काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका तत्कालीन इञ्जिनियर रामबाबु महतो (कोइरी) विरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा चलाएको छ।
आयोगले शुक्रबार साढे चार करोड रुपैयाँभन्दा बढीको गैरकानुनी सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) गरेको अभियोगमा महतोविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले दायर गरेको आरोपपत्रमा उनकी श्रीमती, साली र साडुभाइलाई समेत प्रतिवादी बनाएको छ।
अख्तियारका अनुसार महतोले काठमाडौं महानगरपालिकामा पदमा छँदा गैरकानुनीरूपमा कमाएको सम्पत्तिलाई पारिवारिक सञ्जालमार्फत शुद्धीकरण गरी वैध बनाउने प्रयास गरेका थिए।
आरोपपत्रमा इञ्जिनियर महतोविरुद्ध चार करोड ४८ लाख ७९ हजार रुपैयाँबराबरको बिगो कायम गरी मुद्दा दायर गरिएको आयोगले जानकारी दिएको छ। महतोकी श्रीमती मालाकुमारी महतो, साली रीना कुशवाहा र साडुभाइ कृष्णप्रसाद पनि मुद्दामा प्रतिवादी बनाइएको छ।
अनुसन्धानका क्रममा इञ्जिनियर महतोले भ्रष्टाचारबाट आर्जित कालो धनलाई ‘प्लेसमेन्ट’ र ‘लेयरिङ’ मार्फत वैध बनाउन पारिवारिक नातागोताको प्रयोग गरेको पाइएको आयोगले दाबी गरेको छ। उनले साली रीना कुशवाहा र साडुभाइ कृष्णप्रसादका नाममा बैंक तथा सहकारी खाता खोली अवैध रकम जम्मा गरेका थिए।
आरोपपत्रमा मुख्य कसुरदार तत्कालीन इञ्जिनियर महतोविरुद्ध बिगो रकमको दोब्बर जरिवाना, कैद, जग्गा जफत र थप १० प्रतिशत सजाय मागदाी गरिएको छ। यसैगरी मालाकुमारीमाथि अवैध सम्पत्ति हो भन्ने थाहा पाउँदै शुद्धीकरणमा संलग्न रहेकाले मुख्य बिगोबराबर दोब्बर जरिवाना, कैद र जग्गा जफत गर्नुपर्ने अख्तियारको मागदाबी छ।
साली रीना र साडुभाइ कृष्णप्रसादलाई मतियार बनेको ठहर गर्दै मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय मागदाबी गरिएको अख्तियारले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
महतोविरुद्ध यसअघि २०८२ जेठ २६ गते दर्ता भएको गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा विशेष अदालतमा विचाराधीन रहेको छ।