
काठमाडौ– बैंकिङ प्रणालीमा नयाँ नियम लागू भएको छ । बुधबारदेखि अरुको नाममा पैसा जम्मा गर्दा परिचय पत्रको फाटोकपीसहित तीनपुस्ते विवरण अनिवार्य भुर्नपर्ने भएको छ ।
सम्पत्ति शुद्धीकरण निवारणका लागि भन्दै नेपाल राष्ट्र बैंकको निर्देशनमा बैंकहरूले ‘गोएमएल सङ्खटवेयर’ लागू गरेको हो । यससँगै बैकिङ सेवामा जटिलता थपिएको छ । बाणिज्य बैंक मात्र होइन, विकास बैंक र फाइनान्स कम्पनीहरूमा समेत यो सिस्टम लागू गर्ने राष्ट्र बैंकको योजना छ । आगामी असार महिनादेखि विकास बैंक र फाइनान्स कम्पनीहरूमा पनि लागू हुने राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताएका छन् ।
यो सिस्टम लागू भएपछि बैंकिङ सेवा थप झन्झटिलो भएको छ । हाल कसैको नाममा रकम जम्मा गर्न भौचर भरेर जम्मा गर्नेको नाम लेखे मात्रै पुग्ने थियो । तर, अब भने भौचरमा जम्माकर्ताले तीनपुस्ते विवरणसमेत उल्लेख गर्नु पर्नेछ । नगद तथा चेक जम्मा गर्न जानेले आफ्नो सरकारी मान्यता प्राप्त सक्कली परिचयपत्र पनि साथै देखाउनुपर्नेछ ।
तीनपुस्ते भर्नु पर्नेदेखि लिएर सक्कल परिचयपत्र समेत देखाउनु पर्ने भएकाले विद्यमान व्यवस्थाभन्दा यो विधि झन्झटिलो हुनेछ । कालो धन नियन्त्रणका लागि भन्दै यस्तो प्रावधान लागू गरिएको हो । ‘गोएमएल’ भनेको एउटा सफ्टवेयरको नाम हो । सम्पत्ति शुद्धीकरण निवारणका लागि उपयुक्त हुने भएकाले अन्तर्राष्ट्रिय स्तरमा समेत यसको प्रयोग बढ्दै गएको छ ।
बाणिज्य बैंकका सिइओहरूको संगठन नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले गोएमएमल सङ्खटवेयर प्रयोग हुनु सबैका लागि राम्रै हुने बताएका छन् । अहिलेको भन्दा यो सिस्टम लागू भएपछि सूचना धेरै दिनु र कागजातसमेत उपलब्ध गराउनुपर्ने भएकाले केही समय लाग्ने भए पनि सम्पत्ति शुद्धीकरण निवारणका लागि राम्रो हुने बताइएको छ ।