाट संकलित रकमबाट खरिद गरिएका सामग्रीहरु हस्तान्तरण गरिएको हो।
शुक्रबार बालाजुमा एक कार्यक्रमबीच नुवाकोटको विदुर नगरपालिका–७ का वडाध्यक्ष रविन्द्र नेपालको संयोजनमा कविन्द्र अधिकारी, बासु अधिकारी र सुदिप अधिकारीलाई राहत सामग्री हस्तान्तरण गरिएको नानले जानकारी दिएको छ। संघको तर्फबाट प्रभावित क्षेत्रका लागि १५० थान झुल, ६२० थान जुत्ताचप्पल, १५० थान ब्ल्यांकेट र १५० थान भाँडाकुडा हस्तान्तरण गरिएको जानकारी दिइएको छ।
राहत हस्तान्तरण कार्यक्रममा बोल्दै नानका अध्यक्ष प्रदिपप्रसाद कोइरालाले प्राकृतिक विपद्को यस कठिन समयमा पीडित नागरिकको घाउमा थोरै भए पनि मल्हम लगाउनु सामाजिक दायित्व भएको बताए।
कार्यक्रममा नानका संस्थापक अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष अमृतकुमार पन्थी, कोषाध्यक्ष अरुण अर्याल तथा कार्यसमिति सदस्य अदिप पाठकलगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
