काठमाडौं- मनसुन प्रतिकार्य कमाण्ड पोस्टको आइतबार बसेको बैठकले बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रका कारण नेपालमा हुन सक्ने सम्भावित वर्षा र त्यसको प्रभावबारे गहन छलफल गरेको छ।
बैठकमा जल तथा मौसम विज्ञान विभागका उच्च अधिकारीहरूले जलवाष्पयुक्त प्रणालीको सम्भावना र त्यसले पार्न सक्ने असरबारे विस्तृत जानकारी गराएका थिए। मौसममा आउन सक्ने बदलावलाई ध्यानमा राख्दै बैठकले सो वर्षा गराउने प्रणालीको निरन्तर निगरानी गर्ने र आवश्यक पूर्वतयारीका लागि सम्बन्धित सबै निकायहरूलाई उच्च सतर्कतामा राख्ने निर्णय गरेको छ।
त्यसैगरी, बैठकले केही समयअघि भोटेकोशीमा आएको बाढीका कारण 'विपद् संकटग्रस्त क्षेत्र' घोषित स्थानहरूमा आवागमन र कनेक्टिभिटी पुनः सुचारु गर्न तत्काल कदम चाल्ने निर्णय गरेको छ। प्रभावित क्षेत्रका विभिन्न स्थानमा झोलुंगे पुल निर्माणका लागि उपलब्ध स्रोत-साधनका साथै सहयोग गर्न इच्छुक संघ-संस्थाहरूको समन्वयमा यथाशीघ्र प्रक्रिया अगाडि बढाउन पूर्वाधार विकास मन्त्रालयलाई अनुरोध गरिएको छ।