वीरगंज - पर्साको वीरगंज महानगरपालिका–१ नैकाटोलस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी नेपाल भित्र्याउँदै गरेको मोबाइल पार्ट्स बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (बीओपी) सिर्सियाबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा अन्दाजी ६ लाख ९८ हजार ४५० रुपैयाँ बराबरका मोबाइल पार्ट्स बरामद गरेको हो।
सशस्त्र प्रहरीका अनुसार २०८३ असोज २ गते सीमा क्षेत्रमा निगरानी तथा गस्ती गर्ने क्रममा उक्त मोबाइल पार्ट्स फेला परेको थियो। प्रहरी टोलीलाई देखेपछि सामान ल्याउने व्यक्ति भने सामान छाडेर फरार भएको बताइएको छ।
बरामद मोबाइल पार्ट्स आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
पर्साका सीमावर्ती क्षेत्रमा भन्सार छली तथा अवैध रूपमा हुने सामान ओसारपसार नियन्त्रणका लागि सशस्त्र प्रहरीले निगरानी र चेकजाँचलाई निरन्तरता दिँदै आएको छ।