कञ्चनपुर - चाडपर्व लक्षित यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले दसैँ, तिहारमा यात्रुको सजिलोका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको हाे ।
चाडपर्वका बेला यात्रुलाई हैरानी हुनसक्ने भन्दै महेन्द्रनगर बसपार्क, गड्डाचौकी नाकालगायतका स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख उमेश चन्दले बताए ।
उहाँले कुनै पनि यात्रुले समस्या भोग्नुपरेमा सहायता कक्षमा सम्पर्क राख्नसक्ने बताए। चाडपर्वका बेला सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु राख्ने, बढी भाडा लिनेलगायत काम हुने भएकाले त्यसको न्यूनीकरण गर्नका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।
दसैँ नजिकिँदै गर्दा भारतबाट रोजागरी गरेर फर्कनेको सङ्ख्या बढेको छ । भारतबाट आउने नागरिकमाथि लुटपाट जस्ता घटना हुने भएकाले पनि सहायता कक्ष सञ्चालनमा ल्याएको उनले बताए।
महाकाली यातायात व्यवसायी समितिका अध्यक्ष डम्बर पन्तले चाडपर्वका बेला यात्रुको सहजताका लागि सहायता कक्ष सञ्चालनमा ल्याइएको बताए। चाडपर्वका बेला क्षमताभन्दा बढी यात्रु राख्ने, मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने र तीव्र गतिमा सवारी साधन हाँक्ने लगायतका कारणले सवारी दुर्घटना हुने भएकाले यसको नियन्त्रणका लागि पनि यात्रु सहायता कक्ष स्थापना गरेको प्रहरीले जनाएको छ ।