काठमाडौं- माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाबाट शुक्रबार १३ जनाको शव बाहिर निकालिएको छ।
शुक्रबार बिहान आयोजनाको अडिट-३ टनेलबाट छ जनाको शव बाहिर निकालिएकोमा दिउँसो थप सात जनाको शव फेला पारी टनेलबाहिर निकालिएको नेपाली सेनाले जानकारी दिएको छ। यससँगै शुक्रबार उक्त टनेलबाट निकालिएको शव संख्या १३ पुगेको हो।
'माथिल्लो त्रिशूली-१ मा नेपाली सेना र आयोजनाका प्रतिनिधि सम्मिलित संयुक्त उद्धार टोलीद्वारा निरन्तर खोजी कार्य गर्ने क्रममा अडिट-३ टनेलभित्र छडको जालीमा अल्झिएको अवस्थामा फेला परेका छ वटा शव फेला परेकोमा खोजी कार्यका क्रममा थप सात वटा शव फेला पारी टनेलबाहिर निकालिएको छ,' सेनाले शुक्रबार साँझ दिएको जानकारीमा उल्लेख छ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण टनेलभित्र सम्पर्कविहीन व्यक्तिहरुको खोजी गर्ने क्रममा ती शव भेटिएका हुन्।