बारा- जिल्ला प्रहरी कार्यालय बाराले प्रहरी वरिष्ठ नायव निरीक्षक (बरिष्ठ सई) प्रकाशकुमार खत्रीलाई २०८३ भदौ महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषणा गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले ‘महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधि–२०८३’ बमोजिम खत्रीलाई भदौ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय बारा, तालिम शाखामा दरबन्दी रहेका प्रहरी वरिष्ठ नायव निरीक्षक खत्री हाल इलाका प्रहरी कार्यालय अमलेखगञ्ज, बारामा कार्यरत छन्।
प्रहरी संगठनले तोकेको जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गरेको तथा कार्यसम्पादनमा देखाएको सक्रियता र योगदानका आधारमा उनलाई महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनौट गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
उत्कृष्ट प्रहरी घोषित भएपछि प्रहरी उपरीक्षक कुँवरले प्रहरी वरिष्ठ नायव निरीक्षक खत्रीलाई प्रशंसापत्र तथा पुरस्कार प्रदान गरेका छन्। सो अवसरमा प्रहरी उपरीक्षक कुँवरले उत्कृष्ट प्रहरीको रूपमा छनौट भएकोमा खत्रीलाई बधाई तथा शुभकामना दिँदै आगामी दिनमा समेत जिम्मेवारीलाई थप प्रभावकारी ढंगले निर्वाह गर्न प्रेरित गरेका छन्।
महिनाको उत्कृष्ट प्रहरी छनौट गर्ने व्यवस्थाले प्रहरी कर्मचारीलाई आफ्नो जिम्मेवारीप्रति थप उत्तरदायी, अनुशासित र सक्रिय बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले यस्तो छनौट तथा पुरस्कार प्रदान गरिँदै आएको प्रहरी कार्यालयले जनाएको छ।
प्रहरी वरिष्ठ नायव निरीक्षक प्रकाशकुमार खत्रीलाई २०८३ भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएसँगै उनको कार्यसम्पादनको मूल्यांकन र योगदानलाई जिल्ला प्रहरी कार्यालय बाराले औपचारिक रूपमा सम्मान गरेको हो।