म्याग्दी- म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने दानाको विभिन्न ठाउँमा आइतबार राति खसेको पहिरोका कारण ७६ किलोमिटर दूरीको सो सडकको म्याग्दी खण्ड अवरुद्ध बनेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले गुइठेले बताएका हुन् ।
उनका अनुसार जलथले, तितर, दाना, रुप्से क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध बनेका छन् । केही ठाउँमा रुख ढलेर पनि सडक अवरुद्ध भएको छ । सडक विभाग र आयोजनाका ठेकेदार कम्पनीका उपकरण तथा मजदुर परिचालन गरेर सडक मर्मत थालिएको छ ।
सडक अवरुद्ध हुँदा मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटकलाई समस्या भएको छ । मुस्ताङमा उत्पादन भएको आलु लगायत कृषिउपज निकासी, दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानी रोकिएका छन् ।
यसैबीच बर्सातका कारण दानास्थित ज्ञानप्रकाश माविमा भलबाढी पसेर क्षति पुगेको प्रअ शान्तबहादुर नेपालीले बताए । शनिबार र आइतबार दाना र आसपासका क्षेत्रमा अत्यधिक वर्षा भएको उनले जानकारी दिएका छन् ।