
काठमाडौँ – मूल्यमा निकै उत्तार चढाव हुने सुनको भाउमा आज सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्यमा प्रतितोला रु ७०० ले वृद्धि भएको जानकारी गरायो ।
महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला रु ७४ हजार ७०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७४ हजार ४०० तोकेको छ । मङ्गलबार छापावाला सुन प्रतितोला रु ७४ हजार र तेजाबी सुन प्रतितोला रु ७३ हजार ७०० मा खरिदबिक्री भएको थियो । गत बधुबार नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७६ हजार २०० थियो जुन अहिलेसम्मकै बढी मूल्य हो ।
केहीदिन यता मध्यपूर्वमा सिर्जना भएको तनाव र चीन–अमेरिका व्यापार युद्धका कारण सुनको मूल्यमा उतारचढाव देखिएको छ ।सुनको भाउ जस्तै चाँदीको भाउमा पनि प्रतितोला रु पाँचले वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला रु ८८५ रहेको महासङ्घले जनाएको छ ।