काठमाडौं- माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको अडिट-३ टनेलबाट छ जनाको शव बाहिर निकालिएको छ।
नेपाली सेनासहितको उद्धार टोलीले शुक्रबार अडिट-३ टनेलभित्र ढलान गर्नका लागि बुनिएको डण्डीको जालीको भित्री भागमा अल्झिएर रहेको अवस्थामा ती शव फेला पारी बाहिर निकालिएको नेपाली सेनाले जानकारी दिएको छ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण टनेलभित्र सम्पर्कविहीन व्यक्तिहरुको खोजी गर्ने क्रममा ती शव भेटिएका हुन् । टनेलभित्र हिलोमा छोपिएको अवस्थामा अन्य शवजस्तो आकृति देखिएकोले उक्त इलाकामा खोजी कार्य भइरहेको सेनाले जनाएको छ ।
'भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूको खोजी कार्यका लागि आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीद्वारा खोजी गर्दा अडिट-३ टनेलभित्र ढलान गर्नका लागि बुनिएको डण्डीको जालीको भित्री भागमा अल्झिएर रहेको अवस्थामा फेला परेका छ वटा शवलाई ग्रिन्डर, ग्यास कटर र रोटरी रेस्क्युको प्रयोग गरी बाहिर निकालिएको छ,' नेपाली सेनाले भनेको छ, 'टनेलभित्र हिलोमा छोपिएको अवस्थामा अन्य शवजस्तो आकृति देखिएकोले उक्त इलाकामा खोजी कार्य भइरहेको छ।'