राजविराज - सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ कटैया गाउँबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ। गाँजासहित प्रहरीले घरधनीलाई नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म सप्तरी तथा अन्य सुरक्षा निकायको संयुक्त टोलीले २०८३ साल असोज ३ गते विशेष सूचनाका आधारमा कटैया गाउँस्थित एक व्यक्तिको घरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा घरमा लुकाइछिपाइ राखिएको ५६ बोरा गाँजा फेला परेको हो। बरामद गाँजाको तौल करिब १ हजार ४ सय किलोग्राम रहेको सशस्त्र प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद लागूऔषधसहित घरधनीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।
सुरक्षा निकायले बरामद गाँजा कहाँबाट ल्याइएको थियो, कसका लागि भण्डारण गरिएको थियो तथा यसमा अन्य व्यक्तिहरूको संलग्नता छ/छैन भन्ने विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।
एकैपटक १ हजार ४ सय किलो गाँजा बरामद भएपछि सप्तरीको सीमा क्षेत्रमा लागूऔषध ओसारपसार तथा भण्डारणविरुद्ध सुरक्षा निकायले निगरानी र कारबाही तीव्र बनाएको देखिएको छ।