नेपाली कांग्रेसका नेता एवं सामाजवादी चिन्तक प्रदीप गिरिको निधनले यतिबेला देश शोकमा डुबिरहेको छ । गिरि नेपाली कम्युनिस्ट नेताहरूका पनि गुरु थिए । कारण, उनी समाजवाद र माक्र्सवादका अध्येता थिए । उनी कम्युनिस्ट पार्टीका नेता÷कार्यकर्तालाई माक्र्सवाद पढाउँथे । समाजवाद पढाउँथे । उनै चिन्तक, बौद्धिक व्यक्ति, समाजवादी अध्येता एवं प्रतिनिधि सभा सदस्य गिरि यो संसारबाट बिदा भएका छन् ।
७५ वर्षीय गिरिको शनिबार राति उपचारका क्रममा मेडिसिटी अस्पतालमा निधन भयो । र, आइतबार दिउँसो पशुपति आर्यघाटमा अन्तिम संस्कार गरियो । नेपाली राजनीतिमा आशाको एउटा चम्किलो दियो सधैंका लागि निभ्यो ।गिरिको निधनले नेपाली कांग्रेस मात्र मर्माहत भएको छैन । सिंगो नेपाली राजनीतिक वृत्त, सिंगो समाजवादी आन्दोलन मर्माहत भएको छ । टुहुरो भएको छ । गिरिको निधनपछि उनी आवद्ध पार्टी नेपाली कांग्रेसका मात्र होइन अन्य राजनीतिक दलका नेता, कार्यकर्ताले पनि शोक मनाइरहेका छन् । गिरिका नाममा श्रद्धाञ्जलीका शब्द खर्च गरिरहेका छन् ।
गिरि चिन्तनशील राजनीतिकर्मी थिए । बौद्धिक व्यक्तित्वका रुपमा स्थापित थिए । नेपाली राजनीतिको एक शिखर पुरुष थिए । यो मुलुकमा जनतालाई सुशासनको प्रत्याभूति दिन सकियोस् भन्ने उनको चाहना थियो । उनी सादा जीवन र उच्च विचार भएका, भ्रष्टाचारमा कहिले नमुछिएका, सिद्धान्तनिष्ठ राजनीतिज्ञ थिए । पदका निम्ति कहिल्यै पनि मरिहत्ते गरेनन् । उनमा कुनै लोभ थिएन । गिरि विश्लेषक, समाजवादी चिन्तक, लेखक, समीक्षक, आलोचकलगायतका थुप्रै दृष्टिकोणबाट बहुप्रतिभाका धनी थिए ।
यी सबै कुरा गिरिको निधनमा शोक व्यक्त गर्ने नेताहरूले पनि अभिव्यक्त गरेका छन् । अर्थात्, यस्तो लाग्छ नेपालमा उनीहरू सबैका आदर्श व्यक्ति गिरि नै हुन् । उसो भए प्रश्न उठ्छ– गिरिको यत्रो प्रशंसा गर्दै गर्दा, उनको स्मरण गर्दै गर्दा किन कोही नेताले अब गिरिको बाटोमा छु वा हिँड्छु भन्ने गर्न सकेन ?
कसैलाई आदर्श व्यक्ति मानिदिएर मात्र हुँदैन, उसका आचरण र विचारहरूलाई अनुशरण गर्नुपर्छ । उसको आदर्शको बाटो पछ्याउनुपर्छ । तर, यहाँ सहानुभूतिका लागि निकै भावविह्वल भइदिने तर, आदर्श व्यक्तिको आदर्श अनुशरण नगर्ने, लोभमा पर्ने, विचार र सिद्धान्ताबाट च्युत हुने थुप्रै मान्छे छन् । जुन ढोङबाहेक अरू केही होइन ।
आदर्श कसैलाई देखाउनका लागि होइन जीवन, व्यवहारमा लागू गर्नका लागि हो । यो कुरा सबैले बुझ्न जरुरी छ । यतिबेला हामी प्रदीप गिरिको निधनमा शोक मनाइरहेका छौं । र, शोकमा उनको व्यक्तित्व र कृतित्वको खुलेर प्रशंसा गरिरहेका छौं । तर, उनीजस्तै बन्ने वा उनको बाटोमा हिँड्ने प्रण गर्न सकिरहेका छैनौं । तसर्थ, शोक मनाउने मात्र होइन दिवंगत प्रदीप गिरिको जीवनीबाट केही सिकौं । उनको अध्ययन र चिन्तनको पक्षलाई आत्मसात् गर्दै अघि बढौं । शोकलाई शक्तिमा बदल्दै सबैमा यो सद्बुद्धि आओस् । त्यसो हुन सक्यो भने मात्र गिरिप्रति सच्चा श्रद्धाञ्जली हुनेछ । अलबिदा प्रदीप गिरि...
प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९ ०८:११