मलंगवा - सर्लाही प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका २० जना प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मलंगवाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रहरी तथा मातहतका प्रहरी टोलीले अदालतबाट दण्ड–सजाय तोकिएपछि फरार रहेका प्रतिवादीलाई खोजतलास गर्ने क्रममा २०८३ असोज २ गते विभिन्न स्थानबाट पक्राउ गरेको हो।
पक्राउ परेकामध्ये अपमानजनक वा अमानवीय व्यवहार मुद्दाका १ जना, सवारी ज्यान मुद्दाका १ जना, चेक अनादर मुद्दाका २ जना, ज्यान मार्ने उद्योगका २ जना, बैंकिङ कसुरका १ जना, बहुविवाहका १ जना, कुटपिट/लुटपाटका ७ जना, ज्यानसम्बन्धी कसुरका १ जना, नागरिकता किर्तेका २ जना, ठगीका १ जना र बहुविवाह मुद्दाका १ जना रहेका छन्।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये विभिन्न मुद्दामा कैद तथा जरिवाना तोकिएका व्यक्तिहरू रहेका छन्। ज्यान मार्ने उद्योग मुद्दाका दुई जनालाई भने पुर्पक्षका लागि कारागार पठाइएको विज्ञप्तिमा उल्लेख छ।
पक्राउ परेका सबैलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सर्लाही जिल्ला अदालतमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ।
प्रहरीले अदालतबाट फैसला भई फरार रहेका अन्य प्रतिवादीहरूको समेत खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।