काठमाडौं- भारतको शिख च्यारिटेबल ट्रस्ट (शिख एड) ले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवाका ११० परिवारलाई राहत सामग्री सहयोग गर्ने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)को समन्वय तथा सहजीकरणमा राहत शनिबार रसुवाको धुञ्चे पुर्याइएको एनआरएनए सचिवालयले जानकारी दिएको छ।
शिख एडले गोसाइँकुण्ड गाउँपालिका-१ ठूलो स्याफ्रुका ११० प्रभावित परिवारका लागि राहत सामग्री उपलब्ध गराउन लागेको हो। राहत सामग्रीमा ग्यास सिलिण्डर १० वटा, ग्यास चुलो ११० वटा, भान्साका सामग्री ११० सेट, ब्ल्यांकेट २०० वटा र प्रेसर कुकर ११० वटा रहेका छन्।
शिख एडको टोली आइतबार बिहान हेलिकप्टरमार्फत ठूलो स्याफ्रु पुगेर स्थानीय तह तथा सम्बन्धित पक्षसँगको समन्वयमा राहत सामग्री वितरण गर्ने सचिवालयले उल्लेख गरेको छ। उक्त टोलीमा गोसाइँकुण्ड गाउँपालिका-१ का वडाध्यक्ष उर्केनछिरिङ तामाङसमेत छन्।
राहत सामग्रीमध्ये ९० सेट ठूला स्याफ्रुका बढीप्रभावित तथा विपन्न परिवारलाई, १० सेट ठूला स्याफ्रुमा थप आवश्यकताअनुसार र १० सेट धुञ्चेस्थित गुम्बालाई उपलब्ध गराइने जनाइएको छ। बाढीमा ज्यान गुमाएका व्यक्तिहरूको काजकिरिया तथा धार्मिक संस्कारका लागि आवश्यक सहयोग पुर्याउने उद्देश्यले गुम्बालाई समेत सामग्री उपलब्ध गराउन लागिएको हो।
भारतबाट राहत सामग्रीसहित नेपाल आएका शिख एडका संस्थापक रौनक सिंह तथा स्वयंसेवक टोलीलाई एनआरएनएले प्रभावित क्षेत्रको अवस्था, स्थानीय आवश्यकता र राहत वितरणको प्रक्रियाबारे आवश्यक परामर्श तथा समन्वय गरेको हो। साथै, राहत सामग्री प्रभावित बस्तीमा पुर्याउन स्थानीय तह, सम्बन्धित निकाय तथा यातायात व्यवस्थापनका लागि आवश्यक समन्वय र सहजीकरण एनआरएनएले गरिरहेको छ।
यसअघि एनआरएनए र शिख एडबीच भोटेकोशी बाढीबाट प्रभावित समुदायका लागि राहत तथा मानवीय सहायता पुर्याउने विषयमा छलफल भएको थियो। छलफलका क्रममा राहत वितरणमा स्थानीय आवश्यकता र प्राथमिकतालाई आधार बनाउने तथा उपलब्ध स्रोतलाई प्रभावकारी रूपमा प्रभावित परिवारसम्म पुर्याउने विषयमा सहकार्य गर्ने सहमति भएको थियो।